निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ललितपुरको नख्खुमा नयाँ प्रविधियुक्त एकीकृत (इन्टिग्रेटेड) डेटा सेन्टर (आइडिसी) सञ्चालनमा ल्याएको छ। यो डेटा सेन्टर 'टियर-३' नामक अत्याधुनिक प्रविधि आधारित भएको कम्पनीको भनाइ छ।
यो डेटा सेन्टर एक हजार पाँच सय ३६ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। एनसेलले यसअघि नै पोखरा र हेटौंडामा पनि डेटा सेन्टर सञ्चालन गरिरहेको छ।
एनसेले नख्खुस्थित नयाँ डेटा सेन्टर कस्तो छ, यसका विशेषता के हुन्, यसले के फाइदा हुन्छ भन्ने लगायत विषयमा हामीले एनसेलका चिफ टेक्नोलोजी एन्ड इन्टरप्राइज बिजनेस अफिसर मोहमद अदिल ईस्रारसँग कुराकानी गरेका छौं।
सेतोपाटीका जुना श्रेष्ठले ईस्रारसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छः
डेटा सेन्टर भनेको के हो? यो किन आवश्यक छ?
डेटा सेन्टरलाई नेटवर्क कम्प्युटर सर्भरहरूको ठूलो समूह भनेर बुझ्न सकिन्छ। यहाँ कम्प्युटर प्रणाली र यससँग सम्बन्धित अन्य तत्वहरूलाई एक केन्द्रीय स्थानमा स्टोर (भण्डारण) का लागि राखिन्छ। यहीँबाट व्यक्ति वा संस्थाहरूको डेटा स्टोरसँगै प्रशोधन र व्यवस्थापन हुने गर्छ।
उदाहरणका लागि युट्युब वा अन्य सामाजिक सञ्जालमा देखिने हरेक भिडिओ र सामग्रीहरू डेटा सेन्टरमा स्टोर गरिएको हुन्छ। त्यस्तै बैंकिङ प्रणालीमा सेवाग्राहीको हरेक लेनदेनको तथ्यांक पनि डेटा सेन्टरमा हुन्छ।
हामी दूरसञ्चार सेवा प्रदायक कम्पनी हुनाले सेवाग्राहीको विभिन्न डेटा हामीसँग रहन्छ। तिनलाई सुरक्षित तरिकाले स्टोर गर्न डेटा सेन्टरको आवश्यकता पर्छ। यो डिजिटल रूपान्तरणका लागि अत्यावश्यक छ।
नेपालमा डेटा सेन्टरहरूको अवस्था के छ? यसले दीर्घकालीन रूपमा कस्तो भूमिका निर्वाह गर्छ?
विगत दुई दशकदेखि नेपालमा डिजिटल चहलपहल बढ्दो छ। सञ्चार सेवा प्रदायकदेखि बैंकलगायत अन्य क्षेत्रले व्यवस्थित तरिकाले सेवाग्राहीको डेटा स्टोर गर्न आवश्यक छ। आवश्यक पर्दा सहज र व्यवस्थित पहुँचका लागि पनि डेटा सेन्टरको आवश्यकता देखिन्छ।
अहिले कुनै पनि राष्ट्रको विकास त्यहाँको डिजिटल साक्षरतासँग सम्बन्धित छ। डिजिटल क्षेत्रतर्फ अहिलेको परिदृश्य हेर्दा नेपालको प्रगति तारिफयोग्य छ। यहाँको आर्थिक विकासमा नवीन प्रविधि र डिजिटलाइजेसनले प्रमुख भूमिका खेल्ने देखिन्छ। त्यसैले नेपालको हरेक क्षेत्रमा आधुनिक डेटा सेन्टर आवश्यक छ।
एनसेलको नख्खुस्थित डेटा सेन्टर कहिलेदेखि सञ्चालन भएको हो?
२०७२ को भूकम्पपछि हामीले आधुनिक र थप सुरक्षित डेटा सेन्टरको आवश्यकता बुझ्यौं। त्यसपछि नै उन्नत डिजाइनको डेटा सेन्टर निर्माणबारे योजना बनेको हो। हामीले २०७४ सालदेखि नख्खुमा आइडिसी निर्माण काम थाल्यौं। यसका लागि आवश्यक कच्चा सामग्रीदेखि प्रविधिहरू चीन, भारत, जर्मनीलगायत देशबाट आयात गर्यौं।
निर्माण सुरू गरेको एक वर्षमै काम सकायौं। विगत दुई वर्षदेखि नख्खुको आइडिसी सञ्चालनमा छ। यो डेटा सेन्टरको पूर्वाधार निर्माणमा मात्रै करिब दुई अर्ब रूपैयाँ खर्चिएका छौं।
डेटा सेन्टरको संरचना कस्तो हुन्छ? यो आइडिसीको संरचना कस्तो छ?
डेटा सेन्टरमा भौतिक वा भर्चुअल सर्भर हुन्छन् जुन नेटवर्किङ र सञ्चार उपकरणहरूमार्फत आन्तरिक र बाह्य रूपमा जडान हुन्छ। यसैले डिजिटल सामग्री स्टोर गर्न मद्दत गर्छ। व्यवस्थित र आधुनिक डेटा सेन्टर हुँदा हाम्रा सेवाग्राहीको डेटा सुरक्षित तरिकाले स्टोर गर्न सक्छौं।
एनसेलको नयाँ आइडिसी अपटाइम इन्स्टिच्युटद्वारा मान्यताप्राप्त टियर-३ प्लस प्रविधिको डेटा सेन्टर हो। अपटाइम इन्स्टिच्युटले विश्वभरको डेटा सेन्टरको संरचना, सञ्चालन र गुणस्तर मापन गर्छ।
यो केन्द्रको भवन निर्माणमा जगबाहेक कहीँ पनि इटाँ, सिमेन्ट प्रयोग र ढलान भएको छैन। यो कन्टेनरयुक्त प्रिफ्याब्रिकेटेड मोडुलरमा तयार पारिएको छ। यस्तो संरचनालाई ९ रेक्टर स्केलसम्मको भूकम्पले कुनै असर पार्दैन।
आइडिसीको भौतिक संरचना ४८ वटा कन्टेनर प्रयोग गरी बनाइएको हो। यसको आयू २५ वर्षको छ। त्यो भनेको चल्तीमा नरहँदा हो। हामी प्रत्येक पाँच-पाँच वर्षमा यसको मर्मतसम्भार गर्छौं। दक्षिण एसियामै यस प्रकारको डेटा सेन्टर बनेको पहिलो पटक हो।
डेटा सेन्टर सञ्चालनमा चिनियाँ कम्पनी हुवावेको प्रविधि प्रयोग भइरहेको छ। दुईतले भवनमा यहाँ तीन वटा डेटा हल छन्। मोडुलर डिजाइनमा तयार भएको यो डेटा सेन्टरको ब्याट्री, बिजुली लगायत क्षमता भविष्यमा बढाउन पनि सकिन्छ।
यो सञ्चालनका लागि कति बिजुली खपत हुन्छ?
हामीले विद्युत प्राधिकरणको डेडिकेटेड फिडरमार्फत बिजुली लिएका छौं। यो केन्द्रबाट डेटा प्रोसेसिङको लागि आवश्यक कम्पुटरिङ प्रणालीका लागि दुई मेगावाट र कुलिङ लगायत अन्य प्रयोजनका लागि १.५ मेगावाट विद्युत खपत भइरहेको छ।
यो केन्द्र ५ मेगावाट बिजुली प्रयोग हुने क्षमतामा निर्माण गरिएको हो। तर आवश्यकताभन्दा बढी बिजुली खपत गर्दैनौं। हामी पूरै डेटा सेन्टरलाई नभई आवश्यक र्याकहरूमा मात्रै कुलिङ गर्छौं।
हामी वातावरणप्रति पनि सचेत छौं। वायु वा ध्वनि प्रदूषण न्यूनीकरण गर्न आधुनिक प्रविधि प्रयोग गरेका छौं।
बिजुली गयो भने के हुन्छ?
प्राधिकरणबाट लिइरहेको बिजुलीमा कुनै समस्या आए ब्याकअप ब्याट्री र जेनेरेटर छन्। ब्याट्री ब्याकअपले ३० मिनेट धान्छ। बिजुली गइहाले कुनै पनि अवरोधबिना सञ्चालन हुने प्रणाली छ।
त्यस्तै राम्रो क्षमताका पाँच वटा जेनेरेटर छन्। यसका लागि सात-आठ दिन धान्ने क्षमताको अन्डरग्राउन्ड डिजेल ट्यांक छ। मापदण्डअनुसार मात्रै हामीले इन्धन भण्डारण गरेका छौं। यो भण्डारण ट्यांक अग्निरोधक छ।
कुलिङका लागि पनि सोही अनुसार आवश्यक प्रविधि राखेका छौं। एउटा कुलिङ मेसिन नचल्दा अर्को आफैं चल्ने प्रविधि छ।
यो डेटा सेन्टर निर्माण एवम् सञ्चालन गर्दा के-कस्ता सुरक्षा उपाय अपनाइएको छ?
टियर-३ प्रविधि प्रयोग गरेसँगै केही सुरक्षाका मापदण्ड पनि पालन गर्नुपर्ने हुन्छ। जस्तै इन्धन भण्डारणकै लागि पनि निश्चित मापदण्ड छ। कतिको दूरीबाट र कसरी इन्धन पम्प गर्ने भन्ने तोकिएको हुन्छ।
जो-कोही व्यक्ति डेटा सेन्टर प्रवेश गर्न पाउँदैनन्। यहाँको गेटबाट भित्र छिर्न मात्र पनि प्रक्रिया पुर्याउनु पर्ने हुन्छ। डेटा सेन्टरको ब्लकमा प्रवेश गर्न विशेष म्याग्नेटिक कार्ड हुन्छ। त्योसँगै पिन कोड आवश्यक पर्छ। डेटा सेन्टरसँग सम्बन्धित व्यक्ति वा कर्मचारीबाहेक एनसेलकै अन्य कर्मचारीलाई यो पहुँच हुँदैन।
अर्को भनेको यहाँ धुँवा वा आगोको झिल्का मात्र परे पनि त्यसलाई पहिचान गर्ने प्रविधि जडित छ। साथै अलार्मले पनि सेन्टरमा भएका प्राविधिकलाई तुरून्तै सचेत गर्छ। यस्तो घटना भइहाले पनि प्राविधिकलाई सुरक्षित तरिकाले बाहिर निस्कने वातावारण मिलाइएको छ। आगो निभाउन ‘नोभेक १२३०’ ग्यास प्रयोग हुन्छ जसले मानिसलाई हानि गर्दैन।
त्यस्तै यहाँ एआई प्रविधि प्रयोग भएको छ। त्यसैले हरेक कोठा वा कक्षको तापक्रम व्यक्ति आफैं गएर मापन गर्नु पर्दैन। प्रविधिको सहायतामा आफैं हुन्छ। तर यी सबै कुरालाई नियमन गर्न सिफ्टअनुसार ८ जना प्राविधिक २४ सै घन्टा खटिएका हुन्छन्।
हरेक ठाउँमा सिसिटिभी क्यामरा छ भने थ्री-डी मनिटरिङमार्फत निगरानी भइरहेको हुन्छ। यसरी डेटा सेन्टरको परिसरभित्र प्रवेश गर्नुअघिदेखिको जाँच र भित्र प्रविधिमा पनि निकै कडाइ गरिएको छ।
एनसेलको यो आइडिसीमा क-कसले डेटा स्टोर गर्न पाउँछन्?
यो आइडिसी एनसेलको व्यक्तिगत प्रयोजनका लागि मात्रै निर्माण गरिएको होइन। अन्य क्षेत्रका कम्पनी एवम् संस्थाहरूले पनि प्रयोग गर्न सक्नेछन्। यहाँ होस्टिङ स्पेस पनि छ।
यदि कसैले आफ्नो सर्भर ल्याएर राख्न चाहे त्यो सेवा उपलब्ध छ। निजी एवं सरकारी क्षेत्रलाई समेत सेवा दिन हामी तयार छौं। एनसेलको डेटा सेन्टर सुरक्षित र भरपर्दो छ भन्ने दाबीका साथ भन्न सक्छौं। यसबाहेक एनसेलले क्लाउड सर्भिस पनि दिन्छ।