एप्पलले 'आइफोन सेभेन' अब भारतमै बनाउने भएको छ। विस्ट्रन नामक उत्पादक कम्पनीसँगको सहकार्यमा बैंगलरू कारखानामा आइफोन सेभेन (एसेम्बल गरिने) बनाइनेछन्।
एप्पलले पहिल्यैदेखि आइफोन एसइ र आइफोन सिक्स एस मोडल भारतमा बनाउँदै आएको छ।
भारतमा बनेका आइफोन सेभेनको पछाडि भागमा 'एसेम्बल्ड इन इन्डिया' लेखिएको हुनेछ।
मंगलबार एप्पलले यसबारे जानकारी दिँदै भनेको छ, 'बैंगलरूबाट आइफोन सेभेन उत्पादन गर्न पाएकोमा हामी गर्व महशुस गरिरहेका छौं। यसले हाम्रा स्थानीय ग्राहकलाई धेरै सहज हुनेछ भन्ने विश्वास छ।'
एप्पलले भारतमा सन् २०१६ मा पहिलोपटक आइफोन सेभेन बिक्रीवितरण गरेको थियो। तीन वर्ष पुरानो यो मोडलको भारतमा अहिले सुरूआती मूल्य ३९ हजार ९ सय भारू रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसको सबभन्दा हाइ रेन्ज मोडलको भने ४९ हजार ९०० भारू छ।
आइफोन सेभेनमा ४.७ इञ्चको रेटिना डिस्प्ले, टच आइडी, १२ मेगापिक्सल क्यामरा, ७ मेगापिक्सल सेल्फी क्यामरा लगायत फिचर छन्।
केही दिनअघि एप्पलले आइफोन टेन र टेन एस मोडल भारतमा बनाउने चर्चा चलेको थियो। तर विस्ट्रनको बैंगलरूस्थित कारखानामा यी उच्च मोडल बनाउने क्षमताको प्रविधि नभएको रिपोर्ट आएको थियो। यी सबै चर्चालाई तत्कालका निम्ति गलत सावित गर्दै एप्पले मंगलबार विज्ञप्ति जारी गरेको छ।
एप्पलको हालैको त्रैमासिक रिपोर्टका अनुसार कम्पनीलाई भारत र चीन जस्ता ठूला बजारमा टिक्न मुश्किल भइरहेको छ। एक अनुसन्धानका अनुसार एप्पलले सन् २०१८ मा भारतमा १७ लाख आइफोन पठाएको छ। यो भनेको सन् २०१७ को तुलनामा आधा हो। २०१७ मा कम्पनीले ३२ लाख वटा फोन पठाएको थियो।
त्यस्तै भारतमा एप्पलका नयाँ मोडलभन्दा पुराना मोडल बढी मनपराइने पनि अनुसन्धानले देखाएको छ। यही कुरा ध्यानमा राख्दै कम्पनीले आइफोन सेभेन भारतमै बनाउने भएको हुनसक्ने अनुमान विश्लेषकहरूको छ।
भारतमा कम हुँदै गएका ग्राहकको संख्या बढाउन एप्पलले फोनको मूल्यमा धेरै छुट दिएको छ। त्यस्तै चीनमा पनि मूल्य घटाइएको बताइएको छ।