सिजी लाइफसेलले ‘बिप एप’ सार्वजनिक गरेको छ। एपले सूचना सम्प्रेषणमा सहजता ल्याउने सिजी लाइफसेलले जनाएको छ। सिजी लाइफसेल चौधरी ग्रुपअन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजनेस भर्टिकल हो।
म्यानेजिङ प्लेटफर्मका रुपमा रहेको ‘बिप एप’बाट भ्वाइस कल, भिडियो कल र म्यासेज तथा फाइलहरु आदानप्रदान गर्न सकिन्छ। प्रयोगकर्ताले मुद्राको बिनिमयदर, मौसम तथा समाचारहरु पनि यस एपमार्फत पाउन सक्नेछन्।
एप सार्वजनिक कार्यक्रममा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने ‘डिजिटल नेपाल निर्माण गर्ने सरकारको लक्ष्यमा हामीले सक्दो योगदान पुर्याउन चाहन्छौँ।’ यस एपबाट नेपाली नागरिकमा सर्वसुलभ रुपमा सूचना पहुँच बढ्ने उनले बताए।
आइओएस र एन्ड्रोइड दुवै मोवाइल अपरेटिङ सिस्टममा एप चलाउन सकिनेछ। यस एपमा मोबाइल फोनको भाषाअनुसार परिवर्तन गर्न सकिनेछ। त्यस्तै निशुल्क गेमहरु डाउनलोड नगरिकन खेल्न, लोकेसन सेयर तथा फलो मी प्रयोग गर्न, १० प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न सक्नेछन्।
सरप्राइज पोइन्टद्वारा विभिन्न उपहार पनि जित्न सकिनेछ।