फेसबुकले सयौं प्रयोगकर्ताका एकाउन्ट हटाएको छ। कम्पनीले इरानसँग सम्बन्धीत राजनीतिक गतिविधिमा सक्रिय ५१३ वटा पेज, ग्रुप र व्यक्तिगत एकाउन्ट हटाएको जनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमार्फत् देशमा हुने चुनावी तथा अन्य राजनीतिक गतिविधिमा प्रभाव पार्ने किसिमका घटना निकै भएका छन्। अहिले कम्पनीले हटाएका एकाउन्टहरू पनि यिनैमध्ये भएको कम्पनीको भनाइ छ।
इरान लगायत देशको राजनीतिक क्षेत्रमा भइरहेको सामाजिक सञ्जालको प्रभाव रोक्न फेसबुकले नियमित निगरानी राख्ने प्रयास गरिरहेको छ। अमेरिकी राष्ट्रपतीय चुनावमा फेसबुकमार्फत् नै रूसको हस्तक्षेप भएको भन्दै कम्पनीसँग स्पष्टिकरण मागिएको थियो।
त्यसयता फेसबुक यस्ता गतिविधिमा निगरानी राख्न थालेको छ र शंका लागेका पेज तथा एकाउन्ट हटाउँदै आएको छ।
मंगलबार मात्रै उसले ५१३ वटा एकाउन्ट हटाएको जानकारी दिएको छ। यी एकाउन्टहरू विशेषगरी इजिप्ट, भारत, इन्डोनेसिया, इजरायल, इटाली, कश्मिर, काजकिस्तान लगायत मध्यपूर्वी र उत्तर अफ्रिकी देशका प्रयोगकर्तामा लक्षित थिए। अमेरिकी कानुनका केही विशेष र गोप्य जानकारी यी एकाउन्टमार्फत् सेयर भएका फेसबुकले जनाएको छ।
'हामी फेसबुकमार्फत् हुने गैरकानुनी क्रियाकलाप रोक्न हरप्रयास गरिरहेका छौं,' कम्पनीका साइबर सुरक्षा विभाग प्रमुख नाथानियल ग्लेचरले भने, 'यो यसै रोकिने समस्या होइन। किनकि, यसमा सक्रिय व्यक्तिहरू धेरै पैसावाला र आफ्नो योजनामा अडिग छन्।'
तै कुनै एकाउन्ट वा पेज शंकास्पद लागे आफूहरूले रोक्न पछि नहट्ने उनले बताएका छन्।
फेसबुकले रूस, म्यासेडोनिया, कोसोभो लगायत देशसँग सम्बन्धीत केही एकाउन्ट पनि हटाएको छ। यी एकाउन्टले भविष्यवाणी, सेलेब्रेटीका असत्य समाचार र सुन्दर बन्न दिइने विभिन्न सुझाव पोस्ट गरेका थिए। कुनै आधारबिना गलत सन्देश फैलाएको भन्दै कम्पनीले यी पेज तथा एकाउन्ट बन्द गराएको हो।