सामसङले फोल्डिङ स्मार्ट फोन ल्याएको सातादिनभित्रै चिनियाँ स्मार्टफोन निर्माता हुवावेले पनि फोल्ड गर्न मिल्ने स्मार्टफोन विश्व बजारमा ल्याएको छ। स्पेनको बार्सिलोनामा जारी वल्र्ड मोबाइल कंग्रेसमा विश्वको दोस्रो ठूलो स्मार्टफोन कम्पनी हुवावेले मेट एक्स मोबाइल फोन सार्वजनिक गरेको हो।
फाइभजी प्रविधि सपोर्ट गर्ने यो फोनको डिस्प्ले ८ इन्च रहेको छ। ११ एमएम मोटाइ भएको यो फोनको युरोपीयन बजारमा २ हजार ६ सय युरो तोकिएको छ।
यसलाई फोल्ड गर्दा तीन प्रकारका डिस्प्लेको प्रयोगकर्ताले अनुभव गर्न पाउने छन्। जसमा अगाडिको डिस्प्ले ६.६ इन्चको हुने छ। पछाडि(रियर) ६.३ इन्च हुने छ। यसको पुरौ साइज भने ८ इन्चको हुनेछ।
डिस्प्लेको रिजोलोशुन पनि तीन प्रकारको हुने कम्पनीले जानकारी दिएको छ। ८ जिबी र्याम भएको यो फोनमा ५१२ जिबी मेमोरी हुने छ। किरिन ९८० प्रोसेसर भएको फोनमा ४५०० एमएच क्षमताको ब्याट्री रहेको छ।
५५ वाटका सुपर चार्जर भएको यो फोन ३० मिनेटमा ८५ प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ। यो फोनमामा फाइभजी नेटवर्क भएको समय १ जिबीको चलचित्र १ सेकेन्डमा डाउनलोड गर्नसकिने कम्पनीले जानकारी दिएको छ।
(एजेन्सीहरुको सहयाेगमा)