काठमाडौं विश्वविद्यालयले उपहार स्वरूप पाएको ‘सुपर कम्प्युटर’ सञ्चालन गर्न सकिने भएको छ।
स्वीट्जरल्यान्डको युरोपियन ल्याबोरेटरी फर प्राक्टिकल फिजिक्स (सेरेन)ले काठमाडौं विश्वविद्यालयलाई यो सुपर कम्प्युटर उपहार स्वरूप प्रदान गरेको हो।
बनेपास्थित आइटी पार्कमा राखिएको यो कम्प्युटरको व्यवस्थापन काठमाडौं विश्व विद्यालयले गरिरहेको छ। झन्डै आठ टेरावाइटको र्याम, प्रोसेसिङ क्षमता र साढे १ पेटाबाइट स्टोरेज क्षमता भएको सुपर कम्युटर नेटवर्क र यसका लागि डाटा आदान प्रदान गर्न उच्च प्रविधिका स्वीचहरूसहित आवश्यक डिभाइस सेरेनले नै उपलब्ध गराएको छ।
सामान्य कम्प्युटरभन्दा कैयौं गुणा बढी गणना वा डाटा प्रोसेसिङ गर्ने क्षमता सुपर कम्प्युटरमा हुन्छ।
आइटी पार्कमा सुपर कम्प्युटरको व्यवस्थापन गर्दै आएका काठमाडौं विश्व विद्यालयका उपप्राध्यापक मनोज शाक्यले एकै पटकमा धेरै प्रकारका इन्पुट लिने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिन सक्ने क्षमता भएको सुपर कम्प्युटर मौसमको बारेमा तत्काल जानकारी लिन/दिन, भूकम्पीय जोखिमबारे विश्लेषण गरी पूर्व जानकारी दिन साथै तथ्याङ्कीय विश्लेषणमा प्रयोग गर्न सकिने बताए।
यस कम्प्युटरमा सरकारी डाटाहरू सुरक्षित गर्न पनि सकिने उपप्राध्यापक शाक्यले बताए।
यस कम्प्युटरमा कम्प्युटर प्रविधि अध्ययन गरिरहेका विद्यार्थीले प्रयोगात्मक अध्ययनको लागि समेत उपयोग गर्न सक्ने उपप्राध्यापक शाक्यले बताए।
झन्डै दुई हजार वटा सामान्य कम्प्युटरले गर्ने काम यो एउटा कम्प्युटरले गर्दछ।
सम्बन्धित समाचार
नेपालले संसारमै दुर्लभ सुपर कम्प्यूटर निर्माण गरेको छ: प्रम ओली