सरकारले आफ्नो स्वामित्व घटाएर सर्वसाधारणमा सेयर हिस्सा बढाउने भन्दै गर्दा नेपाल टेलिकमको व्यवसाय घटेको छ।
कम्पनीले यस आर्थिक वर्षको पहिलो ६ महिनामा सेवावापत १८ अर्ब ४४ करोड आम्दानी गरेको छ। गत वर्षको यस अवधिमा यस्तो आम्दानी १९ अर्ब ७० करोड थियो।
इन्टरनेटको माध्यमबाट कुराकानी तथा सन्देश आदानप्रदान बढ्दै जाँदा टेलिकमको व्यवसायमा असर परेको हो। उच्च व्याजका कारण कम्पनीको अन्य आम्दानी भने २ अर्ब ६६ करोडबाट बढेर ३ अर्ब २६ करोड पुगेको छ।
टेलिकमको व्यवसाय घटेसँगै नाफामा ह्रास आएको छ। गत आवको ६ महिनामा ७ अर्ब ४८ करोड खुद नाफा कमाएको कम्पनीले अहिले सोही अवधिमा जम्मा ६ अर्ब ३४ करोड कमाएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी ८४ रुपैयाँ छ। गत वर्षको यस अवधिमा ९९ रुपैयाँ थियो। नाफा घटेसँगै प्रतिसेयर आम्दानीमा ह्रास आएको हो।
कम्पनीको जगेडा कोष ७५ अर्बबाट बढेर ९० अर्ब पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ नै ७०६ रुपैयाँ छ। सोमबार बजार बन्द हुँदा सेयर मूल्य भने प्रतिकित्ता ७ सय ५ रुपैयाँ छ।
सरकारसँग भएको सेयर घटाई सर्वसाधारणलाई २६ प्रतिशत हिस्सा पुर्याउने भन्दै संचारमन्त्री गोकुल बास्कोटाले तयारी भइरहेको बताएपछि कम्पनीको सेयर मूल्य खस्किएको हो।
यसअघि प्रतिकित्ता ६ सय रुपैयाँका दरले सर्वसाधारणमा सेयर लगिएकाले अब पुनः सोही मूल्यमा बिक्री हुने सर्वसाधारण लगानीकर्ताको अनुमान छ। जसले गर्दा बजारमा कम्पनीको सेयर खरिद आदेश घटेको छ।
एक महिनामा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँले झरेको छ। कुल १५ अर्ब सेयर पुँजी रहेको कम्पनीको हाल ४. ४ प्रतिशत मात्रै सर्वसाधारणमा सेयर जारी छ। अहिले टेलिकममा ९१ प्रतिशत सेयर सरकारी स्वामित्वमा छ। बाँकी सेयर कर्मचारीहरुको छ।