केही सातादेखि सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा फोटो निकै चर्चित छ। यो कुनै सेलेब्रेटी, जनावर वा व्यक्ति विशेषको फोटो होइन। न कुनै गरगहना वा मूल्यवान् वस्तु।
तै यसले इन्स्टाग्राममा सबभन्दा बढी लाइक पाउने रेकर्ड राख्न सफल भएको छ। यो फोटोले यसअघि सबभन्दा धेरै लाइक पाएको अमेरिकी मोडल काइली जेनरको पोस्टलाई पछि पारेको छ। इन्स्टाग्राममा लाखौं फलोअर भएकी काइलीको पोस्ट उछिन्ने यो फोटो केको होला?
सुन्दा अचम्म लाग्ला, सबभन्दा धेरै लाइक पाउने रेकर्ड बनाएको यो फोटो कुखुराको अण्डाको हो। हो, एक सामान्य अण्डाको। यसमा केही पनि नौलो छैन। केही झकिझकाउ वा सजावट छैन। तै साधारण यो अण्डाको फोटोले हालसम्म ५ करोड २० लाखभन्दा बढी लाइक पाइसकेको छ। र, यो क्रम बढ्दो छ। जबकि, काइलीको पोस्टले १ करोड ८० लाख लाइक पाएको थियो।
आखिर सामान्य अण्डाको फोटो कसले पोस्ट गरेको थियो?
अमेरिकी अखबार न्युयोर्क टाइम्सका अनुसार यो फोटो राख्ने व्यक्ति क्रिस गडफ्रे हुन्। २९ वर्षीय क्रिस लन्डनको एक विज्ञापन कम्पनीमा काम गर्छन्। जनवरी ४ तारिखमा उनले काइली जेनरको पोस्टको रेकर्ड तोड्ने उद्देश्यले नै फोटो राखेको बताएका छन्। उनी विज्ञापन क्षेत्रमा काम गर्छन्।
'कुनै सामान्य चिजले पनि रेकर्ड तोड्न सक्छ कि सक्दैन भन्ने परीक्षण थियो मेरो यो,' क्रिसको भनाइ उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ, 'आखिर हुने रहेछ। अहिलेसम्म एक करोड फलोअर पनि भइसके।'
अण्डा नै किन त?
क्रिस भन्छन्, 'अण्डाको कुनै लिंग हुँदैन। कुनै जात र धर्म हुँदैन। यो तटस्थ हुन्छ। अण्डा, अण्डा मात्र हो।'
क्रिस र उनका साथी मिलेर यो पोस्टलाई अहिले सामाजिक जनचेतना अभिवृद्धि गर्ने एजेन्डा बनाएका छन्। उनीहरूले पहिलो अण्डापछि क्रमशः थप ५ वटा अण्डाका फोटा राखे। तर यी सग्ला छैनन्। थोरै, थोरै चर्किँदै गएका छन्। पछिल्लो पोस्टमा भने एक सानो भिडियो छ। जसमा अण्डा पूरै फुटेको छ।
'सामाजिक सञ्जालको दबाब ममा हावी भइरहेको छ,' यति लेखिँदै अण्डा फुट्छ र फेरि आउँछ, 'यदि तपाईं पनि संघर्ष गर्दै हुनुहुन्छ भने कसैसँग कुरा गर्नुहोस्।'
यो पोस्ट सामाजिक सञ्जालकामाध्यमबाट प्रयोगकर्तामा पर्दै गएको मानसिक असरबारे हो। सामाजिक सञ्जालमा हुरुक्क भएर झुम्मिनेहरूले मानसिक समस्या भोग्नेहरूको संख्या अमेरिकामा दिनहुँ बढ्दो छ।