कम्प्यूटर एशोसिएशन नेपाल महासंघ (क्यान) सुर्खेतको आयोजनामा फागुन २४ गतेदेखि कर्णाली प्रदेशस्तरीय सूचना, प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ सञ्चालन गरिने भएको छ।
फागुन २४ गतेदेखि २८ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने इन्फोटेकका लागि करिब ३६ लाख रुपैयाँ खर्च हुने क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिए।
उनका अनुसार इन्फोटेकको उद्घाटन कर्णाली प्रदेशमै पहिलो पटक रोबोटबाट गर्ने तयारी भइरहेको छ ।
कर्णाली प्रदेशका सबै जिल्लाको सहभागिता रहने गरी आयोजना हुन लागेको उक्त इन्फोटेकका समन्वय क्यान महासंघ कर्णाली प्रदेशले गर्ने र त्यसको संरक्षकमा क्यान महासंघ नेपाल रहने छ।
आयोजकका अनुसार इन्फोटेकमा राष्ट्रियस्तरका व्यवसायीहरू सहभागी हुनेछन् भने नेपालमा भित्रिएका नविनतम् प्रविधिहरूको प्रदर्शनी मुख्य आकर्षकको रूपमा रहने छन्।
इन्फोटेकलाई स्तरीय, सभ्य र भव्य बनाउन प्रयास गरिरहेको क्यान सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले बताए।
मेलामा आइसिटी कन्फ्रेन्स, आइटी वर्कसपहरू, डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार सञ्चालन गरिने छ।
मेलामा हुने प्रदर्शनीलाई सुर्खेतको लागि सूचना, सञ्चार र प्रविधिसम्बन्धी बृहत् प्रदर्शनीका रूपमा लिइएको उनले बताए।
इन्फोटेक १ लाख बढी दर्शकहरूले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ।
कर्णाली प्रदेशमा सूचना सञ्चार र प्रविधिमा जानकारी, प्रचार प्रसारका साथै व्यापार प्रवर्द्धनमा समेत टेवा पुर्याउन तथा कर्णाली प्रदेश सरकारले लिएको समृद्ध नेपालका लागि डिजिटल कर्णाली अभियानलाई समेत सहयोग गर्ने उद्देश्य अनुसार इन्फोटेकको आयोजना गरिएको जनाइएको छ।
इन्फोटेकमा अन्तरविद्यालय प्रविधि प्रदर्शनी हुनेछ। टिकट व्यवस्थित गर्न आइएमइ पेमार्फत् अनलाइन टिकटको व्यवस्था गरिने बताइएको छ।
अनलाइन टिकट काट्नेहरूले निःशुल्क टिकट सुविधा लिने छन् भने जसका लागि मोबाइलमा आइएमइ पे एप्लिकेशन डाउनलोड गरी टिकट त्यसबाट लिन सकिने छ। इन्फोटेक विद्यार्थीमैत्री बनाउने योजना अनुसार आयोजकले विद्यालयको पोशाक र परिचयपत्रका साथमा विद्यार्थी आएमा निःशुल्क प्रवेशको व्यवस्था मिलाउने जनाएको छ। तर परिचयपत्र मात्रै भएमा ५० प्रतिशत छुटको व्यवस्था मिलाइने छ ।
नयाँ प्रविधिसहितका प्रदर्शनी, ५ देखि ५० प्रतिशतसम्म सामानमा छुटको व्यवस्था, स्थानीय तथा राष्ट्रियस्तरमा विकास भएका प्रविधिको प्रदर्शनी, स्मार्ट सेमिनार, निःशुल्क कम्प्युटर तथा प्रिन्टर मर्मत क्याम्प, अन्तर विद्यालय प्रविधि प्रतियोगीता, विज्ञान प्रदर्शनी र फ्रि वाइफाइ जोन मुख्य आकर्षकका रूपमा रहने आयोजकले जनाएको छ।