वाइफाइ, डिलक्स, भिडियो कोचजस्ता शव्द नलेखेका लामो दुरीका बस कमै होलान्। तर ति बसमा यात्रा गर्दा कहिलै इन्टरनेट चलाउन पाउनुभएको छ? सबैको साझा अनुभव त के हो भने इन्टरनेट मोबाइल डाटा बाहेक चलाइएको छैन।
वाइफाइ भएको बसले तोकिएकोभन्दा चालीस प्रतिशत बढी भाडा तोक्न पाउने सुविधा पनि सरकारले दिएको छ। यति हुँदाहुँदै पनि बसको बाहिर वाइफाइ डिलक्स लेख्ने बसहरु वास्तवमा इन्टरनेटविनाका छन्।
विकसित देशहरुमा सिटी बसहरुमा पनि निशुल्क वाइफाइको व्यवस्था हुन्छ तर नेपालमा बस मालिकले लेखेर यात्रुले हेरेर चित्त बुझाउनुपर्ने अवस्था छ। यही लेखेर र हेरेर चित्त बुझाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल टेलिकमले ‘एनटी बस इन्टरनेट’ सुविधा पनि ल्याएको छ।
साइबरनेटिक्स प्रालिसँगको साझेदारीमा ल्याइएको यो सेवामा कुनै पनि बस मालिकले डब्लुसिडीएमए वा सिडीएमए प्रविधिको सेवा जडान गर्न सक्छन्। जसबाट सिडिएमएको नेटवर्क भएको नेपालको जुनसुकै ठाउँमा बस गुडिरहँदा पनि इन्टरनेट चलाउन पाइन्छ।
नेपाल टेलिकमले गएको असारमा ल्याएको यो सेवामा आकर्षण भने बढेको छैन। यो बीचमा जम्मा २ सयले सेवा लिएको नेपाल टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले जानकारी दिए।
सेवा लिनको लागि एनटी बस इन्टरनेट डिभाइस जडान गर्नुपर्छ जुन सिडिएमए मोडिएम हो। यसकोे आफ्नै स्टोरेज हुन्छ र त्यहाँ लोकल कन्टेन्टहरु राखिएका हुन्छन्। नेटवर्कले काम नगरेको ठाउँ भए पनि फिल्म, गित, गेम, जिपिएस ट्र्याकिङको सुविधा लिन सकिने बताउँछन् सहप्रवक्ता अधिकारी।
सेवा लिएका कतिपय बस संचालकहरुले यो सेवाले राम्रो काम गरेको जानकारी दिएका छन् भने कतिले भनेजस्तो काम नगरेको प्रतिक्रिया दिएका छन्। काठमाडौं सिरहा रुटमा डिलक्स बस संचालन गरिरहेका पुष्प महर्जनले उक्त रुटमा प्राय ठाउँमा वाइफाइले काम गरेको जानकारी दिए।
‘कतै कतै कुनाकाप्चा पर्ने ठाउँमा स्लो भएको पाइए पनि अधिकांस ठाउँमा यसले राम्रोसँग काम गरेको प्रतिक्रया यात्रुहरुले दिएका छन्’ पहिलोपटक बसमा इन्टरनेट सेवा दिएका उनले भने, ‘कतै यसमा टावर नदिएको ठाउँमा फिल्म हेर्न, गित सुन्न मिल्ने भएकोले यात्रुको खासै गुनासो छैन।’
यो प्रविधिमा नेपाल टेलिकमको सिडिएमए टावर टिप्ने ठाउँमा इन्टरनेटले काम गर्छ भने बाँकी ठाउँमा यात्रुहरुले आफ्नो इच्छाअनुसारका फिल्म हेर्न, गित सुन्न पाउँछन् जुन मोडिएम डिभाइसको स्टोरेजमा हुन्छ। बसले जुन फिल्म लगायो वा गित बजायो त्यही हेर्नुं र सुन्नुपर्ने बाध्यताबाट मुक्त हुने टेलिकमका सहप्रवक्ता अधिकारीले बताए।
पर्याप्त जानकारी र जनचेतना नहुँदा सेवा लिनेहरुको संख्यामा बृद्धि नभएको उनको बुझाइ छ। काठमाडौं–पोखरा रुटमा पर्यटक बस चलाइरहेको ट्राभल वान पोखराका अनुसार सेवा सुचारु गरेको एक महिना भइसक्दा पनि सेवाले काम गरेको छैन। कम्पनीका एक अधिकारीका अनुसार यसबारेमा जानकारी गराउँदा नेटवर्क सुधारको काम भइरहेको आश्वासन दिइने गरेको छ।
नेपालमा पर्यटकस्तरीय बस बिक्री गरिरहेको हाइगरको आधिकारीक बिक्रेता अर्घ ग्रुपले बसमा पहिले नै सेवा सुचारु गरिदिने गरेको छ।हाइगरका बस किन्नेले पहिले नै उक्त सेवा सुचारु भएको पाउने छन्। अर्घ ग्रुपका अनुसार अहिलेसम्म २ हाइगर बसमा यस्तो सेवा सुचारु भएको छ। सेवा संचालन भएकाबाट सकारात्मक प्रतिक्रिया आफूहरुले पाएको ग्रुपका प्रतिनिधि रजुल श्रेष्ठले बताए।