नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताको फोन तथा भाइबरमा विभिन्न अपरिचित नम्बरबाट ‘फ्रड कल’ आएको गुनासो बढेपछि त्यस्ता फोन नउठाउन अनुरोध गरेको छ।
केही समययता अपरिचित नम्बरबाट फोन आएर चिठ्ठा परेको तथा विभिन्न धम्की दिने जस्ता घटना बढेको पाइएको भन्दै टेलिकमले त्यस्ता फोन नउठाउन सुचित गरेको हो।
टेलिकमले प्रयोगकर्तालाई सन्देश पठाउँदै ०१२३४५६, १२३४५६ जस्ता अपरिचित नम्बरबाट आउने फोन नउठाउन अनुरोध गरेको हो। टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले गुनासा बढ्दै गएपछि दुरसञ्चार प्राधिकरणले समेत प्रयोगकर्तालाई सजग गर्न भनेकाले आफूहरुले म्यासेज गरेको बताइन्।
उनले यसप्रकारका कुनै घटनाको उजुरी हालसम्म नपरेको भन्दै विभिन्न सञ्चार माध्यममा भाइबर प्रयोग गरेर ठगी भएको घटनालाई मध्यनजर गर्र्दै उस्तै प्रकृतिका घटना नहोस भन्दै सबै प्रयोगकर्तालाई सचेत गराउन सन्देश पठाइएको बताइन्।
यस अघि टेलिकमले भाइबरमा +९२३४४८७७५६१, +९२३४९१२९५३२५, +६०१११४३१०९८२ वा विदेशका यस्तै नम्बरहरुबाट ‘फ्रड कल’ आएको तथा हिन्दी, उर्दु जस्ता भाषाामा बोल्ने व्यक्तिले कल उठाउने ब्यक्तिलाई चिठ्ठामार्फत करोडौँ रुपैंयाँ परेको भन्ने अफबाह फैलाउँदै ठगी गर्न खोजेको पाइएको भन्दै त्यस्ता कल नउठाउन र उसले भनेझैं नगर्न सचेत गरेको थियो।