हिन्दु धर्मावलम्बीहरूको महान् चाड वडा दसैं सुरू भएको छ।
यो पर्वमा नयाँ नयाँ लुगा लगाउने र आफ्नो मनोकामना पूर्तिको लागि सिँगै खसी, रांगा, कखुरा कोट देवी देउराली, मठहरूमा बलि दिने र त्यो मासुलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन छ। त्यसै पनि दसैं नेपाली अनि मासु?
चाडपर्व मनाउँदा खानपानमा ध्यान नपुर्याउँदा यानिकी स-साना लापरबाहीले गर्दा बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था आउँछ। त्यसैले दसैंमा मासुका परिकार बनाउँदा सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न जान्नु पर्दछ।
मासु एक पौष्टिक आहार हो जसमा १४ देखि २० प्रतिशत प्रोटिनको साथै जिङ्क, भिटामिन बी, पोटासियम जस्ता तत्व पनि पाइन्छन्। मासुबाट प्राप्त हुने तत्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन।
हामीले राम्रोसँग सुरक्षित ढंगले राख्न नजानेमा त्यही मासुबाट विभिन्न किसिमका रोग उत्पन्न हुन्छ। खानामा दैनिक अत्यधिक रातो मासुको प्रयोगले मानिसको संवेदनशील अङ्ग मुटुमा असर पर्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ।
मासु सँगसँगै हरियो परियो साग, मूला पनि प्रयोग गर्ने हो भने पाचनक्रियामा सहजता त ल्याउँछ नै थोरै मासु खाएर शरीरलाई चाहिने धेरै तत्व प्राप्त गर्न सकिन्छ।
मासुको लागि खसी,बोका कसरी छान्ने त?
हेर्दै नाम्ले परे जस्तो अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएर बसेको साथै फनफनी घुम्ने खसी बोका छान्नु हुँदैन। बजारमा काटेको मासु हलुका गुलाबी रङको छ भने सम्झनुहोस् त्यो प्रयोग गर्न लायक छैन।
यदि मासु हरियो तथा प्याजी रङको भएको छ भने त्यो खान योग्य मानिँदैन। मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध आउनु हुँदैन। मासु काट्दा र समाउँदा च्याप च्याप लाग्ने तन्केको जस्तो हुनु हुँदैन।
मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, तराजु र लगाएको पोशाक सफा छ/छैन ध्यान दिनुपर्छ।
मासु भण्डारण कसरी गर्ने त?
काँचो मासुलाई अन्य पाकेका परिकार सँगै फ्रिजमा त्यतिकै राख्नु हुँदैन छोपेर राख्नु पर्दछ। कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन। माथिल्लो भागमा राख्दा मासुमा भएका कीटाणु मासुमै हुने तरल पदार्थ फ्रिजमा सर्कुलर हावामार्फत् तल्लो सतहमा झर्न सक्छ। तल राखिएका अन्य खाना, पाकिसकेका परिकार, सागसब्जी, शाकाहारीका लागि तयार पारिएका (छुट्ट्याइएका परिकार, फलफूल तथा तरकारीमा पर्न सक्ने खतरा) हुन्छन्।
काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु हुँदैन।
तपाईंको घरमा फ्रिज छैन र ३-४ घन्टापछि पकाउनु छ भने तोरीको तेल, अदुवा, लसुन, नुन, बेसार लगाएर राख्दा उपयुक्त हुन्छ साथै स्वादिष्ट पनि हुन्छ।
मासु खाँदा ध्यान दिनुपर्ने कुरा:
-दसैं भनेर धेरै मासु खाने चलन छ तर यो गलत प्रवृत्ति हो। स्वस्थ मानिसले दिनभरमा १ सय ५० ग्राम मासु खानु उपयुक्त हुन्छ।
-फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानुहोस्।
-बासी तथा खुला स्थानमा राखेको मासु नखाने।
-काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा नखाने।
-राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासु मात्र खाने। हामीमा मासु पखाल्नु हुन्न भन्ने मान्यता छ त्यो गलत हो।
-बोसो तथा छालारहित मासुको प्रयोगमा बढी जोड दिने।
-मसला तथा तेलीय पदार्थ थोरै प्रयोग गर्नुहोस्,लसुन, अदुवा र हरियो खुर्सानी प्रयोग गर्नुहोस्।
-मासु खाँदा सलाद मूला, सलादपात र पुदिना बढी प्रयोग गर्नु राम्रो मानिन्छ जसले पाचनक्रियामा सहजता ल्याउँछ।
-मासु खाने बित्तिकै आइसक्रिम, दुध, दही, क्रिमका परिकार खानु उचित हुँदैन।
(भान्से लक्ष्मण प्रसाद भण्डारी आलीदेखि थालीसम्म *खाने कथा* तथा *भान्सालय* का संस्थापक साथै मिथिला थाली बाइ सन्तोष शाहका परामर्शदाता हुन्।)