अभिनेता राजेश हमाल राठी ग्रुपको प्रमुख उत्पादन 'राठीकोल' को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।
मंगलबार काठमाडौंको पाँचतारे मेरियट होटलमा आयोजित एक पत्रकार भेटघाट समारोहबीच राठी ग्रुपका अध्यक्ष अरूण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे।
हमालले अबको एक वर्षसम्म राठीकोलका विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन्।
हमाललाई एम्बासडर नियुक्त गरेपछि राठी ग्रुपका अध्यक्ष अरूण कुमारले 'राठी' ब्रान्डले चलचित्रमा हमालको विरासतलाई सदैव सम्मान गर्ने बताए।
अध्यक्ष राठीले भने, 'राठीकोल उत्पादन गुणस्तरको हिसाबमा पनि पहिलो र उत्पादनको हिसाबमा पनि पहिलो हो। आज यो उत्पादनलाई लाखौं कालिगडहरूले विश्वास गरेर प्रयोग गरिरहेका छन् भने हजारौं बिक्रेताहरूले बेचिरहेका छन्। विगत ३५ वर्षदेखि निरन्तर प्रयोग हुनु भनेको सानो कुरा होइन। विदेशी कम्पनीहरूको उत्पादनले लिएको बजारको प्रतिस्पर्धामा हामीले राठीकोललाई स्थापित गर्न सक्षम भएका छौं।'
उनले थप भने, 'राजेश हमाल पनि जसरी दशकौंदेखि नेपाली चलचित्रमा पहिलो नम्बरको अभिनेता हुनुहुन्छ, उहाँ एक नम्बर, हामी पनि एक नम्बर। हाम्रो काम नै जोड्ने हो। उहाँलाई हामीले यो ब्रान्डसँग जोडेर यसबारे थाहा नपाउनुभएका आम मानिसहरूलाई पनि जानकारी दिन एम्बासडर बनाएका छौं।
अभिनेता हमालले राठीकोललाई 'नेसनल प्राइड' का रूपमा सम्बोधन गर्दै नेपालमा यो गुणस्तरको उत्पादन हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको बताए।
कैयन विदेशी ब्रान्डहरूलाई जित्दै आफ्नो वर्चस्व कायम गर्न सफल रहेको बताउँदै यसको गुणस्तरको विश्वास लिएपछि मात्र एम्बासडर बन्न राजी भएको उनले बताए।
'निकै वर्ष पहिले राठीकोलको चाखलाग्दो विज्ञापन आउँदा नै मैले यो ब्रान्डबारे थाहा पाएको थिएँ, पछिसम्म मेरो मानसपटलमा यो रहिरहेको रहेछ,' उनले भने, 'यो बिन्दुमा आएर यो ब्रान्डसँग जोडिन पाउँदा निकै खुसी लागेको छ। कुनै एउटा उत्पादनले जुन विश्वास उपभोक्तामा दिलाएर बसेको छ, त्यो ब्रान्डसँग सहकार्य गर्न पाउनु गर्वको कुरा हो। मैले मात्र यो ब्रान्डलाई खोजेको छैन, यो ब्रान्डले पनि मलाई खोजेको छ। म आभारी छु।'
राठीकोलका सिइओ योगेश राठीले हमालको चलचित्र यात्रा र राठीकोलको उत्पादनको यात्रा बराबर ३५ वर्ष रहेको उल्लेख गर्दै निरन्तर सहकार्यमा रहने बताए।
१३० वर्ष पुरानो इतिहास बोकेको राठी ग्रुप सामान्यतया स्विच, केबल, बल्ब, हार्डवेयर र राठीकोलका लागि चिनिँदै आएको छ।
राठीकोल राठी ग्रुपको प्रमुख उत्पादनमध्ये एक हो, जसले चिप्किने पदार्थ (एढेसिभ) उत्पादनका रूपमा आफूलाई स्थापित गरेको छ। यो उत्पादन मुख्यतया फर्निचर बनाउने काममा प्रयोग हुने काठको कामका लागि प्रयोग हुन्छ। साथै अन्य फ्रेमिङका कामहरूमा पनि प्रयोग गर्न सकिन्छ। यो विगत ३५ वर्षदेखि उत्पादन भई बजारमा आइरहेको छ।
पत्रकार भेटघाट समारोहमा राठीकोलका सिइओ योगेश राठी, सेल्स एन्ड मार्केटिङका प्रमुख रिदम शाह लगायतको उपस्थिति थियो।