प्रधानमन्त्री केपीशर्मा ओलीले 'आन्तरिक रोजगार प्रवर्द्धन दशक' घोषणा गरेका छन्।
सोमबार काठमाडौंमा सुरू भएको श्रम तथा रोजगार सम्मेलन कार्यक्रमका अवसरमा प्रधानमन्त्री ओलीले आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रम पनि सुरू भएको छ।
आन्तरिक रोजगारीका अवसरहरू सिर्जना तथा सिप विकासका लागि सरकार र निजी क्षेत्रबीच समझदारी भएको छ।
रोजगार प्रवर्द्धन तथा सिप विकासका लागि होटलसंघ नेपाल, निर्माण व्यवसायी महासंघ, नाडा, ग्रिल तथा स्टिल व्यवसायी महासंघ, सुनचाँदी व्यवसायी महासंघ लगायत विभिन्न आठ संघसंस्थाले सरकारसँग सम्बन्धित क्षेत्रमा रोजगारी सिर्जना लगायत विषयमा समझदारी गरेका हुन्।
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ बाट 'आन्तरिक रोजगार प्रवर्द्धन दशक' अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।
दिगो आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको प्रमुख आधार नै उत्पादनशील रोजगारी रहेका कारण नीतिगत, वस्तुगत र विकास रणनीतिहरूमा रोजगारी प्रवर्द्धनलाई जोड दिइएको मन्त्रालयले जनाएको छ।
वर्तमान समयमा देखिएका नीतिगत र कार्यगत चुनौतीहरूलाई समन्वयात्मक तवरले समाधान गर्नुपर्ने र आन्तरिक रोजगार प्रवर्द्धन गर्ने निकायलाई पूर्ण जिम्मेवार बनाई एकीकृत रोजगारमूलक क्रियाकलापहरूको प्रवर्द्धन तथा विस्तारमा जोड दिने मन्त्रालयले बताएको छ।
नेपालमा रोजगारीको अवसरमा संकुचन हुँदै जाँदा वैदेशिक रोजगारीमा अतिरिक्त चाप परेको पनि मन्त्रालयले उल्लेख गरेको छ। यसलाई पनि व्यवस्थापन गरिने मन्त्रालयको भनाइ छ।