जेठ १९ गते मधेस प्रदेशको जनकपुरमा श्रमाधान रोजगार मेला चलिरहेको थियो। निकै भिडभाड उक्त मेलामा एउटै उमेर जस्तो देखिने ५ जना युवाको एउटा हुल पनि मिसियो।
उनीहरू मेलामा राखिएका सबै स्टलहरू डुले। अनि छेउमा उभिएर गफिन थाले।
'एक्सकाभेटर चलाउन सिकियो काम पाइएको छैन। यहाँ मेलाबाट पनि सहयोग हुन्छ कि भनेर आएको,' कमला नगरपालिका वडा नम्बर ५ का राकेश सहनीले भने।
राकेशसहित २६ जनाले एकै पटक जेसिभी चलाउन सिकेका रहेछन्। तालिम सकिए पनि अहिले उनीहरूले कतै काम पाएका छैनन्।
'तालिम दिने संस्थाले पनि काम खोजिदिन्छौं भनेको थियो। आफै पनि खोज्दै गर भनेको भएर यहाँबाट मिल्छ कि भनेर आएको,' उनले थपे।
सहनी २४ वर्षका भए। सानै उमेरमा बुवा बितेपछि घरको जिम्मेवारी उनकै काँधमा छ। खेती गर्दा पनि खानलाई मात्रै ठिक्क हुन्छ। व्यावसायिक खेती गरौंभन्दा गाउँमा सिँचाइ छैन। गाउँमा केही उपाय नलागेपछि यसअघि उनी कामका लागि कतार समेत गएका थिए। विश्वकप फुटबलको बेला थियो। त्यहाँ उनी एउटा निर्माण कम्पनीमा काम गर्थे। गएको वर्षदिन भएको थियो कम्पनीले कामबाट निकालिदियो।
'त्यो बेला कतारले कामदार कटौती गरिरहेको थियो। म पनि त्यसमै परेँ। गएको ऋण समेत तिर्दा नतिर्दै फर्किनुपर्यो,' राकेश सुनाउँछन्, 'अब अर्काको देश जानु नपरोस् भनेको, सरकारले कार्यक्रम त गरेको छ। काम पाइएला जस्तो छैन। हामी यहाँ कसरी टिक्ने?,' उनले प्रश्न गरे।
जनकनन्दिनी गाउँपालिका वडा नम्बर ६ का उमेश कुमार शाहले पनि सहनीसँगै एक्सकाभेटर चलाउन सिकेका छन्। १९ वर्षका उनी तर काम नपाउँदा आफूले सिकेको सीप पनि भुलिन्छ कि भन्ने पीर उनलाई लाग्न थालेको छ।
'यो सीप त सिकियो तर जेसिभी चलाउन दिन साहुले विश्वास गर्नै गाह्रो हुने रहेछ। नयाँ किनेर नयाँ मान्छेलाई दिँदा बिगार्ने हो कि भन्ने लाग्ने रहेछ। पुरानो त अरूले चलाइरहेकै हुन्छन्। कति त साहु आफै नै चलाउने रहेछन्। जेसिबी चलाउन सिकेर काम पाइन्छ जस्तो लागेकै छैन,' उनले भने।
जनक नन्दिनी गाउँपालिकाकै राधाकुमारी महतो सीप र कामबारे बुझ्न साथीहरूसँग मेला पुगेकी थिइन्। उनले सिलाइकटाइमा बेसिक तालिम लिइसकेकी रहिछन्। अब एड्भान्स तालिम लिने सोचमा रहिछन्।
'अहिले पनि बेसिक केही काम पाइहाल्यो भने गर्न सक्ने भएकी छु। टेलर नै चलाउने हुन अझै केही सिक्न बाँकी छ। काम र सीपको दुवै बुझ्न आएकी कतै पाइहाल्छ कि भनेर,' उनले भनिन्।
गाउँमा अवसर पाइहाल्ने अवस्था छैन। अवसर नभएकै कारण उनका श्रीमान पनि परदेश गएको २२ वर्षीया राधाकुमारीले बताइन्।
'काम पाइन्छ भन्ने आधार भए मेरो श्रीमान यही केही गरेर बस्नुहुन्थ्यो। कतार जानुपर्दैन थियो। अर्काको देशमा जानु भएको छ भन्न त काम ठीकै छ भन्नुहुन्छ, कस्तो छ आफूले देखेको छैन,' उनले भनिन्।
सरकारकै व्यावसायिक सीप तथा तालिम केन्द्र जनकपुरमा सीप सिकिरहेका ठूलो संख्यामा युवाहरू पनि मेलामा सहभागी थिए। वेल्डिङ तालिम लिएका १० जना युवाहरू आफ्नो सीपसँग सम्बन्धित केही काम पाइन्छ कि भनेर आएका थिए।
'हामीले सिकेको सीपसँग सम्बन्धित रोजगारदाता चाहिँ भेटिएन। हामी सरकारको श्रमाधान कार्यक्रममा दर्ता भएका छौं पछि काम पाइएला कि हेरौं,' तीन महिना वेल्डिङ सम्बन्धी तालिम लिइसकेका मेलामा भेटिएका जनकपुर उपमहानगरपालिकाका वीरेन्द्र रायले भने, 'तालिम लगभग अब सकियो काम पाइहाले हुन्थ्यो पाइएन भने त सिकेको पनि भुलिन्छ।'
उनले काम पाएसम्म आफ्नै देशमा गर्ने सोचेका छन्। यहाँ केही उपाय नलागे आफू विदेशको यात्रा रोज्न बाध्य हुनुपर्ने गुनासो उनले पोखे। उनीसँग तालिम लिएका १० जनाको गुनासो एउटै छ।
सिलाइकटाइ, ब्युटिपार्लर लगायत तालिम लिएका युवाहरूलाई तालिम केन्द्रका प्रमुख तुल्सीराम घिमिरेले मेलामा ल्याएका थिए। उनले सरकारले श्रम बजारमा देखिएका समस्या सम्बोधन गर्न श्रमाधान कार्यक्रम सुरू गरेकाले यो कार्यक्रमलाई सघाउन सीपयुक्त युवाहरू मेलामा सहभागिता गराएको बताए।
'हामीसँग सीप सिकेर बजारमा जान तयारी अवस्थामा धेरै युवाहरू हुनुहुन्छ। उहाँहरूलाई मन्त्रालयको श्रमाधान कार्यक्रमले सहजीकरण गर्छ भन्ने अपेक्षा छ,' उनले भने।
केन्द्रबाट सीप सिकेका वार्षिक १५०० युवा श्रम बजारमा प्रवेश गर्ने उनले बताए। उनीहरूमध्ये धेरैजसो युवा देशमा अवसर नपाएपछि विदेशिन बाध्य भएको पनि उनले बताए। यहाँको तलब सेवासुविधा लगायत कारण पनि धेरैजसो युवाहरू विदेशिन बाध्य हुनुपरेको उनको भनाइ छ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र शाह मधेसमा रोजगारीको ठूलो समस्या रहेको बताउँछन्।
'यहाँ जनसंख्या पनि ठूलो छ। सबैलाई पुग्ने रोजगारी सिर्जना हुन सकेको छैन। त्यसैले यहाँबाट एकदमै ठूलो संख्यामा युवाहरू विदेशिनु परेको छ,' उनले भने।
संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा मधेस प्रदेशको श्रमाधान रोजगार मेला जनकपुरधाममा दुई दिन चलेको थियो। जेठ १९ र २० गते चलेको मेलामा करिब ६ हजारले अवलोकन गरेका थिए। मेलामा सहभागी भएर दुई हजारले रोजगारीका लागि आवेदन दिएका छन्।
वेल्डिङ, ब्युटिसियन, सिलाइकटाइ, चालक, सेक्युरिटी गार्ड लगायत विभिन्न सेवा क्षेत्रको कामका लागि युवाहरूले आवेदन दिएका छन्।
मेलाबाट रोजगारीका लागि होटलतर्फ १०५ जना, अटोमोबाइल क्षेत्रमा ३५, बैंकमा २७ र सुरक्षा गार्डमा ८० गरी २४७ जनालाई रोजगारीका लागि अन्तर्वार्तामा बोलाइएको छ। उनीहरूबाट सर्टलिस्ट गरेर आवश्यकताअनुसार दक्ष जनशक्तिलाई रोजगारी दिइने रोजगारदाताले बताएका छन्। पछिल्लो समय आर्थिक गतिविधि सुस्त हुँदा नयाँ रोजगारीका अवसरहरू सिर्जना हुन नसकेको उनीहरूको भनाइ छ।
मन्त्रालयले आन्तरिक रोजगारी प्रवर्द्धन गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले मेला आयोजना गरिएको बताएको छ।
मेलाबाट अहिले नै ठूलो संख्यामा रोजगारी सुनिश्चितता गराउन नसकिए पनि दीर्घकालीन रोजगारीका अवसर सिर्जना गर्न सहज हुने विश्वास मन्त्रालयको छ। अहिलेको मेलाबाट श्रम बजारको अवस्थाबारे बुझ्ने र आवश्यकता अनुसार श्रम शक्ति उत्पादन गरेर रोजगारी प्रवर्द्धन गरिने मन्त्रालयको योजना रहेको अधिकारीहरू बताउँछन्।