वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस० मा फेरि समस्या देखिएको छ।
सोमबार बिहानैदेखि फेमिसको सर्भरमा प्राविधिक समस्या देखिँदा दैनिक हुने श्रम स्वीकृति लगायत सेवा दिन नसकिएको वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका निर्देशक एंव सूचना अधिकार हुमनाथ पराजुलीले बताए।
सर्भरमा ओभर लोडका कारण समस्या देखिएको प्राविधिकहरूले बताएको उनले जानकारी दिए। 'सिस्टमलाई विभिन्न निकायसँग लिंकअप गर्दा भार थपिएको छ। क्षमता कम भएर समस्या देखिएको प्राविधिकहरूले भनिरहनु भएको छ,' उनले भने। समस्या तत्काल सुल्झाउनका लागि प्राविधिक पक्षले काम गरिरहेको पनि उनले जानकारी दिए।
'सिस्टममा आवश्यक कागजात तथा विवरण प्रविष्ट गरिसकेका हिजो र आजको उडान भएकाहरूलाई सेल्फ प्रतिवद्धता गराएर विमानस्थलमा पत्राचार गरेका छौं। हिजो साँझसम्म कार्यालयको सम्पर्कमा नआएकाहरू केहीको भने फ्लाइट छुटेको गुनासो पनि आएको छ,' उनले भने।
यो सिस्टम कहिलेसम्म सुधार हुन्छ भनेर भन्न नसकिने निर्देशक पराजुलीको भनाइ छ। कार्यालयको धारणा अब सिस्टम अपग्रेड गर्नुपर्छ भन्ने रहेको उनले बताए।
यसअघि तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले फेमिस प्रणाली सुधारका लागि भन्दै वैदेशिक रोजगार कल्याणकारी कोषबाट १० करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेका थिए। तर नियमविपरीत कोषको पैसा दुरूपयोग गर्न लागेको भन्दै चौतर्फी विरोध भएको थियो। पछि अख्तियारले रोकिदिएको थियो।
अहिलेका श्रममन्त्री डोलप्रसाद (डिपी) अर्यालले भने प्रणाली सुधार गरेर एक घण्टामै श्रम स्वीकृति दिन सकिने व्यवस्था मिलाएको भन्दै कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए।