कोरियामा काम गरेर फर्किएका नेपालीहरूलाई देशभित्रै पुन:एकीकरण गर्न नेपाल सरकार र कोरिया सरकारको पहलमा 'के हामी' परियोजना अघि सारिएको छ।
फर्किएपछि उद्यमशीलताको विकास, रेमिटेन्सको सदुपयोग जस्ता विषयमा जानकारी गराइ पुनःएकीकरण गर्ने उद्देश्यले ८० लाख अमरिकी डलर (एक अर्बभन्दा बढी नेपाली रूपैयाँ) को कार्यक्रम अघि सारिएको हो।
खुसी प्रवास, खुसी जीवन उद्देश्यले यो कार्यक्रम सुरू गरिएको इपिएस सेन्टर नेपालका प्रमुख किम खिसुले बताए।
'कोरियामा महत्त्वपूर्ण काम गरेर फर्केकोमा नेपाली श्रमिकहरूलाई धन्यवाद। नेपालीले कोरियाको विकासमा निकै ठूलो योगदान पुर्याउनु भएको छ। फर्किएपछि नेपालको विकासमा पनि काम गर्नुहुन्छ भन्ने विश्वास लागेको छ,' उनले भने।
दक्षिण कोरियाली विदेश मन्त्रालय अन्तर्गतको सरकारी विकास सहायता एजेन्सी (कोइका)का देशीय निर्देशक कोङ्ग मुहनले कोरिया जानेका लागि तालिम दिनेदेखि गएर फर्केकाहरूको पुनःएकीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाए।
फेरि नेपालमा बसेर काम गर्न सहज होस् भन्ने हाम्रो उद्देश्य हो। कमाएको पुँजी र सीप नेपालमा प्रयोग गर्न सहज होस् भन्ने पनि हाम्रो उद्देश्य हो, उनले भने।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयका सचिव घनश्याम उपाध्यायले नेपालको विकास प्रक्रिया र जनशक्ति विकासमा कोरियाले महत्वपूर्ण योगदान पुर्याइरहेको बताए।
'कोरियाले नेपाल र नेपालीलाई माया गर्छ। नेपालीले पनि कोरिया र कोरियालीलाई माया गर्छौं। पुनःएकीकरणको कार्यक्रम सुरू भएको र यसमा सहकार्य गर्न पाएकोमा धेरै खुसी लागेको छ,' उनले भने।
नेपालीहरूले कोरियाको ज्ञान, सीप, अनुशासन सिकेर त्यसलाई व्यवहारमा लागू गरेको उनले बताए।
रोजगार अनुमति प्रणाली (इपिएस) शाखाकी निर्देशक मैयाँ कँडेलले कोरियाबाट फर्केपछि त्यहाँको सीप र पुँजीको सदुपयोग हुने गरी पुनःएकीकरण कार्यक्रम अघि सारिएको बताउँछिन्। उनका अनुसार यो कार्यक्रम सन् २०२४ देखि २०२८ सम्म रहनेछ।