श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमिकहरूको समस्या समाधान र श्रम बजारमा सुधार ल्याउनका लागि भन्दै 'श्रमाधान' योजना सुरू भएको घोषणा गरेका छन्।
पहिलो कार्यकाल २०७९ माघमा पनि उनले श्रमाधान सार्वजनिक गरेका थिए। उनले २४सै घण्टा श्रमिकका समस्या सुनुवाई तथा सम्बोधनका लागि त्यसअघिको कल सेन्टरलाई श्रम सहायता केन्द्र श्रमाधान नाम दिइएको बताएका थिए।
उनले त्यसबेला ६ महिनाभित्र श्रमाधान मोबाइल एप सार्वजनिक गर्ने र स्मार्ट फोन प्रयोगकर्ता श्रमिकहरूले आफ्ना उजुरी गुनासा मोबाइल एपबाटै टिपाउन सक्ने व्यवस्था गर्ने बताएका थिए।
त्यसबेला उनी पदबाट बाहिरिएसँगै यो योजना अघि बढ्न सकेको थिएन।
अहिले फेरि बृहत र व्यवहारिक योजनाका रूपमा यो कार्यक्रम अघि सारिएको मन्त्री अर्यालले बताए।
यो योजनाले नेपाली नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य छ।
'श्रमाधानको पहिलो चरणमा सातवटा क्षेत्रहरूसँग सम्बन्धित कार्यक्रमहरू समावेश गरिएका छन्। इन्द्रेणीका सात रंगहरूसँग मेल खाने गरी प्रत्येक कार्यक्रमलाई एक विशेष रंगसँग जोडिएको छ,' उनले भने।
करिब दुई महिनाको अध्ययनपछि निजी क्षेत्र, ट्रेड युनियन लगायत सबै सरोकारवालासँगको छलफलपछि यो योजना सार्वजनिक गरिएको मन्त्री अर्यालले बताए।
'हामीसँग श्रमिकको गुनासो सुन्ने कलसेन्टर थियो। यसले मात्रै पुग्ने देखिएन। समस्याको सम्बोधन गर्ने गरी हामीले श्रमाधान सुरू गरेका हौँ,' उनले भने।
श्रमाधानले अब समस्या सम्बोधनका साथै अवकाश प्राप्त श्रमिकहरू तथा वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूलाई पुनःएकीकरण समेत गर्ने उनको भनाइ छ। श्रमाधानले विभिन्न सात कार्यक्रम बनाएर श्रमाधानमार्फत् काम गर्ने योजना अघि सारेको छ।
यस्ता छन् श्रमिकको समस्या समाधान र श्रम बजारमा सुधार ल्याउनका लागि श्रमाधानमार्फत् गर्ने भनिएका सात काम
सेकेण्ड इनिङ्स 'अवकाशपछिको आरम्भ'
यो योजनाअन्तर्गत वैदेशिक रोजगारीबाट नेपाल फर्किएका र नेपालमै अवकाश प्राप्त श्रमिकहरूको सीप, श्रम र अनुभवलाई पुनः सक्रिय बनाउन मद्दत गर्ने मन्त्रालयको भनाइ छ।
यस कार्यक्रमले सेवानिवृत्त व्यक्तिहरूलाई आफ्नो अनुभव र कौशललाई प्रयोग गरी नयाँ रोजगारी, स्वयमसेवा तथा उद्यमशीलताका विभिन्न अवसरहरूमा संलग्न हुन सहयोग पुर्याउने उल्लेख गरिएको छ। यसका लागि केही कामको सुरूआत भइसकेको मन्त्री अर्यालले बताए।
रोजगार बैंक 'पेशागत यात्राको सहयात्री'
श्रमाधान रोजगार बैंकले रोजगारदाता र रोजगारी खोज्ने बीचका बहुआयामिक पक्षको समन्वयात्मक भूमिका निर्वाह गर्नेछ। यसले आन्तरिक र विश्व श्रम बजारमा नेपाली श्रमिकको सुव्यवस्थित, सबल र बृहत प्रतिनिधित्व गर्दै रोजगारीका अवसरहरूलाई व्यापक बनाउने काम गर्ने मन्त्री अर्यालले बताए।
उनका अनुसार यस कार्यक्रमले श्रमिकहरूलाई श्रम बजारमा प्रतिस्पर्धी हुन आवश्यक कौशलको विकास तथा पेशागत उन्नतिका लागि चाहिने स्रोत र साधन उपलब्ध गराउने छ।
समता
'विविधतामा एकता श्रममा समता' नाराका साथ सुरू गरिएको यो कार्यक्रमले श्रमिकहरूमा समानताको प्रत्याभूति गर्ने मन्त्री अर्यालले बताए। श्रम क्षेत्रमा लैङ्गिक भौगोलिक वर्गीय जातीय तथा अन्य कारणले मूलधारमा आउन नसकेका नागरिकहरूको पहिचान यो कार्यक्रमले गर्नेछ।
श्रमको उच्च सम्मान गर्ने संस्कृतिको विकास गर्ने र श्रमको प्रक्रिया वा अन्य चरणमा व्यक्तिगत हक तथा अधिकार सुनिश्चित गर्ने मन्त्री अर्यालले बताए।
'यसले विशेष आवश्यकता रहेको वर्ग तथा समुदायको हकमा खास सुविधा प्रदान गरेर समानताको प्रत्याभूति दिने कुरालाई समेट्छ,' उनले भने।
ल
श्रमाधानले अर्को 'ल' नामक कार्यक्रम पनि गर्ने छ। यो कार्यक्रम श्रमसम्बन्धी कानुन सबैले जानुन भन्ने नाराका साथ अघि बढाइने मन्त्रालयले जनाएको छ। श्रमिकहरूलाई उनीहरूका कानुनी अधिकारहरू र कर्तव्य बुझाएर श्रमको यात्रामा कानुनी रूपमा सुरक्षित बनाउने कार्यक्रम अघि सारिएको मन्त्री अर्यालको भनाइ छ।
'यस कार्यक्रमले श्रमिकहरूलाई श्रम कानुनका विभिन्न पक्षहरूमा सुसूचित गराइ भविष्यमा हुनसक्ने श्रम विवाद र यसका अदालती प्रक्रियाका लागि तयार गराउँछ। यो कार्यक्रम विशेषगरी श्रमिकहरूको कानुनी ज्ञानलाई बढाउने र कार्यस्थलमा सामना गर्नुपर्ने चुनौतीहरूलाई सहजपूर्वक समाधान गर्न मद्दत पुर्याउने धेयका साथ ल्याइएको हो,' उनले भने।
कनेक्ट
भोलिको तयारी आजैबाट गर्ने गरी कनेक्ट कार्यक्रम अघि सारिएको छ। विश्वमा हरेक दिन बद्लिँदो श्रम बजारलाई मध्येनजर गर्दै यो कार्यक्रम अघि सारिएको मन्त्रालयले बताएको छ।
अहिलेको बदलिँदो परिस्थितिमा नेपालका श्रमिकलाई विश्व श्रमिक बजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाइने योजना मन्त्रालयको भएको मन्त्री अर्यालले बताए।
'विश्व आर्टिफिसियल इन्टेलिजेन्समा गइसक्यो। ग्लोबल ट्रेण्ड र चेन्जमा आधारित भएर श्रमको नयाँ विविधतासँग जोड्नु श्रमाधान कनेक्ट कार्यक्रमको उद्देश्य हो,' उनले भने, 'यो कार्यक्रम नेपालबाट विदेश जाने श्रमिक, विदेशमा काम गरिरहेका श्रमिक र गैरआवासीय नेपालीहरूलाई एउटै धागोमा जोडेर नेपालीहरूको दक्षता र विज्ञता विकासमा आधारित हुनेछ।'
साथ
श्रमाधानको 'साथ' कार्यक्रम सरकारले हामीसँगै छौं भन्ने आभास दिलाउने गरी लागू गरिनेछ। यो कार्यक्रम देशभित्र र विदेशमा काम गर्ने श्रमिकहरू र उनीहरूका परिवारको मानसिक स्वास्थ्यसँग सम्बन्धित हुनेछ।
यो कार्यक्रममार्फत श्रमिकको तनाव व्यवस्थपान, मनोसामाजिक सहयोग गरिनेछ। श्रमिकको परिवारको पनि मानसिक स्वास्थ्यसम्बन्धी समस्या समाधानको काम गर्ने योजना छ।
कल सेन्टर
श्रमाधान योजना अन्तर्गतको यो कार्यक्रममा अहिले सञ्चालनमै रहेको कल सेन्टरलाई थप व्यवस्थित गरिनेछ। कल सेन्टरमा प्राप्त समस्याको तत्कालै सुनुवाई हुने मन्त्री अर्यालले जानकारी दिए।
'श्रमाधान कल सेन्टरले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुर्याएर समाधान गर्ने सुविधा दिनेछ,' मन्त्री अर्यालले भने।
मन्त्रालयका सचिव घनश्याम उपाध्यायले श्रमिकका समस्या पटक–पटक दोहोरिइरहने हुँदा समाधानका लागि निरन्तर काम गरिरहने बताए। श्रमिकका समस्या समाधान गरेर उत्पादकत्व वृद्धि गरी जीवनस्तर सुधारका लागि सरकारले काम अघि सारेको उनको भनाइ छ।
कुनै गुनासो भए मन्त्रालयको श्रमाधान कलसेन्टरमा राख्न पनि उनले आग्रह गरे। मन्त्रालयको श्रमाधान कलसेन्टरको फोन नम्बर ११४१ मा निःशुल्क गुनासो राख्न सकिन्छ। अनलाइन सहायताका लागि ९८५१३४७२२२मा सम्पर्क गर्नु सकिन्छ।