काठमाडौंका शिरीष तामाङले वैदेशिक रोजगारीमा जान राहदानी (पासपोर्ट) बनाएको एक वर्ष भयो।
पहिलो पटक हातमा पासपोर्ट पर्दा शिरीषको मन खुसीले भरिएको थियो। अर्कोतिर अब देश छाडेर जानुपर्ने भयो भनेर आँखा पनि भरिए।
'आबुई, मुटु पो फुलेको थियो! पासपोर्ट सुम्सुम्याउँदै रोएको थिएँ,' उनले भने।
पासपोर्ट हात परेपछि उनले पहिलोपटक दुबईस्थित केएफसीमा वेटर कामका लागि अन्तर्वार्ता दिएका थिए। त्यो अन्तर्वार्ता लिने व्यक्तिले उनको पासपोर्ट नियाले। अनि अनुहारतिर आँखा डुलाए।
'वाट्स योर जेन्डर' उनले शिरीषलाई प्रश्न गरे।
'आइएम फिजिकल्ली वुमन, बायोलोजिकल्ली म्यान' शिरीषको जबाफ थियो।
उनको जबाफपछि कम्पनीका मान्छेले 'हाम्रोमा यस्तो मान्छे लैजाँदैनौं' भने। शिरीषलाई सिधै अस्वीकार गरिदिए। शिरीषको मन अमिलो भयो। उनी अनुहार खिस्रिक्क पारेर त्यहाँबाट फर्किए।
कुनै न कुनै मुलुकले त कामका लागि कसो नलैजाला भन्ने आश राखे। कुवेत लगायत विभिन्न मुलुकका लागि अन्तर्वार्ता दिए।
'एक वर्षमा करिब १७ वटा अन्तर्वार्ता दिएँ। जति अन्तर्वार्ता दिए पनि लुक्स भएन भन्छ। तपाईंको पासपोर्ट हेर्दा लैंगिक पहिचानमा महिला छ, पुरूषजस्तो देखिनु हुन्छ, खासमा के हो भनेर सोध्छ। अनि मैले आफ्नो वास्तविक पहिचान भनेपछि फालिदिन्छ,' उनले भने।
शिरीषले खाडी मुलुकहरूमा घरको काममा असुरक्षा हुन्छ भन्ने सुनेका थिए। त्यही भएर उनले कम्पनीका विभिन्न काममा जान अन्तर्वार्ता दिएका थिए। एक जना दिदीले भिसा पठाइदिन्छु पनि भनेकी थिइन्।
'तर हामीलाई नलैजाने रहेछ। भिसा नै लागेन,' उनी भन्छन्, 'हामीले गर्दा उनीहरूको समाजको चेलीबेटी बिग्रिन्छ भनेर हामीलाई प्रवेश नै नदिने रहेछ। हामी दुःख गर्न जाने हो। अरूका छोरीचेली बिगार्न जाने त होइन नि। तर के गर्नु अवसर नै पाइँदैन।'
अहिले उनले पासपोर्ट सिरानीमुनि थन्काएका छन्। बेलाबेला निकालेर हेर्छन्। सुम्सुम्याउँछन्। पैसा यसै खेर गयो जस्तो लाग्छ उनलाई।
'पासपोर्टले अनुहार हम्किन्छु राख्छु,' उनले सुनाए।
शिरीष पारलैंगिक पुरूष (ट्रान्सम्यान) हुन्। पासपोर्टमा उनको नाम सृष्टि तामाङ छ। महिलाकै पहिचानमा वैदेशिक रोजगारीका लागि उनले अन्तर्वार्ता दिइरहेका छन्। परिचय पत्रमा पहिचान महिला नै छ। तर शरीरको हाउभाउ र स्वरूप पुरूषजस्तो देखिने भएकाले वैदेशिक रोजगारीका अवसरबाट बञ्चित हुनुपरेको उनी बताउँछन्।
परदेशको सपना पाल्नु शिरीषको रहर होइन, बाध्यता हो। देशमै केही गर्छु भनेर धेरै ठाउँमा काम खोजे। आफूले काम गर्न सक्छु जस्तो लागेका ठाउँमा जागिर खाने अवसर नै जुरेन। थुप्रै ठक्कर खाइसकेपछि बाध्य भएर परदेश सोच्नुपरेको उनी बताउँछन्।
उनले लोक सेवा पढ्न फारम पनि भरेका छन्। लैंगिक पहिचानमा उनी अन्यमा टिको लगाउँछन्। तर नागरिकता महिलाको नाममा छ। त्यसैले उनको फारम नै अस्वीकृत भएको उनले बताए। निजी क्षेत्रमा पनि आफ्नो सीप र क्षमताअनुसार काम नपाएको उनी बताउँछन्।
'म वेटरका लागि सक्षम छु। तर यहाँ सामान्य रेस्टुरेन्टमा पनि गाह्रो छ। धेरैको सोच वेटर महिला सिँगारपटार गरेर चिटिक्क परेको हुनुपर्छ भन्ने छ,' उनले भने, 'तर म त केही गर्दिनँ।'
समाजले गर्ने यस्तै व्यवहारबाट शिरीष दिकदार भएका हुन्।
कहिलेकाहीँ त उनलाई एकदमै चिच्याएर रून मन लाग्छ — आफ्नो पहिचान किन यस्तो भयो भनेर प्रश्न गर्छन्।
एक वर्षयता शिरीष पठाओ र इन्ड्राइभमा चालकका रूपमा काम गरिरहेका छन्। काम ठीकै छ, कमाइ राम्रै छ। तर बेलाबेला दुर्व्यवहार भोग्नुपर्दा उनलाई असह्य पीडा हुन्छ।
उनको चालक पहिचान परिचयपत्रकै आधारमा छ — महिला।
त्यसैले धेरै यात्रुले महिला चालक नै भन्ठान्छन्।
'खास गरी पुरूष यात्रुहरूले आवाज र लुक्स दाँजेर सिधै तिमी छक्का हो भनेर सोध्नुहुन्छ। अनि जताततै शरीर छोएर शोषण गर्नु हुन्छ। केटाकै जस्तो स्वर निकाल्यो भने नाम केटीको छ, तपाईं केटा पो आउनुभयो भन्नुहुन्छ। जे गरे नि सुख छैन,' उनले भने।
कहिलेकाहीँ उनी कसैले केही कुरा सोधे पनि नसुनेझैं चुपचाप काम गर्छन्। बोल्नै पर्ने कुरामा त चुप लागेर भएन। बोल्नै परे बलियो आवाज निकालेर 'हो म यस्तै हो हजुर' भन्छन्।
शिरीष अहिले जम्मा २२ वर्षका भए। नागरिकता र पासपोर्टमा भने उमेर २५ वर्ष छ। महिला यौनांग लिएर जन्मिएका उनले १७ वर्षको उमेरमा मात्रै आफ्नो पहिचान फरक हो भन्ने महसुस गरेका थिए।
हुन त उनलाई कक्षा ८ पढ्दादेखि नै आफ्नो स्वभाव अरू केटी साथीको भन्दा फरक भएको सम्झना छ। त्यो बेलैदेखि उनलाई केटीहरू मनपर्थ्यो। राम्री लाग्थ्यो। उनीहरूसित आकर्षित हुन्थे।
साथीहरू भने केटाहरू नै थिए। केटाहरूसँगै उनको कुरा मिल्थ्यो। सँगै खेल्थे पनि।
आफ्नो आनीबानी देखेर उनी आफैं अचम्मित हुन्थे। किन त्यस्तो भइरहेको छ भन्ने कौतुहलता लाग्थ्यो।
हुर्किँदै जाँदा शिरीषले पारलैंगिकताका बारेमा सुने। त्यसपछि इन्टरनेटमा चाखका साथ खोजबिन गरी पढ्न थाले। भिडिओहरू हेर्न थाले। उनले त्यस्ता भिडिओ हेर्दा दिदीहरूले भने उनलाई गाली गर्थे।
'तँ किन यस्ता भिडिओ हेर्छेस्, तँलाई पनि केटा बनेर हिँड्न मन लाग्छ हो?' भनेर हकार्थे।
जबाफमा शिरीष भन्थे, 'हो त, मलाई केटा भएरै हिँड्न मन लाग्छ।'
शिरीषले आफूलाई त्यो बेलासम्म पनि बुझिसकेका थिएनन्। बरू आफूले किन उल्टो सोचिरहेको छु भनेर तनाव हुन्थ्यो।
एसएलसी दिएपछि उनले एउटा रेस्टुरेन्टमा वेटरको काम थाले। त्यहाँ काम गरिरहँदा मितिनी नेपाल भन्ने संस्थाका सञ्चालक लक्ष्मी घलानसँग भेट भयो। उनीमार्फत नै शिरीषले आफ्नो पहिचानबारे बुझे। खुलेर हिँड्न प्रोत्साहित भए।
त्यस बेला उनको उमेर १७ वर्ष थियो। उनले पहिलोपटक कपाल काटे। आफूलाई ऐनामा हेरे — खुसीको सीमा रहेन। वर्षौंको बोझ मनबाट गएजस्तो भयो!
शिरीषले भित्रैदेखि चाहेअनुसार हिँड्न पाए। तर उनका दिदीहरूले यो पहिचान स्वीकार गरेनन्।
'मेरो पहिचान लुकाउन धेरै दबाब दिनुभयो,' उनले भने, 'तँ पागल भइस्, जँचाउन पाटन लैजानुपर्छ भनेर कति पिट्नुभयो।'
शिरीषले भने आफूलाई बुझिसकेका थिए। दिदीहरूको कुरै सुनेनन्। बरू झन् खुलेर हिँडे।
तर उनी एक्लिए। उनलाई आमाको झलझली याद आयो। उनी १६ वर्षको छँदा आमा बितेकी थिइन्। बुबाको त अनुहारै याद छैन। शिरीष सात वर्षका छँदै बितेका थिए।
'म खुल्दा मेरी आमा अगाडि हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला भन्ने लाग्यो। छोरी भएर जन्मिएकी थिएँ। छोरा पाउँदा त उहाँको खुसीको सीमा हुन्थेन होला,' उनी सुनाउँछन्।
यहाँ पनि एक्लो सरह भएकाले उनलाई बरू विदेशै जान मन छ — कमाइ हुने, समाजको सोच र तिरस्कारबाट पनि फुत्किने!
तर भनेजस्तो भएको छैन। अब उनी विदेश गएर होटल म्यानेजमेन्टमा स्नातक पढ्न चाहन्छन्। प्लस-टुमा पनि यही विषय पढ्न मन थियो। तर पर्याप्त पैसा भएन। कम्प्युटर साइन्स पढे।
'अझै धेरै पढ्न सकेको भए आइटीमा काम पाइँदो हो। पढ्न सकिएन,' उनी भन्छन्, 'वैदेशिक रोजगारीमा पनि जान सकिएन, अब यही पठाओ चलाएर पैसा जोहो गर्छु। मिल्यो भने ऋण खोजेर भए पढ्न विदेश जान्छु।'