भुइँमा बिच्छाइएको रातो कार्पेटमाथि लस्करै बसेका थिए केही महिलाहरू। उनीहरू सालको पात जोडेर दुनाटपरी गाँस्न व्यस्त थिए। नेपथ्यमा मधुर आवाजमा गीत बज्दै थियो।
यो दृश्यले गाउँघरमा हुने बिहे, ब्रतबन्ध वा कुनै धार्मिक–सांस्कृतिक समारोहको झलक दिएको थियो।
तर दृश्य थियो रूपन्देहीको सिद्धार्थ उद्योग वाणिज्य संघले लुम्बिनी राष्ट्रिय महोत्सवका अवसरमा भैरहवामा यही आइतबार आयोजना गरेको दुनापटरी गाँस्ने प्रतियोगिताको।
सहरी क्षेत्रमा बिहेमात्रै होइन, ब्रतबन्ध पनि होटल र पार्टी प्यालेसमा गर्ने देखासिकी बढेपछि टोलछिमेकका महिलाहरू जम्मा भएर दुनाटपरी गाँस्ने परम्परा बिरानो हुन थालेको छ।
ग्रामीण क्षेत्रमा भने बिहे, ब्रतबन्ध, पूजाआजा, चाडपर्व, पितृकार्य इत्यादिमा महिलाहरू जम्मा भएर दुनाटपरी गाँस्ने चलन छँदैछ।
वनजंगलबाट सालको पात टिपेर ल्याउने र बाँसको सिन्काले गाँसेर दुनाटपरी गाँस्ने चलन छ। गाउँमा हुने भोजभतेर, मेलापर्व र धार्मिक–सांस्कृतिक गतिविधिमा दुनाटपरी प्रयोग गरिन्छ। थालको सट्टा टपरी, सानो कचौराको सट्टा दुना र अलिक ठूलो कचौराको सट्टा बौता प्रयोग हुन्छ।
सहरी क्षेत्रमा भने यस्तो चलन लगभग हाइसकेको छ।
महोत्सव आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघका अनुसार बढ्दो आधुनिकता र नयाँ प्रविधिको विकाससँगै हराउन थालेको दुनाटपरी र बौता गाँस्ने संस्कृतिमा जागरण ल्याउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो।
उहिले बजारमा प्लास्टिक र कागजका कामचलाउ सामान पाइँदैनथ्यो। धातुका भाँडावर्तन पनि सीमित हुन्थे। यस्तो समयमा भोजभतेरमा दुनाटपरी चलाउने परम्परा बसेको बुढापाकाहरूको भनाइ छ।
आधुनिक प्रविधिमा धातुका भाँडावर्तन पर्याप्त पाइने, प्लास्टिक र कागजका समेत प्लेट पाइने भएपछि पातका दुनाटपरीको प्रयोग हराउँदै गयो।
आजकाल बजारमा मेसिनबाट बनेका पातका दुनाटपरी पनि किन्न पाइन्छ। प्लास्टिकका भाँडाको प्रयोग बढ्दो छ।
परिणामस्वरूप परम्परागत रूपमा बनाइने दुनाटपरी लोप हुन थालेको छ।
यस्तो अवस्थमा नयाँ पुस्तालाई दुनाटपरीको महत्त्वबारे थोरै भए पनि जानकारी दिने उद्देश्यले प्रतियोगिता आयोजना गरेको महोत्सव आयोजक एक अधिकारीले बताए।
प्रतियोगितामा भैरहवा र आसपासका २३ जना महिलाले भाग लिएका थिए। पात र सिन्का आयोजक संस्था नै उपलव्ध गराएको थियो।
सहभागी महिलाहरूले प्रतियोगिताले आफ्नो परम्परा सम्झना गराइदिएको भन्दै खुसी प्रकट गरे।
भैरहवाको अन्नपूर्ण टोलकी मिना पोखरेलले पहाड छोडेर तराई झरेपछि टपरी र बौता गाँस्ने अवसर पाएकी थिइनन्।
अर्घाखाँचीको ढिकुराबाट करिब १० वर्षअघि भैरहवा आएकी मिना पहाडमा हुँदा घर र छरछिमेकमा दुनाटपरी गाँस्न अघि सर्थिन्।
उनले पहाडमा हुँदाका दिन सम्झँदै भनिन्, ‘गाउँघरका दिदीबहिनीसँग दुनाटपरी गाँस्दा काममा सघाउ हुन्थ्यो। दुःखसुखको कुरा हुन्थ्यो। आपसी मित्रता बलियो बन्थ्यो।’
पाल्पाबाट भैरहवा बसाइँ सरेकी दुर्गा आचार्यले सहरी जीवनमा बिर्सिएको चलन आधा घण्टाको प्रतियोगिताले सम्झाइदिएको बताइन्। उनले आयोजक संस्थालाई धन्यवाद दिइन्।
उनले भनिन्, ‘पहाडमा छँदा घरमा चाहिने दुनाटपरी आफैँ गाँस्थौँ। भैरहवा बस्न थालेपछि बिर्सन थालेकी थिएँ। आज गाँस्न पाउँदा खुसी लाग्यो।’
प्रतियोगीले आधा घण्टा समय पाएका थिए। प्रतियोगीले टपरी, दुना र बौता गाँस्नु पर्थ्यो।
सिद्धार्थ उद्योग वाणिज्य संघकी सदस्य एवं महिला उद्यमी तथा हस्तकला समिति संयोजक पल्लवी न्यौपानेका अनुसार प्रतिस्पर्धामा सहिभागीमध्ये उत्कृष्ट तीन जना पुरस्कृत हुनेछन्।
दुनाटपरी र बौता गाँस्ने प्रतियोगिता एकछिनको रमाइलोका लागि मात्र नभई परम्परा र रीतिरिवाज जगेर्ना गर्दै नयाँ पुस्तामा उद्यमशीलता विकासका लागि भएको उनले बताइन्।
उनले भनिन्, ‘यो प्रतियोगिता सहभागीलाई उत्कृष्ट घोषणा गर्न र उपाधि दिनमात्रै होइन। नेपालीको संस्कृति, परम्परा र रीतिरिवाज संरक्षण गर्दै परम्परागत सिप नयाँ पुस्तामा हस्तान्तरण गर्न सघाउनका लागि पनि हो।’
हिन्दु परिवारमा सालको पातको दुनाटपरी सबै किसिमका धार्मिक–सांस्कृतिक कामका लागि शुद्ध मानिन्छ।
दुनाटपरीको प्रयोग हराउँदै जाँदा प्लास्टिकको प्रयोग बढ्दो छ। यसले एकातिर ठूलो धनराशी खर्च हुने गरेको छ भने अर्कोतिर वातावरण प्रदूषण बढाएको छ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने प्लास्टिक र कागजभन्दा सस्तो पर्ने र वातावरणअनुकूल समेत हुने भएकोले दुनाटपरी गाँस्ने कामलाई व्यवसायका रूपमा विकास गर्नु पर्ने बताउँछन्।
भन्छन्, ‘वनजंगलमा सजिलै पाइने सालको पात किन्नै परे पनि सस्तै पाइन्छ। फुर्सदको बेला घरमै दुनाटपरी गाँस्न सकिन्छ। यसैलाई व्यवसाय बनाउन सकिन्छ।’