वैदेशिक रोजगारमा गएका नेपालीहरूले पछिल्लो १४ वर्षमा ८४ खर्ब ६६ अर्ब रेमिटेन्स पठाएका छन्। राष्ट्र बैंकको तथ्यांकले यस्तो रेमिटेन्स हरेक वर्ष बढ्दै गएको देखाउँछ।
विदेशमा कार्यरत नेपालीहरुले गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै नौ खर्ब ८६ अर्ब रेमिटेन्स पठाएका छन्। यो १४ वर्षयताकै उच्च हो।
रेमिटेन्सले वार्षिक नेपालको कुलगार्हस्थ उत्पादन (जिडिपी) को २५ प्रतिशतसम्म हिस्सा ओगट्दै आएको छ। रेमिटेन्सको यो पाटो हेर्दा निकै सुखद् देखिन्छ।
तर नेपालले रेमिटेन्ससँगै ठूलो सामाजिक मूल्य पनि चुकाउँदै आएको छ। वैदेशिक रोजगार सुरक्षित र व्यवस्थित नहुँदा कतिपयले विदेशी भूमिका अकालमा ज्यान गुमाउनु परेको अवस्था छ। नेपालले रेमिटेन्ससँगै ठूलो संख्यामा शव बुझ्दै आएको छ।
विदेशमा कामको क्रममा ज्यान गुमाउनेहरूको संख्या हरेक वर्ष बढ्दै गइरहेको देखिन्छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार १४ वर्षमा कामको खोजीमा ५० लाख ८३३ युवा विदेशिएका छन्। गएकामध्ये १० हजार नौ सय ३२ जना नेपालीहरू विभिन्न कारणले ज्यान गुमाएर बाकसमा फर्किएका छन्।
आर्थिक वर्ष २०६५/६६ मा ७८ जनाले ज्यान गुमाएका थिए। गत आर्थिक वर्षमा मात्रै विदेशमा एक हजार चार सय ७९ जनाले ज्यान गुमाएका छन्।
कामकै क्रममा अंगभंग भएर फर्किनेहरुको संख्या पनि निकै ठूलो छ। १४ वर्षको अवधिमा दुई हजार १२५ जना अंगभंग भएर फर्किएको अवस्था छ। यो संख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरूको मात्रै हो।
अवैध प्रक्रियामार्फत वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने तथा अंगभंग भएर फर्किनेहरूको संख्या अझ ठूलो छ। यस्ता श्रमिकहरूको तथ्यांक बोर्डले समेटेको छैन।
वैदेशिक रोजगारमा जानेको संख्या १४ वर्षयताकै उच्च
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारमा जानेको संख्या पनि १४ वर्षयताकै उच्च देखिएको छ।
आर्थिक वर्ष २०६५/६६ मा दुई लाख १९ हजार ९६५ जना युवाहरू रोजगारीमा गएका थिए।
२०६६/६७ मा दुई लाख ९४ हजार ९४ जना विदेशिएको तथ्यांकले देखाउँछ। त्यस्तै आर्थिक वर्ष २०६७/६८ मा तीन लाख ५४ हजार ७१६ जना विदेशिएको तथ्यांकले देखाउँछ।
आर्थिक वर्ष २०६८/६९ मा तीन लाख ८४ हजार ६६५ जना विदेशिएका छन्। आर्थिक वर्ष २०६९/७० मा यो संख्या बढेर चार लाख ५० हजार ८८९ पुगेको छ। २०७०/७१ मा पाँच लाख २७ हजार ८१४ विदेशिएको तथ्यांकले देखाउँछ।
आव २०७१/७२ मा केही घटेको देखिएको छ। उक्त वर्ष चार लाख ९९ हजार १०२ युवा कामको खोजीमा विदेशिएका छन्।
त्यसपछि भूकम्पका कारण लगातार वैदेशिक रोजगारमा जानेको संख्या घट्न थालेको विभागले बताएको छ।
आर्थिक वर्ष २०७२/७३ मा चार लाख तीन हजार १७४ नेपालीहरू वैदेशिक रोजगारमा गएको देखिन्छ। आर्थिक वर्ष २०७३/७४ मा तीन लाख ८३ हजार ४९३ युवा विदेशिएका छन् भने २०७४/७५ मा यो संख्या तीन लाख ५४ हजार ८२ पुगेको छ।
आर्थिक वर्ष २०७५/७६ विदेश जानेको संख्या अझ घट्न थालेको देखिन्छ। उक्त वर्ष दुई लाख ३६ हजार २०८ जना कामको खोजीमा विदेश पुगेको देखिन्छ।
२०७६/७७ कोभिड महामारीका कारण वैदेशिक रोजगारमा जानेको संख्या निकै घट्यो। उक्त वर्ष एक लाख ९० हजार ४५३ जना कामको खोजीमा विदेशिए। २०७७/७८ कोभिडको प्रभाव अझ देखियो उक्त वर्ष ७२ हजार ८१ जना युवाहरू मात्रै गए।
२०७८/७९ मा कोभिड महामारीको अवस्था केही सामान्य बन्दै गएपछि विदेश जानेको संख्या अत्यधिक देखिएको छ। गत आवमा छ लाख ३० हजार ९७ युवा कामको खोजीमा विदेशिएको देखिन्छ।
तालिकामा हेर्नुहोस् वैदैशिक रोजगारमा गएकाहरू, भित्रिएको रेमिटेन्स र मृत्यु तथा अंगभंग भएर फर्किएकाहरूको अवस्थाः
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिटेन्सले देशको अर्थतन्त्रमा ठूलो भूमिका खेलेको बताउँछन्।
'अहिलेसम्म हामी रेमिटेन्समै भरपर्नुपर्ने अवस्था छ। सोहीकारण बोर्डले वैदेशिक रोजगारबाट फर्केकालाई आर्थिक तथा सामाजिक पुनःएकीकरण गरी वैदेशिक रोजगारीमाथिको निर्भरतालाई हटाउन खोजेको छ,' उनले भने।
पुनः एकीकरणमार्फत विदेशमा सिकेको सीप, प्रविधि तथा विदेशमा कमाएको पुँजी नेपालमा लगानी गर्ने योजनाा सरकारको रहेको उनले बताए। त्यस्तै विदेशबाट शारीरिक तथा मानसिक समस्या परेर फर्किएकालाई पनि सरकारले सहजीकरण गरिदिने उनले बताए।
मृतकका हकवालालाई एक वर्षमा ८३ करोड ६० लाख रूपैयाँ आर्थिक सहायता
बोर्डले गत आर्थिक वर्षदेखि रोजगारीको क्रममा मृत्यु तथा अंगभंग भएकालाई आर्थिक सहायता अनलाइन प्रणालीबााट भुक्तानी गर्न सुरू गरेको छ।
स्थानीय तहसँगको समन्वयमा अनलाइन प्रणालीबाट सिधै पीडित वा मृतक कामदारको नजिकको हकदारको बैंक खातामा भुक्तानी गर्न थालिएको हो।
गत आवमा श्रम स्वीकृति लिएर गएका श्रमिकहरूमध्ये मृत्यु भएका एक हजार चार सय ७९ जना नेपाली श्रमिकका हकवालालाई बोर्डको सचिवालयले कुल ८३ करोड ६० लाख ९९ हजार आर्थिक सहायता प्रदान गरेको छ।
त्यस्तै कुल २४५ जना बिरामी तथा अंगभंग भएका श्रमिकलाई स्वास्थ्य उपचार खर्चबापत कुल नौ करोड १७ लाख ७५ हजार रूपैयाँ प्रदान गरिएको बोर्डले जनाएको छ। वैदेशिक रोजगारमा रहेका नौ जना श्रमिकलाई स्वास्थ्य उपचारका लागि चार लाख ३० हजार प्रदान गरिएको बोर्डले बताएको छ।
कोभिड-१९ का कारण विदेशमा ज्यान गुमाएका र सोही मुलुकमा अन्त्येष्टि गरिएका ३८ मृतकका हकवालालाई बोर्डले प्रतिपरिवार ५० हजार सान्त्वना राहत उपलब्ध गराएको छ। सान्त्वना राहतवापत कुल १९ लाख प्रदान गरिएको बोर्डले जनाएको छ।
गत आर्थिक वर्षमा ७९५ कामदारको शव सम्बन्धित घाटसम्म पुर्याउन बोर्डले २ करोड ६३ लाख ५१ हजार खर्चिएको छ।