छिमेकी मुलुक भारतमा कोरोना महामारी रोगले दोस्रो भेरियन्टको लहर फैलिदै गएपछि भारतका विमानस्थलबाट उडेका जहाजलाई अरब (खाडी) मुलुकहरूले प्रवेशमा प्रतिबन्ध लगायो।
अरब मुलुकहरू बिशेष गरेर साउदी अरबमा रोजगारीमा जाने भारतीय कामदारहरु प्रभावित भए। भारतीय विमानस्थलबाट उडान हुन नसक्ने अवस्था आएपछि स्थल र हवाई मार्ग हुँदै हजारौं भारतीय कामदार नेपाल प्रवेश गर्न थाले ।
काठमाडौंका केही क्षेत्रका होटलहरु अरब जाने भारतीय कामदारले भरीभराउ हुँदै गयो। नियमित उडान भइरहदा २५-३० हजारमा पाइने हवाई टिकट भारतीय कामदारको चाप बढेसगैँ ७० हजार सम्म पुग्यो। काठमाडौं लगायत नेपाल भित्र कोभिडको नयाँ भेरियन्ट फैलिएको थिएन।
भारतबाट थुप्रै भारतीयहरु नेपाल प्रवेश गर्ने क्रम बढदै गएको कारण नेपालमा कोभिडको नयाँ भेरियन्ट फैलन थाल्यो ।
नेपाल सरकारले २०७८ वैशाख २३ बाट भारत बाहेक सबै मुलुकहरूमा हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने निर्णय गर्यो। नेपालबाट अरब जान लागेका नेपाली कामदार काठमाडौं र नेपालका विभिन्न सहरमा रोकिए।
उता भारतबाट काठमाडौं आइ उडानको पर्खाइमा रहेका भारतीय कामदारहरु समेत काठमाडौंमा रोकिन पुगे।
नेपालस्थित भारतीय दूतावासले काठमाडौंमा अडकिएका भारतीय कामदारलाई साउदी अरबको विभिन्न शहरमा चार्टर उडान मार्फत पठाउन उडान अनुमति माग गरि नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई २१ मे मा KAT/CON/415/1/2021 को अनुरोध पत्र पठाएको देखिन्छ।
परराष्ट्र मन्त्रालयले ०७८/०१/२९ गते PRO/5/077/078/30 च. नं ८४६६ को पत्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरे पश्चात् संस्कृति तथा पर्यटन मन्त्रालयले मिति २०७८/०१/३० गते च. नं ८४० हिमालयन एअरलाइन्सलाइ साता को तीन चार्टर उडान र च.नं ८४१ को पत्र अनुसार नेपाल वायुसेवा निगमलाई साताको सात चार्टर उडान साउदी अरब एकतर्फि यात्रु बोक्ने गरि नेपाल नागरिक उडडयन प्राधिकरण बबरमहललाई पत्राचार गरेको देखिन्छ ।
महँगो टिकटको चार्टर फ्लाइटको कमिशन मन्त्रालयसम्म पुग्छ ?
खाडी मुलुकहरूको उडान समय लगभग साढे चार देखि पाँच घण्टा रहेको छ। नियमित उडान हुँदा सामान्य अबस्थामा एकतर्फी टिकटको मूल्य पच्चीस देखि तीस हजार पर्ने गर्दछ ।
चार्टर उडान गर्दा यात्रुले दोहोरो मूल्य तिर्नु पर्ने नियम बमोजिम टिकट मूल्य पचास देखि साठी हजार भन्दा लाग्दैन । अर्को कुरा फर्कने क्रममा जहाज खाली हुने हुँदा यात्रुलाई खाने र पिउन लाग्ने खर्च समेत कम हुन आउँछ ।
जहाज खाली फर्कदा कार्गोका सामान बोक्न सके एअरलाइन्सलाई अर्को फाइदा हुन्छ। अहिले चार्टर फ्लाइटको टिकट मूल्य लगभग नब्बे हजार रहेको देखिन्छ ।
एक यात्रुबाट तीस हजार बढी पैसा लिएको हिसाबले दस हजार यात्रु चार्टर फ्लाइट मार्फत उडान गराएको खण्डमा थप करोडौं रकम ट्राभल एजेन्सीले कमाउने निश्चित छ। यो रकम विभिन्न माध्यम मार्फत मन्त्रालय पुग्छ? कि पुग्दैन? यो गम्भीर चासोको बिषय बनेको देखिन्छ।
अहिले पनि साताको दुई फ्लाइट मार्फत भारतबाट भारतीय कामदार काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरिरहेका छन। केही दिन होटेलमा बसेर पिसिआर रिपोर्ट बनाइ महँगो पैसा तिरेर चार्टर फ्लाइट चढ्दैछन।
सामान्य अवस्था भएको भए भारतीय नागरिक नेपाल आउनु र नेपालबाट जहाज चढेर कुनै मुलुक जानु बिरोध गर्नुपर्ने बिषय होइन । तर यो महामारीको बेला विश्वको सबै भन्दा बढी कोभिड फैलिएको र मृत्युदर उच्च रहेको मुलुकको नागरिक निर्बाध रूपमा नेपाल प्रवेश गराउनुको पछाडिको स्वार्थ चार्टर फ्लाइटबाट कमाउने उद्देश्य नै हो ।
नेपाली कामदारलाई पनि चार्टर फ्लाइट सुबिधा, वैदेशिक रोजगार (म्यानपावर) व्यवसायीको माग चार्टर फ्लाइट थियो?
वैशाख २३ गते अन्तर्राष्ट्रिय उडान बन्द गरिरहदा नेपाल सरकारले वैदेशिक रोजगार ब्यबसायीहरु वा नेपाल वैदेशिक रोजगार व्यावसायी संघसँग कुनै छलफल तथा परामर्श गरेन।
उडान टिकट प्राप्त भइसकेका कामदारको टिकट रद्द भएको छ । पुन: सो टिकटलाई एअरलाइन्सले मान्यता दिने नदिने चिन्ताको बिषय बनेको छ।
निशेधाज्ञा जारी भएपछि विशेष गरेर कतार जाने प्रक्रियाको अन्तिम चरणमा रहेका कामदारहरुको लागि काठमाडौंस्थित कतार भिसा सेन्टरमा महिना दिन लगाएर पाएको अपोइमेन्ट रद्द भएको छ। अर्को अपोइमेन्टको लागि कामदारले फेरि कति महिना कुर्नु पर्ने हो थाहा छैन ।
कतार प्रवेश पश्चात् क्वारेन्टिन बस्न अग्रिम बुकिङ हुनुपर्ने कतार सरकारको नियम अनुसार रोजगारदाता कम्पनीले आफ्नो कामदारको निम्ति भुक्तानी गरेको क्वारेन्टिन रकम गुमाएको सुनिन्छ ।
तर सरकारले आफ्नो नागरिकलाई बचाउन गरिएको निशेधाज्ञाको पूर्ण पालना गरि ब्यहोरेको घाटा मन भित्र नै राखेर एक शब्द बोलेनन।
रोजगारदाता कम्पनीले पठाएको भिसा अनुसार कामदार समयमा कम्पनी नपुग्दा खानु परेको गाली सहेर बसे । जव भारतीयलाई काठमाडौंबाट साताको दस चार्टर फ्लाइटको अनुमति दिएको बिषय बाहिर आयो ।
सामाजिक सन्जालहरुमा नेपालको आकाश भारतीयलाई मात्र प्रयोग गर्न दिएको असन्तुष्टि र बिरोध ब्यापक बन्दै गयो । पर्यटन मन्त्रालयका एक सह-सचिवसँग चार्टर फ्लाइटको बिषयमा हिजो कुरा गर्दा काठमाडौंमा अडकिएका भारतीयलाई दश फ्लाइटमा साउदी अरब जान अनुमति दिएको हो।
हरेक हप्ता दश फ्लाइट जाने होइन, पत्रमा लेखिएको भाषा अर्को अर्थ लाग्ने भएको रहेछ। हिमालयन साताको तीन र नेपाल एअरलाइन्स सात फ्लाइट प्रत्येक हप्ता जान पाउने होइन भन्नु भएको थियो तर अहिले नेपाली कामदार पनि चार्टर फ्लाइट प्रयोग गर्न पाउने गरि थप निर्णय आउनु भनेको चार्टर फ्लाइटबाट मन्त्रालयमा करोडौं पैसा पुग्ने पुष्टि भएको होइन र ?
यदि पैसाको खेल नभएको हो भने बैदेशिक रोजगार व्यवसायीले मागेको निरन्तर फ्लाइट नखोल्ने अनि चार्टर फ्लाइट मात्र खोल्नुको कारण के ?
गत वर्ष कोरोना महामारी शुरु हुँदा खाडी मलेसिया र अन्य केही मुलुकमा कार्यरत नेपाली श्रमिकहरु समस्यामा परे ।
कतिपय कामदारहरुलाई तत्काल उद्दार गर्नुपर्ने थियो तर त्यो नहुदाँ नेपाल सरकार आलोचित बन्नु परेको थियो। हरेक दिन करिब एक हजार नेपाली श्रमिकहरु आफ्नो करार अबधि समाप्त गरि स्वदेश फिर्ताको लागि विदेशी भुमिमा उडानको पर्खाइमा रहेको देखिन्छ ।
अन्तर्राष्ट्रिय उडान बन्द भएको कारण ती श्रमिकहरु बिना भिसा गैरकानुनी बन्न बाध्य हुने चिन्ता नेपाल सरकारले गर्नु जरुरी छ। अन्त्यमा सरकारको हरेक निर्णय नेपाल र नेपालीको हितमा केन्द्रीकृत हुनुपर्छ। राज्यले समस्या उब्जाउने होइन, समाधान र सहयोग गर्नु पर्दछ।
उनी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष हुन।