कोभिड महामारीका कारण लामो समयदेखि रोकिएको दक्षिण कोरिया रोजगारीको बाटो खुल्ला गर्न माग गर्दै युवाहरुले वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीलाई ज्ञापन पत्र बुझाएका छन्।
लामो समयसम्म कोरिया प्रवेश नपाएपछि उनीहरुले उचित मापदण्डसहित कोरिया रोजगारीमा जाने वातावरण सिर्जना गर्न माग गर्दै मंगलबार महानिर्देशकलाई ज्ञापन पत्र बुझाएका हुन्।
‘रोजगारदाताको छनोटमा परेर कोरिया जाने अन्तिम प्रकृयामा रहेको अबस्थामा कोभिडका कारण हामी गत फागुनदेखि अन्यौलमा छौँ। यतिका लामो समयसम्म पनि सरकारले कोरियाली सरकारसँग कुटनीतिक पहल नगर्दा हाम्रो रोजगारी अनिश्चित छ,’ ज्ञापन पत्रमा भनिएको छ।
युवाहरुको वर्षौंदेखिको मेहनत तथा लगानी र समयको महत्व सरकारले नबुझ्दा आफूहरु मारमा परेको उनीहरुको गुनासो छ।
धेरै श्रमिकहरुको कोरिया रोजगारी गुमिसकाले अन्य रोजगारी सुनिश्चतताका लागि सरकारले तत्काल पहल गर्नुपर्ने उनीहरुको माग छ।
‘धेरै श्रमिकहरुको रोजगारी गुमिसकेको छ। अन्य श्रमिकहरुको पनि रोजगारी गुम्ने खतरा छ। अब हाम्रो मेहनत, लगानी अनि समयको क्षतिपूर्ति कसले बेहोर्छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘हामी सरकार र सम्बन्धित निकायको गैरजिम्बेवारी पनले हतोत्साहित भएका छौं। लाखौं ऋण कसरी तिर्ने भनेर डिप्रेशनको मुखमा पुगेका छौँ।’
देशमा भनेजस्तो रोजगारी नहुँदा कोरियाको बाटो रोज्न बाध्य भएकाहरुलाई सकारले तत्काल बाटो खुल्ला गर्न पहल गर्नुपर्ने उनीहरुको माग छ।
कोभिड महामारीका कारण रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा पास गरेका ८ हजार बढी नियमित र २ हजार बढी कमिटेड श्रमिकहरु कोरिया जान पाएका छैनन्।