उद्योगी र श्रमिक बीचको तलव विवाद मिलेको छ।
रोजगारदाताहरुका संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आवद्व ट्रेड युनियन महासंघहरू बीच लकडाउन अवधिको श्रमिकको पारिश्रमिक भुक्तानी लगायतका विषयमा नेपाल सरकार समक्ष सिफारिश गर्न द्विपक्षीय सहमति भएको हो।
सहमती अनुसार उद्योग प्रतिष्ठानले २०७६ चैत्र महिनाको पारिश्रमिक भुक्तानीको हकमा लकडाउन अवधि समेतका लागि साविक वमोजिम पुरा पारिश्रमिक भुक्तानी गरिने, श्रमिकको पारिश्रमिक वारे नेपाल सरकारको निर्णयको सन्दर्भमा २०७७ वैशाख महिनाको लागि श्रमिकको ५० प्रतिशत पारिश्रमिक भुक्तानी गरी फरफारक गर्ने र २०७७ जेष्ठ महिनाको हकमा लकडाउनको कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पाउने पारिश्रमिकको ५० प्रतिशत मात्र भुक्तानी गर्ने सहमती भएको रोजगारदाता परिषदका सभापती चन्द्र प्रसाद ढकालले जानकारी दिए।
‘हामीले कुनैपनि पक्षलाई मर्का नपरोस भनेर लामो समयदेखि पहल गरिरहेका थियौ। आज निष्कर्षमा पुग्यौ,’ ढकालले सेतोपाटीसगँ भने।
यो सम्झौताले कुनैपनि श्रमिक रोजगारीबाट बन्चित हुनु नपर्ने संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष पुस्कर आचार्यले जानकारी दिए।
‘कुनै व्यवसायीले सबै कर्मचारीलाई काम दिन नसकेको अवस्थााम रोटेसनको आधारमा काम गर्न लगाउने सहमती छ। यसले गर्दा श्रमीकले साविक भन्दा थोरै भएपनि काम भने गर्न पाउछन्,’ उनले सेतोपाटीसगँ भने
सहमतिअनुसार असारदेखि पछि भने श्रमिकले जति काम गरे उति नै पारिश्रमिक पाउने छन्।