श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आफूमाथि लगाइएको भ्रष्टाचार आरोप प्रमाणित गर्न चुनौति दिएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत विनियोजित शीर्षकमाथि भएको छलफलमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आफूलाई भ्रष्टाचारको आरोप लगाउनेले प्रमाणित गरेर देखाउनुपर्ने बताए।
वैदेशिक रोजगार ऐनमा दुई वर्षमा लागतार १ सय जना कामदार पठाउन नसक्ने व्यवसायलाई खारेज गर्ने उल्लेख रहेको र उक्त व्यवस्थालाई कोभिड १९को असरका कारण पठाउन नसक्ने अवस्था आउने भन्दै संशोधन गर्न कार्यदल गठन गरी काम सुरु गरेको विषयमा आफूलाई व्यवसायीहरुसँग रकम लिएर संशोधन गर्न लागेको आरोप लगाइएको उनले स्पष्ट पारे।
उनले भने ‘एकजना माननीय सदस्यले व्यक्तिगत कुण्ठाले ग्रसित भई विभागीय मन्त्रीले व्यवसायीसँग पैसा लिएर ऐन संशोधन गर्न खोजेको कुरा उठाउनु भएको थियो। ऐन संशोधन गर्ने कार्य मन्त्रीले नभई संसदले गर्ने विषय समेत विर्सेर लगाइएको तथ्यहीन आरोपले सम्मानित संसद र स्वयम् माननियज्यूको गरिमामा आँच पुग्ने कुरामा ध्यानकर्षण गराउन चाहन्छु।’
उक्त आरोप सरकारलाई असफल देखाउने दुरासयको रुपमा आफूले बुझेको उनले बताए।
आफ्नो राजनीतिक जीवनमा कुनैपनि बेला भ्रष्टाचारमा संलग्न भएको प्रमाणित गर्न सके आफ्नो जीवन दाउमा राख्ने र राजनीतिक सन्यास लिने बताए।
‘राजनीतिक जीवनको सुरुदेखि अहिलेसम्म म तेस्रो पटक मन्त्री भएको हुँ र विगतका दिनदेखि अहिलेसम्म भ्रष्टाचारका कुराहरु प्रमाणित गरिदिनुभयो भने म राजनीतिक सन्यास लिन तयार छु।’
मन्त्री यादवले सरकारले विपन्न, बेरोजगार व्यक्ति तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र श्रम स्वीकृति लिई रोजगारीमा जान नपाएका व्यक्तिलाई लक्षित गरी रोजगारीका कार्यक्रम ल्याइएको बताए।
उनले श्रमिक सूचना बैंक इकाई निर्माण गरी सबै स्थानीय तहमा रहेका रोजगार केन्द्रलाई जोड्ने बताए। उनले विदेशबाट फर्कने व्यक्तिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम तथा अन्य क्षेत्रगत मन्त्रालयसँग समन्वय गर्ने र वित्तीय सहयोग उपलब्ध गराई स्वरोजगार बन्ने अवसर प्रदान गर्ने कार्यक्रम तय भएको बताए।