चन्द्रनिगाहपुरका ४० वर्षीय नरेश ठकुरी २०५८ सालदेखि गाडी चलाउँछन्। हाल उनी तेह्रथुमदेखि काठमाडौं रुटमा चल्ने मितेरी यातायातमा कार्यरत छन्।
तलब त २ हजार मात्रै हुन्छ तर भत्ता एक ट्रिपकै २ हजार हुने हुँदा मासिक कमाई ४० देखि ४५ हजार पुग्थ्यो। लकडाउन पछि भने उनको कमाई पुरै ठप्प भएको छ।
‘श्रीमति र छोरालाई काठमाडौंमा राखेको छु। गाडी चल्दा केही समस्या थिएन। २ महिनादेखि कोठामा बस्दा रासनको पैसा पनि सकियो,’ उनले दुखेसो पोखे।
सधै रासन ल्याउने पसलले समेत उधारो दिन नमानेपछि खानकै समस्या भएको उनले बताए।
‘साहुँसगँ पैसा माग्दा पनि गाडी चलेको छैन, पैसा छैन भन्छन्। एक्लै भएको भए हिँडेरै घर जान्थे। बाल बच्चा बोकेर कसरी हिड्नु,’ ठकुरीले भने।
सरकारले अरु व्यवस्था गर्न नसके पनि काठमाडौंमा रहेकालाई घर जाने वातावरण बनाइदिए धेरै सहज हुने उनको भनाइ छ।
मोरङमा रमेश बस्नेतले सहचालकको रुपमा काम गरेकै करिब २० वर्ष भयो।
तलब थोरै भएपनि भत्तालेनै उनको ६ जनाको परिवार पालिएको थियो। लकडाउनले उनको आमदानीको श्रोत रोकियो।
‘घरमै भएकोले जेनतेन चलेको छ। अझै काममा जान पाइएन भने कसरी परिवार पाल्नु,’ उनले भने।
यसरी करिब १० लाख यातायात मजदुर समस्यामा परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए।
‘चालक, सहचालक र काउन्टर कर्मचारी गरेर करिव १० लाख यातायात मजदुर र उनीहरुसगँ आश्रित करिव ४० लाख जना समस्यामा परेका छन्। कोही घर जान पाएका छैनन् भने घरमा भएकाहरु पनि आर्थिक रुपमा कमजोर भइसके,’ सिटौलाले भने।
१० खर्ब लगानी रहेको यातायात क्षेत्रको बारेमा सरकारले कुनै कदम नचाले देशको अर्थतन्त्रमै धक्का लाग्ने उनले बताए।
‘यो क्षेत्रमा करिब ८ खर्ब बैंकको लगानी छ। यातायात व्यवसायी उठ्न सकेनन् भने, यातायात मजदुर पलायन हुनुको साथै बैंकहरु पनि थला पर्छन,’ उनले भने।
यो समयमा यात्रुबाहक सवारीसाधनमा मजदुरहरु सबैभन्दा धेरै समस्यामा परेको उनले प्रष्ट पारे।
‘खद्यान्न, निमार्ण सामाग्री लगायत सामान बोक्ने सवारी साधन केही चलेका छन्। यात्रुबाहक सवारी साधन अझै केही महिना नचल्ने र सरकारले कुनै संयन्त्र नबनाउने हो भने यो क्षेत्र खरानी हुन्छ,’सिटौलाले भने।