सरकारले सन् २०१६ नोभेम्बर ९ यता निस्कासन भएका २ सय तथा ५ सय दरका भारतीय नोट राख्न र ओसारपसार फुकुवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले एक सयभन्दा ठूला दरका भारू नेपालमा पनि चलनचल्तीमा ल्याउने निर्णय गरेको हो।
मन्त्रिपरिषद बैठकले नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारू २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरेको छ।
सन् २०१६ मा भारतले ५ सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सय भारू भन्दामाथिका नोट नेपालमा चल्दैन थियो।
भारत सरकारले दुई साताअघि नेपाल र भुटानमा प्रतिव्यक्ति २५ हजारसम्म एक सयभन्दा ठूला दरका भारतीय नोट ल्याउन र लैजान अनुमति दिएको थियो।
यसकै आधारमा नेपाल सरकारले पनि ती दरका नोट नेपालमा चल्न दिने निर्णय गरेको हो।
हाल नेपालमा सय रूपैयाँको भारतीय नोट मात्र चलनचल्तीमा छ। भारतले अनुमति दिएपछि अब एक सयसँगै दुई सय र पाँच सय दरका नोट चलाउन पनि पाइने भएको हो। तर सन् २०१६ नोभेम्बर ९ अगाडिका नोट भने चल्ने छैनन्।