नेपालमा अत्यधिक आयात हुने वस्तुहरूमध्ये सुन एक हो। महँगो धातु सुनमा नेपाल पूर्णत: आयातमा निर्भर छ।
सुन आयातको लागि नेपालमा ठूलो परिमाणमा विदेशी मुद्रा खर्च हुने गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा ३५ अर्ब रूपैयाँ बराबरको सुन आयात भएको थियो।
त्यसपछिका तीन वर्ष १३, २७ र ३५ अर्ब रूपैयाँको सुन आयात भयो। नेपालमा वैदेशिक मुद्राको सञ्चित कम भएपछि सरकारले गरेको कडाइको कारण आर्थिक वर्ष २०७८/७९ बाट भने केही मात्रामा आयात घट्यो।
गत वर्षदेखि भने सुनको मूल्य अत्यधिक बढ्दो छ, जसको प्रभाव कारोबार र आयातमा देखियो। अघिल्लो वर्ष २३ अर्बको आयात भएको थियो। चालु वर्षको पहिलो तीन महिनामा ७६ प्रतिशतले घटेर जम्मा एक अर्ब ८४ करोडको सुनको आयात भएको छ।
अघिल्लो वर्ष यसै समयमा भने सात अर्ब ९६ करोड रूपैयाँ बराबरको आयात भएको थियो।
भारतीय बजारमा सुनको मूल्य तुलनात्मक रूपमा सस्तो भएको कारण अवैध आयात बढेकोले सुनको वैधानिक आयात यसरी घटेको व्यवसायीहरूले बताएका छन्।
तर, 'सेतो सुन' को उपमा दिइने तथा नेपालमा उत्पादन हुने कृषि उपज लसुनको आयात भने अस्वाभाविक रूपमा बढेको छ। बजारको माग पूरा हुन नसकेपछि छिमेकी देश चीनबाट लसुनको आयात गरिँदै आएको व्यवसायीहरूले बताउने गरेका छन्।
आर्थिक वर्ष २०७४/७५ यता औसत वार्षिक एक अर्ब रूपैयाँको लसुन आयात हुने गरेको थियो। गत आर्थिक वर्षमा दोब्बरले बढेर दुई अर्ब २२ करोड रूपैयाँ बराबरको भयो।
चालु वर्षको पहिलो तीन महिना भने साढे ६ गुणाले लसुनको आयात बढेको छ। तीन महिनामा नै गत वर्ष १२ महिना भएको भन्दै धेरै आयात भएको छ।
साउन, भदौ र असोज महिनामा मात्रै दुई अर्ब ४२ करोड ६१ लाख रूपैयाँको लसुन आयात भएको छ। अघिल्लो वर्ष यही समयमा जम्मा ३७ करोड ५१ लाख रूपैयाँ बराबरको लसुन आयात भएको थियो।
लसुन पूर्णत छिमेकी देश चीनबाट आयात भएको छ। चीनबाट आयात हुने प्रमुख वस्तुहरूमध्ये लसुन अहिले पाँचौ नम्बरमा देखिएको छ। चालु वर्षको तीन महिनाको अवधिमा ७८ अर्ब रूपैयाँको बराबरको सामान आयात हुँदा तीन प्रतिशत बढी हिस्सा लसुनको छ।
यो अवधिमा एक करोड ७९ लाख केजी लसुन चीनबाट आयात भएको छ। गत वर्ष यसै समयमा २८ लाख केजी मात्रै आयात भएको थियो।
के एकै आर्थिक वर्षमा यति धेरै लसुनको माग बढेको हो त?
'हामीले खुला व्यापार गर्ने होइन, होलसेल व्यापार गर्ने व्यापारीहरूको मागको आधारमा हामीले आयात गर्ने गर्छौं,' चीनबाट लसुन आयात गर्दै आएका आयातकर्ता ईश्वर श्रेष्ठले भने, 'यो पटक धेरै माग छ, त्यसकारण बढी आयात गरेका छौं।'
चाइनिजको तुलनामा नेपाली लसुनको मूल्य महँगो छ। धेरै चाइनिज लसुन आए पनि नेपाली लसुनको बिक्री वितरणमा प्रभाव नपरेको व्यवसायीहरू दाबी गर्छन्।
हाल कालीमाटी तरकारी बजारमा नेपाली लसुन प्रतिकेजी औसत तीन सय १० रूपैयाँमा किनबेच भइरहेको छ। चाइनिज लसुनको मूल्य भने दुई सय ७३ रूपैयाँ मात्रै छ।
केही व्यवसायी तथा भन्सार एजेन्टहरू सीमावर्ती भारतीय बजारमा ठूलो मात्रामा चाइनिज लसुन बिक्री हुने भएको कारण आयात बढी भएको तर्क गर्छन्।
भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको तीन महिनामा जम्मा तीन लाख ८३ हजार रूपैयाँको लसुन जापान निर्यात भएको देखिन्छ। भारततर्फ भने एक रूपैयाँको पनि वैधानिक निर्यात भएको छैन।
'औपचारिक रूपमा भारतमा लसुन निर्यात भएको छैन, तर खुला सिमानाको लाभ उठाएर चाइनिज लसुन भारतमा पुगिरहेको छ,' एक भन्सार एजेन्टले भने, 'अहिले धेरै आयात नेपाल भारत सीमावर्ती बजारको कारण नै हो, तुलनात्मक रूपमा नेपाल र भारतमा फल्ने लसुनको तुलनामा चाइनिज लसुन पोटिलो र ठूलो छ, यसको प्रयोग पनि सहज हुने भएको कारण चाइनिज लसुन प्रति त्यहाँ पनि आर्कषण भएको देखिन्छ।'
भैरहवा भन्सारमा लामो समय काम गरेका एक भन्सार अधिकृतका अनुसार पछिल्ला वर्षमा भैरहवासहित वीरगञ्ज, काँकडभिट्टा लगायतका क्षेत्रबाट बढी मात्रामा लसुन बिक्री हुने गरेको छ।
'यो हाम्रोभन्दा बढी भारतको चासोको विषय हो, हामीले यता जसरी अवैध चिनी ल्याएको वा चामल ल्याएको भनेर समातिरहेका हुन्छौँ भारततर्फ लसुन पनि समातिएको हुन्छ,' एक भन्सार अधिकारीले भने।