कोभिडपछि ओरालो लागेको दुई पांग्रे सवारी साधन (मोटरसाइकल) को व्यापारमा बढोत्तरी देखिएको छ।
भन्सार विभागको तथ्यांकले चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै मोटरसाइकलको आयात उल्लेखनीय बढेको देखाएको छ।
बिक्रेताहरूले गत आर्थिक वर्षदेखि केही सुधारको संकेत देखिए पनि चालु वर्षमा मोटरसाइकलको व्यापार राम्रो भएको प्रतिक्रिया दिएका छन्। अहिले मोटरसाइकल किन्ने खरिदकर्ताहरू बढेको उनीहरूले बताएका छन्।
त्यस्तै, यस्ता सवारीका पाटपुर्जाको बिक्री पनि धेरै बढेको प्रतिक्रिया उनीहरूको छ।
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलासचन्द एन्ड कम्पनीका बजार प्रमुख अमितराज चालिसेले कोभिडपछि लागातार घट्दो क्रममा रहेको मोटरसाइकलको किनबेच अहिले बढ्दो क्रममा रहेको प्रतिक्रिया दिए।
पछिल्लो समय मोटरसाइकल प्रति चासो बढेको उनको भनाइ छ।
'कोभिडपछि २/३ वर्ष मोटरसाइकलको व्यापार निकै सुस्ताएको थियो, अहिले सुधार देखिएको छ,' उनले भने।
उनका अनुसार बजाजका मोटरसाइकल बिक्री २५ देखि ३० प्रतिशतले बढेको छ।
भन्सार विभागको तथ्यांकले चालु आर्थिक वर्षमा मोटरसाइकलको आयातमा उल्लेखनीय सुधार आएको देखाएको छ।
चालु वर्षको साउन, भदौ र असोजमा ६८ हजार ५४० वटा अनएसेम्बल्ड तथा तयारी मोटरसाइकलको आयात भएको छ।
वर्ष २०८० को यही अवधिमा भने ४२ हजार ११३ वटा मात्रै आयात भएको थियो। यस हिसाबले मोटरसाइकलको परिमाणात्मक आयात ६२ प्रतिशतले बढेको छ।
त्यस्तै, आयात मूल्यको हिसाबले ७० प्रतिशतले बढेको छ। गत वर्ष साउन, भदौ र असोज महिनामा चार अर्ब ७५ करोड रूपैयाँ बराबरको आयात भएकोमा अहिले आठ अर्ब १० करोड ६१ लाख रूपैयाँ बराबर पुगेको छ।
तयारी मोटरसाइकलको आयात २८ प्रतिशतले मात्रै बढे पनि अनएसेम्बल्ड मोटरसाइकलको आयात ९३ प्रतिशतले बढेको छ।
सरकारले २०७८ को आर्थिक ऐनमार्फत अनएसेम्बल दुई पांग्रे तथा चार पांग्रे सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तशुल्कमा ५० प्रतिशत छुट हुने व्यवस्था गरेको थियो।
जसको कारण नेपालमा एसेम्बल उद्योगहरू बढ्न थालेका छन्। यसले अनएसम्बल मोटरसाइकलको आयात तुलनात्मक रूपमा धेरै देखिन्छ।
अहिले बजाज, टिभिएस, रोयल इनफिल्ड, यामाहा, सुजुकी, हिरो, होन्डालगायत धेरै दुई पांग्रे सवारीसाधान नेपालमा एसेम्बल हुने गरेका छन्।
एसेम्बल गर्दा दिइएको छुटको कारण पनि आयतित तयारी मोटरसाइलसँग प्रतिस्पर्धा गर्न सहज भएको व्यवसायीहरूको भनाइ छ। यसका साथै सरकारले गत आर्थिक वर्षबाट २५० सिसी क्षमता माथिको मोटरसाइकलको सडक निर्माण दस्तुर घटाएको थियो।
त्यसअघि २५० देखि ४०० सिसी क्षमताको मोटरसाइकलको प्रतिगोटा ५० हजार रहेको दस्तुर घटाएर २० हजार पुर्याइएको थियो।
यसैगरी ४०० सिसी क्षमता माथिको मोटरसाइकलमा एक लाख रूपैयाँको लिइने गरेकोमा अहिले आयात मूल्यको आधारमा १० प्रतिशत लिइने गरेको छ।
विगतको नीतिगत सुधार तथा अहिले बढेको आर्थिक क्रियाकलापको कारण पनि मोटरसाइकलको व्यापारमा सुधार देखिएको छ।
चार पांग्रे सवारी साधानको व्यापार पनि चालु वर्षमा बढेको छ। तर, डिजेल पेट्रोलबाट चल्ने सवारी साधनको आयात यो वर्ष पनि घटेको छ। विद्युतबाट चल्ने सवारीको आयात भने उल्लेखनीय रूपमा बढेको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको तीन महिनामा डिजेल पेट्रोलबाट चल्ने जीप, कार तथा भ्यानको आयात १३ प्रतिशतले घटेको छ। तीन महिनाको अवधिमा एक अर्ब ८५ करोड मूल्य पर्ने १४ सय ४० पेट्रोलियम जीप, कार र भ्यानको आयात भएको छ।
त्यस्तै, विद्युतीय जीप, कार भ्यानको आयात भने यो वर्ष पनि बढेको छ।
यस्ता गाडीको आयात पछिल्लो तीन वर्षदेखि लगातार बढेको छ। भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा ६ अर्ब १२ करोड रूपैयाँ बराबरको २५ सय २० वटा सवारी साधानको आयात भएको छ।