पछिल्लो एक साता बढेर दिनहुँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार सामान्य घट्यो।
आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार रूपैयाँ पुगेको छ।
हरेक दिन बढेको मूल्य तोकिए पनि लामो समयदेखि कारोबार भने सुनसान रहेको व्यवसायीहरू दाबी गर्छन्। चाडपर्व, विवाह, व्रतबन्धमा एक/दुई दिन सामान्य किनबेच भए पनि अन्य दिनहरूमा कारोबार ठप्पसरह छ।
'धेरै व्यवसायीले महिनौ दिनदेखि नयाँ सुनको कारोबार नै गर्न पाउनु भएको छैन। पुरानो सुन (पहिले बेचेको र बिलको आधारमा अहिले उपभोक्ताबाट खरिद गरिएको) मा केही कारोबार भएको छ, मूल्य बढेको बढ्यै छ कारोबार घटेको घट्यै छ,' नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्रचार्यले भने।
कुनै समय दिनको २० किलो सुन अपार्याप्त भएको भन्दै कोटा बढाउन माग गरेका व्यवसायीहरू अहिले देशभरबाट ४/५ किलो पनि सुन बेच्न नसकिने अवस्था आएको बताउँछन्।
नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार पछिल्लो दुई महिनादेखि व्यवसायीहरूले सुनको माग गरेका छैनन्।
व्यवसायीको माग नभएको कारण बैंकले पनि सुन आयात गरेको छैन।
'डिमान्ड नै नभएको कारण अहिले आयात गरिएको छैन, जसकारण हामीसँग अहिले मौज्दात सुन छैन, मागको आधारमा आयात गरिन्छ,' शर्माले भने।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा एक अर्ब ८४ करोड २८ लाख रूपैयाँ बराबरको एक लाख ७४ हजार १०५ अर्थात् १४ हजार ९१३ तोला सुन मात्रै आयात भएको छ।
परिमाणात्मक रूपमा अघिल्लो वर्षको तीन महिनामा आयात भएको भन्दा यो ८२.१४ प्रतिशतले कम हो। अघिल्लो वर्ष असोज मसान्तसम्म ९ लाख ७४ हजार ६०८ ग्राम सुन आयात भएको थियो।
यो वर्ष मात्र नभइ पछिल्लो तीन वर्षदेखि यसरी नै सुनको आयात घटेको छ।
परिमाणको हिसाबले ८२ प्रतिशत सुनको आयात घट्दा पनि आयातित मूल्यको हिसाबले भने ७६ प्रतिशतले घटेको छ।
सुनको आयातबाट उठ्ने राजस्व ६९ प्रतिशतले कमी आएको छ।
यसरी परिमाणात्मक रूपमा सुनको वैधानिक आयात ८२ प्रतिशतले घट्नुको प्रमुख कारण अधिक मूल्य वृद्धि भएको व्यवसायीहरूको भनाइ छ।
पछिल्लो एक वर्षमा छापावाल सुनको मूल्य तोलामा ५० हजार ५०० रूपैयाँले बढेको छ। २०८० कात्तिक ८ गतेको सुनको बजार मूल्य एक लाख १५ हजार पाँच सय रूपैयाँ थियो। आज एक लाख ६६ हजार रूपैयाँ पुगेको छ।
विश्व बजारमा विश्लेषण गरिएको आधारमा मूल्य बढ्यो भने २०२४ भित्रनै प्रतितोला दुई लाख रूपैयाँ पुग्न सक्ने आकलन गरिएको छ।
सुन आयतित बहुमूल्य धातु हो। अन्तर्राष्ट्रिय मूल्यको आधारमा नै नेपालमा नेपाल सुनचाँदी व्यवसायी महासंघले हरेक दिन मूल्य निर्धारण गर्छ। महासंघ उपाध्यक्ष बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा हरेक दिन बिहान साढे १० बजे कायम भएको प्रतिऔंस सुनको मूल्य, भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर तय गरिने गरेको छ।
अहिले नेपाल सरकारले सुनको भन्सार दर २० प्रतिशत तोकेको छ। त्यस्तै ०.५ प्रतिशत बैंकले नाफा राख्छन्। नेपालमा सुनको आयात गर्न वाणिज्य बैंकहरूले पाउँछन्। ०.५ प्रतिशत व्यवसायीले नाफा राख्ने गर्छन्। अन्तर्राष्ट्रिय बजारको मूल्यको आधारमा उल्लेखित लागत बढेपछि स्थानीय बजारमा मूल्य आउने हो।
सरकारले पछिल्लो तीन वर्ष लगातार भन्सारदर बढाएको कारण पनि स्थानीय बजारमा तुलनात्मक रूपमा बढी मूल्य छ।
व्यवसायीहरूका अनुसार अहिले भारतको सीमावर्ती बजार र नेपाली बजारबीच एक तोला सुनको मूल्यमा २० हजारसम्म अन्तर (भारतमा सस्तो) पर्ने गरेको छ। विगतमा समान रहेको सुनको भन्सार मूल्य अहिले भारतमा ६ प्रतिशत छ भने नेपालमा २० प्रतिशत पुगेको छ।
के बजारमा माग नै छैन?
दुई वर्ष अघि मात्रै व्यवसायीहरूले सुनको कोटा नपुगेको भन्दै बढाउन माग गरेका थिए।
कोभिडपछि प्रतिदिन सुनको कोटा १० किलो तोकिएको छ। त्यसअघि २० किलो कोटा थियो। व्यवसायीहरूले दैनिक सुनको माग २५ किलोसम्म रहेको भन्दै कोटा वृद्धिको माग गरेका थिए।
अहिले औसत दुई किलोमात्रै सुनको खपत भएको आयात भएको सुनको परिमाणले देखाउँछ। तर, अवैधानिक सुनको आयातको प्रभाव पनि देखिएको व्यवसायीहरू बताउँछन्।
'सीमावर्ती क्षेत्रमा तोलामा नै २० हजारसम्म मूल्य कम छ, सुनको ग्रे मार्केट पनि बढी छ यसले वैधानिक आयात घटेको छ, वैधानिक कारोबार गर्नेहरू निरूत्साहित भएका छन्,' एक व्यवसायीले भने।
यसका साथै अहिले करिब ३० प्रतिशत कारोबार पुरानो सुनमा केन्द्रित रहेको हुनसक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुमान छ। तर, समग्रमा भने सुनको मागमा निकै कमी आएको छ। यसको प्रभाव रोजगारीमा देखिएको व्यवसायीको भनाइ छ।
महासंघका पूर्वअध्यक्ष मोहनकुमार सुनुवार सुनको मूल्य आएको वृद्धिदरको कारण पनि नयाँ माग हुन नसकेको तर्क गर्छन्।