सस्तो ब्याजमा दिइने कर्जा घटेको छ।
विभिन्न वर्गको कर्जामा सरकारले ब्याज अनुदान दिने र त्यस आधारमा बैंकहरूले सस्तो दरमा कर्जा प्रवाह गर्दै आएकोमा अहिले भने घट्न थालेको छ।
२०८० कात्तिक मसान्तसम्ममा १ लाख ४१ हजार ३ सय ६९ ऋणीलाई प्रवाह भएको एक खर्ब ८४ अर्ब ५१ करोड सहुलियतपूर्ण दिइएको छ। जबकी गत असारसम्म कुल १ लाख ४५ हजार ७७८ ऋणीलाई सहुलियत कर्जा प्रवाह गरिएको थियो। त्यस्तै, यस्तो ऋणको रकम एक खर्ब ९७ अर्ब ६ करोड पुगेको थियो।
नयाँ कर्जा प्रवाह हुन नसकेको अवस्थामा पुराना ऋणी करिब चार हजार घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा देखिएको छ।
हालसम्मको सहुलियत कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ५८ हजार ४३ ऋणीलाई एक खर्ब २८ अर्ब ५५ करोड कर्जा बक्यौता छ। महिला उद्यमशील कर्जा अन्तर्गत ८० हजार ७७६ महिला उद्यमीलाई प्रवाह भएको ५३ अर्ब २० करोड कर्जा बक्यौता रहेको छ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत दुई हजार ५ सय ५० ऋणीको दुई अर्ब ७६ करोड कर्जा बक्यौता छ।