यो वर्ष धानको उत्पादनमा आएको सुधारले आर्थिक वृद्धिमा भरथेग पुगेको छ। सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा जम्मा २.१६ प्रतिशतको मात्रै वृद्धि हुने संशोधित अनुमान गरिएको छ।
तथ्यांक कार्यलयका अधिकारीहरूका अनुसार कृषिमा धानको उत्पादनका साथै समग्रमा वित्तीय क्षेत्र र सार्वजनिक प्रशासन तथा सूचना प्रविधि क्षेत्रमा भएको वृद्धिले यो वृद्धिदर कायम हुने देखिएको हो।
नेपालको अर्थतन्त्रका कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान २४.२५ प्रतिशत छ। यदि ४ प्रतिशत कृषि वन तथा मत्स्य क्षेत्रको उत्पादन वृद्धि भयो भने आर्थिक वृद्धि एक प्रतिशतले बढ्छ।
कृषि वन तथा मत्स्य क्षेत्रमा धानको मात्रै योगदान २० प्रतिशत रहेको छ। ५ प्रतिशत धानको उत्पादन वृद्धि हुँदा कृषि क्षेत्रको वृद्धिदर एक प्रतिशतले बढ्छ।
चालु वर्षमा कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर २.७३ प्रतिशत मात्रै भए पनि सबैभन्दा बढी हिस्सा रहेको धानको उत्पादन ७ प्रतिशतले बढेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
धानको उत्पादनमा भएको वृद्धिले २.१६ प्रतिशतको आर्थिक वृद्धिमा सहयोग पुगेको तथ्यांक विभागका अधिकारीहरूले बताएका छन्।
धानको उत्पादन औसत ३/४ प्रतिशत बढ्दै गएको गत वर्ष बेमौसमी वर्षा र विभिन्न किसिमको रोगको कारण धानको उत्पादनमा न्यून भएको थियो। आधार न्यून भएको कारणले पनि यो वर्ष ७ प्रतिशत बराबरको धानको उत्पादन बढेको कार्यालयका अधिकारीकारीले बताएका छन्।
यो वर्ष धानमा उल्लेखनीय र वर्षे बालीमा औसत वृद्धिदर देखिए पनि अन्य क्षेत्रमा भने ऋणात्मक देखिएको छ।
कृषि क्षेत्रमा पोल्ट्रीको उत्पादनमा १९ प्रतिशतले ऋणात्मक भएको छ। पोल्ट्री, दुध, अण्डा तथा मासु र हिउँदे बालीको उत्पादनमा कमी आएको, उद्योग २.०४, निर्माण क्षेत्रको २.६, थोक तथा खुद्रा व्यापारको २.९ प्रतिशतले ऋणात्मक छ।
धानको उत्पादनमा आएको वृद्धिका साथै सार्वजनिक प्रशासन, वित्त तथा बीमा, घर जग्गा, सूचना तथा सञ्चारका साथै कृषि क्षेत्रमा धानको उत्पादनमा आएको वृद्धिले २.१६ प्रतिशतको आर्थिक वृद्धि पुगेको तथ्यांक कार्यकालका अधिकारीहरूले बताए।
'यो वर्ष धानको उत्पादन तुलनात्मक रूपमा राम्रो भयो तर अन्य कृषि उपजको उत्पादन कम भएको कारणले समग्र वृद्धिदर औसत देखियो' राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरी भण्डारीले बताए।
५३ खर्ब ८१ अर्ब रुपैयाँको नेपालको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको मात्रै आकार ११ खर्ब ३२ अर्ब ७५ करोड रुपैयाँको छ।
यो वर्ष धानको उत्पादनमा आएको वृद्धिको कारण आर्थिक वृद्धिमा महत्त्वपूर्ण सहयोग पुगे पनि आगामी वर्ष भने उत्पादनमा कमी आउन सक्ने आँकलन गरिएको छ।
देशको कृषि उत्पादनमा मनसुनको महत्त्वपूर्ण भूमिका रहेको छ। समयमै मनुसुन हुने वर्ष कृषि उत्पादन बढी हुने र समयमा मनसुन नहुने वर्ष कम हुने गरेको छ।
यो वर्ष भने जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुनको समयमा कम वर्ष हुने आंकलन गरेको छ। यो वर्ष सरदरभन्दा कम वर्ष हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको आँकलन विभागले गरेको छ।
धान रोप्ने समयमा वर्षा नहुँदा कृषि उत्पादनमा असर गर्छ। कृषकले समयमा नै धान रोप्न नपाएको खण्डमा उत्पादनमा ह्रास आउने तथ्यांक विभागका अधिकारीहरू बताउछन्।