चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत पुग्ने राष्ट्रिय तथ्यांक विभागले प्रक्षेपण गरेको छ।
तेस्रो त्रैमासिकसम्मको यथार्थ गणना तथा चौथो त्रैमासिकको अनुमानित आर्थिक क्रियाकलापका आधारमा उक्त प्रक्षेपण गरिएको हो।
निर्माण र खानी क्षेत्रमा आएको उल्लेख्य गिरावटका कारण समग्र आर्थिक वृद्धिदर प्रभावित हुने विभागले जनाएको छ।
यो अनुमानित वृद्धिदर बजेटको लक्ष्यभन्दा निकै कम हो। सरकारले चालू वर्षको बजेटमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो। विश्व बैंक र एसियाली विकास बैंकले ४.१ प्रतिशतको वृद्धि हासिल हुने प्रक्षेपण गरेका थिए।
गत वर्षको आर्थिक वृद्धिदर ५.६ प्रतिशत थियो। त्यति बेला विभागले ५.४ प्रतिशत वृद्धि हासिल हुने अनुमान गरेको थियो।
विभागका अनुसार चालू वर्ष पहिलो त्रैमासिकमा १.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर दोस्रो त्रैमासिकमा १.१ प्रतिशत ऋणात्मक थियो। वर्षको सुरूका महिनामा लगाइएको आयात प्रतिबन्धका साथै माग र आपूर्तिको कमीले आर्थिक वृद्धिमा प्रभाव देखिएको हो।
विभागका अनुसार नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ। यसमा कृषि क्षेत्रले २४.१६ प्रतिशत योगदान गरेको छ।
चालू वर्षको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र (कृषि, वन तथा मत्स्य र खानी तथा उत्खनन) ले २४.६ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान छ। धान लगायतका बर्खे बालीको उत्पादन बढे पनि हिउँदे बाली, दूध, अन्डा र मासु उत्पादनमा आएको सामान्य ह्रासले प्राथमिक क्षेत्रमा उल्लेखनीय वृद्धि हुन नसकेको तथ्यांक विभागले जनाएको छ।
त्यस्तै, चालू वर्षको कुल गार्हस्थ्य उत्पादनमा द्वितीय क्षेत्र (उद्योग, विद्युत तथा ग्यास, पानीको आपूर्ति र निर्माण) ले १२.९ प्रतिशत योगदान दिने अनुमान छ।
सेवा क्षेत्रको योगदान भने ६२.४ प्रतिशत रहने विभागले जनाएको छ। यसअन्तर्गत थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात, सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, घरजग्गा कारोबार, पेसागत, प्रशासिनक तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवाहरू पर्छन्।
यसअघि आव २०७६/७७ मा २.४ प्रतिशतको ऋणात्मक आर्थिक वृद्धि भएको थियो भने २०७३/७४ मा ८.६ प्रतिशत आर्थिक वृद्धि हासिल भएको थियो।