यो आर्थिक वर्षको पहिलो महिना साउनमा घरजग्गाको कारोबारमा मन्दी छाएको छ।
गत आर्थिक वर्ष २०७८/७९ साउनको तुलनामा घरजग्गा कारोबार चालु आर्थिक वर्ष २०७९/०८० मा ६८ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको साउनमा काठमाडौं उपत्यकामा कुल पाँच हजार दुई सय १९ संख्यामा घरजग्गाको किनबेच भएको थियो। यो साउनमा भने एक हजार ६ सय ५५ संख्यामा मात्र कारोबार भएको छ।
त्यस्तै रजिस्ट्रेसन दस्तुरबापत् उठ्ने राजस्वमा पनि ८६ प्रतिशतले कमी आएको छ। गत वर्ष साउनमा रजिस्ट्रेसन दस्तुरबापत दुई अर्ब ६३ करोड २८ लाख रूपैयाँ सरकारलाई राजस्व उठेको छ। अहिले ३६ करोड ३० लाख रूपैयाँ मात्र राजस्व उठेको छ। पुँजीगत लाभकर भने १८ करोड ६० लाख ४२ हजार रूपैयाँ उठेको छ।
चाबहिल मालपोत कार्यालयका प्रमुख अधिकृत देवी बहादुर अधिकारी जग्गाको रजिस्ट्रेसन, कारोबारलगायत मालपोतले दिने सेवा प्रवाहमा कमी आएको बताउँछन्।
उनका अनुसार विश्व आर्थिक मन्दीको प्रभाव, जग्गाको उच्चतम मूल्य वृद्धि, मौद्रिक नीति तथा भू–उपयोग सम्बन्धी ऐन नियमले जग्गाको कारोबारमा कमी आएको हो।
भू–उपयोग नियमावली २०७९ जेठ २३ गतेदेखि लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन नियममा निर्देशित भएको छ। स्थानीय भू–उपयोग परिषदबाट भइरहेको जग्गा वर्गीकरणले पनि जग्गाको कारोबारमा कमी आएको उनी बताउँछन्।
अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन्।
घरजग्गाको कारोबार घटेसँगै मालपोत कार्यालयहरूमा कामको चाप समेत घटेको छ। अहिले मालपोतमा पहिलेको तुलनामा ७५ प्रतिशतले काम घटेको कलंकी मालपोत कार्यालयका सूचना अधिकारी कृष्ण प्रसाद गौतमले बताए।
'गत वर्षहरूमा आर्थिक वर्षको सुरूआतमा धेरै भीड हुन्थ्यो। अहिले ७५ प्रतिशत काममा कमी आएको छ,' उनले भने।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार यो साउनमा सबैभन्दा बढी घरजग्गा कारोबार कलंकी मालपोत कार्यालयबाट भएको छ।
साउन महिनामा कलंकी मालपोत कार्यालयबाट चार सय ९९ संख्यामा घरजग्गा किनबेच भएको छ।
यस कार्यालयको क्षेत्राधिकार भित्र काठमाडौं महानगरपालिका १३, १४, १५, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका र दक्षिणकाली नगरपालिका र नागार्जुन नगरपालिका कार्यक्षत्र पर्छन्।
दोस्रो ठूलो कारोबार गर्नेमा साँखु मालपोत कार्यालय छ। यो कार्यालयबाट साउनमा चार सय ७२ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयको आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र कार्यक्षेत्र भित्र पर्छन्।
त्यस्तै, मनमैजु मालपोत कार्यालयबाट साउन महिनामा घरजग्गा कारोबार भएको छैन। यस कार्यालयको तारकेश्वर नगपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा कार्यक्षेत्र पर्छन्।
डिल्लीबजार मालपोत कार्यालयबाट साउन महिनामा एक सय ५२ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयको काठमाडौं महानगरको ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा कार्य क्षेत्र पर्छ।
त्यस्तै, चाबहिल मालपोत कार्यालयबाट साउन महिनामा चार सय १७ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयको बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका कार्य क्षेत्र पर्छ।
टोखा मालपोत कार्यालयबाट एक सय १५ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयको बुढानीलकण्ठ नगरपालिका ६, ७, टोखा नगरपालिका, तारेकश्वर नगरपालिका वडा-१ यसको कार्यक्षेत्र पर्छ।
साउनमा मात्रै होइन गत वर्ष समेत घर जग्गाको कारोबारमा २२ प्रतिशतले कमी आएको छ। बैंक तथा वित्तीय संस्थामा कर्जा लगानी योग्य पुँजी अभाव देखिएसँगै घरजग्गाको कारोबारमा मन्दी आएको हो।
आर्थिक वर्ष २०७८/७९ मा ४३ हजार तीन सय ९२ संख्यामा किनबेच भएकोमा आर्थिक वर्ष २०७७/७८ मा ५५ हजार छ सय ६० संख्यामा घरजग्गा किनबेच भएको थियो।