गत आइतबार (वैशाख ११गते) देखि नेपालमा ‘कन्स्ट्रक्सन होलीडे’ चलिरहेको छ। मूल्य वृद्धिका कारण काम गर्न नसकेको भन्दै निर्माण व्यवसायीहरूले काम ठप्प पारेका छन्।
एकैपटक करिब ३५ सय निर्माण साइटका काम बन्द गरिएको नेपाल निमार्ण व्यवसायी महासंघले जनाएको छ।
अत्यावश्यक कामबाहेक काममा कन्स्ट्रक्सन होलिडे गरिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंह बताउँछन्। उनका अनुसार अहिले सडक कालोपत्रे, पुल, नदी नियन्त्रण बाहेकका आयोजनाहरूको काम ठप्प छ।
‘मूल्य वृद्धि सरकारले सम्बोधन गर्नुपर्यो कि मूल्य वृद्धि घटाएर पहिलेकै अवस्थामा हुनुपर्यो भन्ने हाम्रो माग हो। होइन भने घाटा खाएर हामी काम गर्न सक्दैनौं,’ उनले सेतोपाटीसँग भने।
पेट्रोलियम पदार्थ, फलामजन्य लगायत विभिन्न निर्माण सामग्रीहरूको अत्यधिक मूल्य वृद्धिका कारण निर्माण व्यवसायीहरूले काम सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको अध्यक्ष सिंह बताउँछन्। उनका अनुसार डन्डी, इन्धन जस्ता सामग्रीको मूल्य हाल शतप्रतिशतले बढिसकेको अवस्था छ।
‘यसले त व्यवसाय मात्रै होइन, बैंक पनि धरासय हुन्छ। सरकारले अब कि त मूल्य सामान्यकरण गर्नुपर्छ होइन भने मूल्य वृद्धिको क्षतिपूति दिनुपर्छ,’ उनले भने।
मूल्य वृद्धिको क्षतिपूर्ति हुने गरी एक मुष्ट रुपमा ठेक्काहरूको मूल्य समायोजन गर्नुपर्ने व्यवसायीहरूको माग छ। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने महासंघले जनाएको छ।
यो समस्यामाथि व्यवसायी र सरकारी अधिकारीहरूसँग पटक-पटक छलफल भइसकको छ। तर छलफलबाट ठोस् निर्णय निश्किएको छैन।
‘सार्वजनिक खरिद अनुगमन कार्यालयसँग दोस्रो पटकको छलफल पनि सकिएको छ। समस्या समाधानका लागि कार्यविधि बन्ने आश्वासन पाएका छौं। सहजीकरण हुन्छ भन्ने आश छ,’ उनले भने।
तर सरकारी अधिकारीहरूले भने बढेको मूल्यअनुसार व्यवसायीहरूलाई क्षतिपूर्ति दिने व्यवस्था ऐनमै नभएका कारण यो समस्या सुल्झाउन सहज नभएको बताउँदै आएका छन्।