फिदिम बजारमा रहेका अधिकांश मासु पसलहरु अव्यवस्थित र दर्ताबिना संचालनमा रहको पाइएको छ। बजार अनुगमन समिति पाँचथरले मंगलबार फिदिमका मासु पसल अनुगमन गर्ने क्रममा अधिकांश पसलको दर्ता, वोर्ड र मूल्य सूचि समेत नभएको पाइएको छ।
फिदिम १ भानुमार्गको सलमान फ्रेस हाउसमा अनुगमन टोली पुग्दा मासु काट्ने अचानो झिँगाले भरिएको थियो भने फोहोरको डंगुर यत्रतत्र थियो। अन्य मासु पसलको पनि अवस्था उस्तै देखियो।
मापदण्ड विपरित भेटिएका पसलहरुलाई सरसफाइ र गुणस्तर सुधार गर्न समय दिइएको छ। समयसिमाभित्र पसललाई सुधार नगरे कारबाही गर्ने बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर बस्नेतले जानकारी दिए।
फिदिममा ३५ वटा मासुपसलहरु रहेकोमा पशु सेवा कार्यालयमा भने १३ वटा मात्रै दर्ता भएका छन्। अन्य २२ वटा पसल दर्ता नभएको पाइएको हो। मंगलवार टोलीले १५ वटा पसलमा अनुगमन गरेको थियो। अधिकांश बँगुर र राँगाको मासु बिक्री वितरण गर्ने पसलहरु अव्यवस्थित भएको भन्दै ति पसलहरुलाई उचित व्यवस्थापनका लागि समय दिएको पशु चिकित्सक डा. भरत शाहले बताए।
सदरमुकामका २ वटा मासु पसलहरु पूर्वाञ्चल फ्रेस हाउस र काकाफ्रेस हाउस भने गुणस्तरीय भएको अनुगमन टोलीले बताएको छ।