ह्यात होटल्स कर्पोरेसनले नेपालमा आफ्नो ब्राण्ड विस्तारलाई तीव्रता दिन थालेको छ।
ह्यातले गोल्यान समूहको लगानी रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले लुम्बिनीमा संचालनमा ल्याउन लागेको ह्यात रेजेन्सी लुम्बिनी सम्झौता गरेको छ।
यो सम्झौतासँगै ‘ह्यात रेजेन्सी लुम्बिनी’ नेपालमा ह्यात होटल्स कर्पोरेसनको चौंथो ह्यात ब्राण्ड बनेको छ।
कुल १७५ कोठा रहेको यो होटेल गोल्यान समूह अन्तर्गतको दोस्रो होटलको रूपमा संचालमा रहनेछ। यसअघि काठमाडौँ सोल्टीमोडमा ह्यात प्यालेस होटेल ह्यातको होटेल चेनसँग आवद्ध रही संचालनमा रहेको छ।
ह्यात रिजेन्सी लुम्बिनी सन् २०२८ सम्ममा पूर्णरुपमा संचालनमा ल्याउने गरी गोल्यान समूहले निर्माण कार्यलाई तीव्रता दिएको छ।
कुल ११ एकड (८७ रोपनी ५ आना) क्षेत्रफलमा फैलिएको लुम्बिनी ह्यात रिजेन्सीमा १७५ अतिथि कोठाहरू, सुविधाजनक भोजनका विकल्पहरू, कार्यक्रम र बैठक स्थलहरूसमेत अत्याधुनिक फिटनेस केन्द्र, स्वास्थ्य स्पा, बाहिरी पोखरी लगायतका अन्य मनोरञ्जनका सुविधाहरू रहने छन्।
रूपन्देहीको दानव नदीको मनमोहक किनारमा निर्माणाधिन ‘ह्यात रेजेन्सी लुम्बिनी’ धेरै नै भ्रमण गरिने तीर्थस्थल मायादेवी मन्दिर र अन्य प्रमुख आकर्षणका केन्द्रबिन्दुबाट छोटो दूरीमा अवस्थित छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा तथा बुटवल शहर र नेपाल भारत सीमाको नजिक रहने भएकाले विश्वभरका व्यवसायिक र मनोरञ्जनका यात्रुहरूलाई सहज रुपमा पहुँच पुर्याउनका निम्ती महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।
ह्यातको विस्तार पछि प्राचिन सांस्कृतिक र आध्यात्मिक लुम्बिनी क्षेत्रलाई थप आकर्षक गन्तव्यको रूपमा रहने र यसले याे क्षेत्रलाई समृद्ध बनाउने ह्यातका भारत र दक्षिण पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुवा राठौरले बताए।
लुम्बिनीमा ह्याततसँगको सहकार्यमा पहिलो ह्यात रेजेन्सी ब्रान्डको होटलको उद्घाटन गर्न पाउँदा आफूहरू अत्यन्तै खुशी भएको गोल्यान समूहका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यान बताए।
ह्यात रेजेन्सी होटल एण्ड रिजोर्टस मानव समुदायका भावनालाई एकै साथ प्रोत्साहित गर्ने गरी डिजाइन गरिएका छन् । आगामी दिनमा नेपालमा स्थापित हुने ह्यात ब्राण्डका होटलहरू आधुनिक डिजाइन र परम्परागत नेपालीपनको मिश्रण सहितको हुने गोल्यान समूहको भनाइ छ।