काठजन्य सामग्री नेपालको प्रमुख निर्यात वस्तुको रूपमा उक्लिएको छ।
चालु वर्षको तीन महिनाको अवधिमा नेपालबाट निर्यात भएका वस्तुहरूको सूचीमा काठजन्य सामग्री देखिएको छ। समग्र निर्यातमा ६ प्रतिशत बढी हिस्सा काठजन्य सामग्रीले ओगटेको छ।
विशेषगरी नेपालबाट प्लाइउड र भिनियर-शिट भारत निर्यात हुने गरेको छ। तीन वर्ष अघिसम्म यी काठजन्य सामग्रीको नगन्य निर्यात थियो।
साउन, भदौ र असोज महिनामा मात्रै दुई अर्ब ३९ करोड रूपैयाँको प्लाइउड र भिनियर-शिट भारतीय बजार निर्यात गरिएको छ। जसमध्ये दुई अर्ब १५ करोड रूपैयाँको प्लाइउड र करिब २४ करोड रूपैयाँको भिनियर-शिट निर्यात भएको भन्सार तथ्यांकले देखाएको छ।
गोलिया काठबाट निकालिएको १.५ एमएमको सिट (पाता)लाई भिनियर-शिट भनिन्छ। यसको प्रशोधनबाट उत्पादन हुने प्लाइउड न्यूनतम ५ एमएमको हुन्छ।
गत आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा एक अर्ब ८७ करोडको प्लाइउड र चार करोड रुपैयाँ भिनियर-शिट निर्यात भएको थियो।
गत आर्थिक वर्षमा मात्रै सात गुणाले प्लाइउड निर्यात बढेको थियो। तर, चालु वर्षको बजेटपछि आर्थिक ऐन २०८१ ले मुख्य कच्चा पदार्थ निर्यातलाई विशेष प्राथमिकता दिएपछि व्यवसायीहरू निर्यात घट्न सक्ने भन्दै त्रसित भएका थिए।
‘हामीलाई मुख्य कच्चा पदार्थ नै नपाउने हो कि भन्ने चिन्ता छ। तत्काल धेरै ठुलो प्रभाव देखिएको छैन,’ नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले भने, ‘स्थानीय माग घटेको कारण हामीले तुलनात्मक रूपमा सस्तो मूल्यमा निर्यात गरेको कारण पनि बढेको हो।’
भन्सार तथ्यांकअनुसार गत वर्षको तुलनामा पनि प्लाइउडको निर्यात मूल्य बढेको छ। यो तीन महिनामा परिमाणको आधारमा निर्यात ९ प्रतिशतले मात्रै बढे पनि मूल्यको आधारमा भने १४ प्रतिशतले बढेको छ।
यद्यपि आगामी दिनमा मुख्य कच्चा पदार्थ नै निर्यात हुने र प्लाइउड निर्यातमा असर पुग्ने घिमिरेको भनाइ छ।
‘प्लाइउड अन्तिम वस्तु हो, यो वर्ष प्लाइउडको तुलनामा भिनियर-शिट (प्लाइउडको अर्धतयारी कच्चा पदार्थ) को निर्यात वृद्धिदर धेरै छ,’ घिमिरेले भने, ‘आर्थिक ऐनले गोलिया काठ नै निर्यात गर्ने गरी बाटो खोलिदिएको कारण भविष्यमा समस्या आउन सक्ने देखिन्छ।’
प्लाइउडको लागि प्रारम्भिक कच्चा पदार्थ गोलो पारिएको काठ (गोलिया काठ)हो भने अर्ध तयारी कच्चा पदार्थ भिनियर हो।
प्लाइउड उद्योगले प्रयोग गर्ने गोलिया काठमा मसला, लहरे पीपल, देवदारू लगायतका रूख हुन्।
आर्थिक ऐन २०८१ बाट ४६ प्रकारका रूखका गोलिया काठको निर्यात शुल्कलाई डेढ सय प्रतिशतसम्मले कम गरिएको छ।
विगतमा यस्ता काठको निर्यातमा २०० प्रतिशत महसुल लाग्ने गरेकोमा अहिले ५० प्रतिशतमा झारिएको छ। यसरी उल्लेख्य मात्रामा निर्यात महसुल घटाएपछि सोझै काठ निर्यात हुने तर, प्लाइउड उद्योगले कच्चा पदार्थ समेत नपाएर बन्द हुने अवस्था सिर्जना हुने गुनासो उद्योगीको छ।
व्यवसायीका अनुसार प्लाइउडमा प्रमुख रूपमा उत्तिस र मसलाको रूखको गोलिया प्रयोग हुन्छ। मसलाको गोलियाको निर्यातमा महसुल घटाइएको छ।
साथै उत्तिसको घटेको हो वा होइन प्रस्ट पारिको छैन।