चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा) ले गरेको काडा अटो एक्सपोमा ५१ वटा गाडीहरु बिक्री भएका छन्। ९८ वटा गाडी बिक्रीका लागि बुकिङ भएका छन्। बिक्री र बुकिङ भएका अधिकांश गाडी विद्युतीय हुन्।
एसोसिएसनका अध्यक्ष राजन पियाका अनुसार विद्युतीय (ईभी) र पेट्रोल वा डिजलबाट चल्ने गाडी (इन्टरनल कम्बुसन इन्जिन–आइसीई) गरेर २० भन्दा बढी ब्राण्डका गाडीहरु एक्सपोमा राखिएका थिए।
भदौमा नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले काठमाडौंमा गरेको ‘नाडा अटो एक्सपो २०८१’ ले गाडीको व्यवसायमा उत्साह ल्याएको थियो। उक्त एक्सपोमा ठूलो संख्यामा गाडीहरु बिक्री र बुकिङ भएका थिए।
काठमाडौंपछिको महत्वपूर्ण बजार मानिने चितवनमा दशैंको अवसर पारेर असोज १६ देखि १९ गतेसम्म त्यस्तै एक्सपो गरिएको हो। चितवन अटोमोबाइल डिलर्स एसोसिएसनले गरेको ‘काडा अटो एक्सपो’ को पहिलो संस्करणले चितवनका व्यवसायीहरुमा नयाँ आशाको सञ्चार गरेको छ।
‘हामीले पहिलो पटक एक्सपो गरेर सबै ब्राण्डका गाडीहरूलाई एउटै थलोमा राख्यौं। यसले ग्राहकहरुलाई उपयुक्त गाडी छनोट गर्न सजिलो भयो। सबै ब्राण्ड मध्येबाट आफूलाई उपयुक्त लागेको छनोट गर्ने सुविधा पाउनुभयो,’ पियाले भने, ‘धेरैले एक्सपोमा आएर गाडीका विषयमा जानकारी लिनुभएको छ। कसैले बुकिङ गर्नुभएको छ।’
पियाले अटो एक्सपोले गाडीको व्यापारसँगै समग्र बजारमा चहलपहल ल्याउन सघाएको बताए।
पछिल्ला दिनमा ग्राहकको रोजाइ विद्युतीय गाडीतिर बढी छ। एसोसियसनका उपाध्यक्ष गोपाल भट्टराई विद्युतीय गाडीमा ८० प्रतिशत फाइनान्सको सुविधा भएका कारण ग्राहकको ध्यान त्यतातिर बढी गइरहेको बताउँछन्। बैंकहरुले आइसीई गाडीलाई ५० प्रतिशतमात्रै फाइनान्स गर्छन्।
‘एकातिर नेपाल सरकारले विद्युतीय गाडीमा प्रोत्साहन गर्ने भनेर भन्सार शूल्क कम गर्यो। यसले गाडीको मूल्य सस्तो बनायो। अर्कातिर फाइनान्समा बढी सुविधा पनि विद्युतीय गाडीलाई नै भयो,’ भट्टराई भन्छन्, ‘त्यसैले अहिले देशभर विद्युतीय गाडीकै कारोबार बढी छ। हामीले गरेको अटो एक्सपोमा पनि विद्युतीय गाडीकै बिक्री बढी भयो।’
एसोसिएसनका संस्थापक अध्यक्ष ईश्वरकुमार श्रेष्ठ चितवनमा अहिले विगतको तुलनामा आइसीई गाडीको कारोबार करिब ७० प्रतिशतले घटेको बताउँछन्। त्यो ठाउँ बिस्तारै ईभी गाडीले लिँदै गएको उनले बताए। विद्युतीय गाडीमा आकर्षण बढेसँगै सबैजसो कम्पनीहरु त्यसतर्फै ढल्किन थालेको श्रेष्ठले बताए। उनकाअनुसार कोभिडभन्दा अघिको तुलनामा अहिले गाडीमा करिब ४० प्रतिशतमात्रै कारोबार भएको छ। त्यतिखेर चितवनमा वार्षिक ५ अर्बभन्दा बढीको कारोबार हुन्थ्यो। ४० प्रतिशत व्यापारको ७० प्रतिशत हिस्सा विद्युतीय सवारीले ओगटेको श्रेष्ठले बताए।
‘राज्यले नै प्रोत्साहन गरेपछि माहोल विद्युतीय गाडीतिरै गयो। अचेल निजीमात्रै नभएर यात्रु ओसोर्ने गाडीहरुसमेत विद्युतीय बढी बिक्री भइरहेको छ,’ श्रेष्ठ भन्छन्। उनले आइसीई गाडीको कारोबार पनि गत वर्ष निकै घटेकोमा यस वर्ष सुधारको संकेत देखिएको बताए।
सिट्रोन र निसान ब्राण्डका गाडीहरु बिक्री गर्दै आएको ओजोन मोटर्सका सञ्चालक अञ्जन शाक्यले एक वर्षको अवधिमा एक सयवटा गाडीहरु बिक्री गरेको बताए। तीमध्ये ८० प्रतिशत गाडी विद्युतीय थिए। उनले काडा अटो एक्सपोमामात्रै आफ्ना ८ वटा गाडी बिक्री र १५ वटा बुकिङ भएको बताए। ‘गाडी किन्नेहरु ९० प्रतिशत बढीले फाइनान्स गर्न चाहे,’ उनले भने, ‘फाइनान्सको राम्रो सुविधा भएकाले विद्युतीय गाडीमा सबैको ध्यान छ अचेल।’
युनाइटेड अटो कन्सर्न चितवनका सञ्चालक रविनकुमार श्रेष्ठ बजारमा सबै कुराको व्यापार खस्केको बेलामा विद्युतीय गाडीको व्यापारले राहत दिएको बताउँछन्।
‘मान्छेहरुले विद्युतीय गाडीको महत्व बुझेका छन्। सुरुमा ग्राहकहरु डराएका थिए। व्याट्रीको भविष्य के हुने हो भन्ने अन्यौल थियो। अहिले विश्वास बढ्दै गएको छ,’ उनले भने।
चितवनको सडकमा अहिले ४०० भन्दा बढी विद्युतीय निजी गाडीहरू चलिरहेको अनुमान छ। यो बढ्दोक्रममा छ। यात्रुहरु ओसार्न प्रयोग गरिने ‘ईभी कमर्सियल भेइकल’को संख्या पनि बढिरहेको छ। यस वर्ष विद्युतीय गाडीको कारोबार करिब ३० प्रतिशतले बढ्ने संकेत देखिएको एसोसिएसनका कोषाध्यक्ष यज्ञप्रसाद पौडेल बताउँछन्।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल विद्युतीय गाडीहरुलाई प्रोत्साहन गर्न स्थानीय सरकारले पनि आवश्यक काम गर्ने बताइन्। चितवन देशकै केन्द्र भागमा रहेकाले यहाँ पर्याप्त चार्जिङ स्टेशन निर्माण गर्न महानगरले प्रयास गरिरहेको उनी बताउँछिन्। दाहालले ठूलो क्षमताको चार्जिङ स्टेशन निर्माण गर्नका लागि नेपाल विद्युत प्राधिकरणलाई जग्गा प्रस्ताव गरेको उनले बताइन्।
‘हामीले देशकै ठूलो चार्जिङ स्टेशन चितवनमा बनाउन प्रयास गरिरहेका छौं। भरतपुरलाई विद्युतीय गाडीको चार्जिङ हब बनाउन चाहन्छौं,’ उनले भनिन्, ‘यसका लागि महानगरले प्राधिकरणसँग समन्वय गरिरहेको छ। छिट्टै बन्ने विश्वास छ।’ मेयर दाहालले महानगरले पनि यसै वर्ष केही ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेको बताइन्।
व्यवसायीहरु अर्थतन्त्रमा देखिएको संकुचनलाई घटाउँदै सरकारले दीर्घकालीन नीति अख्तियार गरे अटोमोबाइलको व्यवसाय सुधार हुने बताउँछन्। उनीहरुको गुनासो गाडीलाई सरकारले विलासिता र अनुत्पादक सामग्रीमा समावेश गरेकोमा छ। नेपालमा अहिले गाडी विलासिताको नभई आवश्यकताको साधन भइसकेको व्यवसायी बताउँछन्। सरकारले अझैपनि विलासिताको सामग्री भनेर गाडीमाथि कर थपिरहने काम गरेको अध्यक्ष पिया बताउँछन्।
‘देशको अर्थतन्त्रमा सुधार आउन बजार चलायमान हुनुपर्छ। तर कर माथि कर थपिरहँदा बजार चलायमान हुन गाह्रो पर्छ। यसतर्फ राज्यको ध्यान जानुपर्छ,’ पिया भन्छन्, ‘झण्झटिलो बैंकिङ प्रकृया, उच्च व्याजदरजस्ता कुराले व्यवसायीले राम्रो वातावरण पाउन सकेका छैनन् ।’
उपाध्यक्ष भट्टराई गाडीको डिलरको व्यवसाय सधैं अन्यौलको व्यवसाय बन्नु विडम्बना भएको बताउँछन्।
‘राज्यको नीति कहिले परिवर्तन हुने हो थाहा हुँदैन। अहिले एउटा नीति त अर्को दिन फ्याट्ट परिवर्तन भइहाल्ने जस्तो छ,’ उनी भन्छन्, ‘व्यवसायका लागि स्थिर र दीर्घकालीन नीति चाहिन्छ। अहिले त आफ्नो लगानी नै जोखिममा पारेर व्यवसाय गर्नु परेको छ।’
चितवनमा मोटरसाइकल, स्कुटरको व्यापार केही वर्षदेखि घटेको थियो। यस वर्ष स्कुटरको व्यापारमा सुधार भएको यमाहा मोटरसाइकलको आधिकारिक बिक्रेता कर्मचार्य इन्टरप्राइजेजका सञ्चालक कपिल कर्मचार्यले बताए।
बेला–बेलामा भइरहने मेला, महोत्सवहरुले बजारलाई चलायमान बनाउन थालेको उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओली बताउँछन्।