वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले केही दिनअघि जिम्बु थकालीलाई तीन लाख रूपैयाँ जरिवाना तिरायो। अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी पैसा लिएर बोतलको पानी बेचेको भन्दै जिम्बु थकालीलाई कारबाही गरिएको हो।
विभागको यो कारबाहीले केही प्रश्न खडा गरेको छ —
एमआरपीको नियम रेस्टुरेन्ट वा होटलहरूमा लागू हुन्छ कि हुँदैन? हुन्छ भने एमआरपीभन्दा बढी पैसा लिएर पानी बेच्नेलाई मात्र कारबाही किन गर्ने? बियर वा कोल्ड ड्रिंक्स पनि एमआरपीभन्दा बढीमै बिक्री भइरहेका छन्, यसमा कारबाही किन नगर्ने?
कारबाही नै गर्ने भए रेस्टुरेन्टलाई मात्र किन, पाँचतारे होटलहरूले पनि एमआरपीभन्दा बढी नै भाउ लिइरहेका छन्, तिनलाई कारबाही किन नगर्ने?
यति मात्र होइन, मान्छेहरू रेस्टुरेन्टको आरामदायी सोफामा बसेर, एयरकन्डिसनको चिसो खाँदै, म्युजिक सुन्दै, गिलासमा सर्भ गरिएको पानी पिउँछन्, अनि त्यस्तोमा पनि एमआरपीकै पैसा तिर्छु भन्न मिल्छ कि मिल्दैन?
यसबारे अन्तर्राष्ट्रिय अभ्यास के छ?
राजमार्गका होटलहरूमा वर्षौं वर्षदेखि उपभोक्ताले पानी त के, चाउचाउ-बिस्कुट पनि एमआरपीभन्दा बढी तिरिरहेका छन्, तिनलाई कहिले कारबाही गर्ने?
हामीले यी प्रश्न विभागका महानिर्देशक राजन पौडेललाई सोधेका छौं।
एमआरपी मूल्य नै अन्तिम भएकाले त्योभन्दा बढीमा कसैले बेच्न नपाउने उनको भनाइ छ। तर होटल तथा रेस्टुरेन्टहरूले एमआरपी लागू गर्ने सवालमा उपभोक्ताको भावना हेरेर निर्णय गर्नुपर्ने उनले बताए।
'पानी अत्यावश्यक पेय भएकाले होटल/रेस्टुरेन्ट कसैले पनि एमआरपीभन्दा बढी लिन पाइँदैन,' उनले भने, 'मदिरा, चुरोट वा अन्य पेयपदार्थमा भने यो लागू हुँदैन।'
ठूला होटलहरूको मूल्य तुलनात्मक महँगो हुने भए पनि त्यहीअनुसार एमआरपी कायम गर्नुपर्ने उनको तर्क छ।
हेर्नुहोस् एमआरपीका सवालमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक राजन पौडेलसँगको भिडिओ कुराकानी —