महिला उद्यमीका कथा
एक वर्षअघि ललितपुरकी अञ्जना अर्यालले टिकटकमा एउटा भिडिओ पोस्ट गरिन्।
भिडिओमा उनले आँप र कटहरको अचार बनाउँदै रेसिपी देखाएकी थिइन्। अनि अन्त्यमा भनेकी थिइन् – अचार मन परेमा अर्डर गर्न सक्नुहुनेछ।
एक मिनेटको त्यो भिडिओ केही घन्टामा हजारौंले हेरे। टिकटकबाटै थुप्रै अर्डर आयो।
'त्यो अचार घरमै खान थोरै बनाएकी थिएँ,' उनले भनिन्, 'त्यसरी अर्डर आउला भन्ने सोचेकै थिइनँ। प्रत्येक मिनेटमा अर्डर बढ्दै गयो।'
त्यति धेरै अर्डर आएपछि उनी छक्क परिन्।
'नसोचेको भयो। अब कसो गर्ने होला भन्ने भयो। अर्डर पूरा गर्ने अचार थिएन,' अञ्जनाले सम्झिइन्।
भोलिपल्ट उनले श्रीमानलाई आँप र कटहर किन्न पठाइन्। आफूले मरमसला र तोरीको तेल किनिन्। घरकै किचनमा आँप र कटहरको मिक्स अचार बनाइन्। यति गर्दा जम्मा तीन हजार रूपैयाँ खर्च भयो।
चार दिनमा अचार बिक्रीका लागि तयार भयो। अर्डर गर्नेलाई सम्पर्क गर्दै उनले घरमै पठाइदिइन्।
यसपछि त झन् अचारको माग बढ्यो। यसै गरी अर्डर आउने हो भने त व्यवसाय नै हुन्छ भन्ने निष्कर्षमा पुग्न उनलाई कत्ति समय लागेन।
'मैले बनाएको रेसिपी र अचार यति धेरैले मन पराउनुभएको छ, अर्डर आइरहेको छ भने व्यवसाय किन नगर्ने भन्ने सोचेँ। अचार बनाउन रूचि पनि थियो,' उनले भनिन्।
अञ्जनाले तत्कालै 'घरको स्वाद' नाम राखेर एउटा कम्पनी दर्ता गरिन्। घरेलु तरिकाले आफैले बनाउने भएकाले त्यही अनुसार नाम राखेको उनको बताइन्। २०८० भदौमा घरको स्वाद ब्रान्डमा अञ्जनाको अचार व्यावसायिक रूपमा बजार पुग्न थाल्यो। त्यसयता एक दिन पनि उनको हात र काम खाली भएको छैन। उनले सामाजिक सञ्जाल र घरको स्वाद ब्रान्ड नामको मुनि 'अञ्जनाको अचार' पनि लेखेकी छन्।
एक वर्षअघि आँप र कहटरको अचारबाट सुरू गरेकी अञ्जना अहिले मुला, तामा, डल्ले खुर्सानी, इम्ली, अमला, लप्सी, निबुवा, कागती, गुन्द्रुक, काउली, काँक्रो, मेथी, टिमुर, मसरूम सुकुटी लगायत गरी २२ थरी अचार बनाउँछिन्।
घरको स्वादका सबै थरी अचार ग्राहकले मन पराएको उनले बताइन्।
'आफ्नै रेसिपी भएकाले छोटो समयमै धेरैले मिठो मान्नुभयो,' उनले भनिन्, 'नयाँनयाँ स्वाद थप्ने योजना छ। ग्राहकको मागअनुसार पनि बनाउँछु।'
अचार बनाउन उनी टिमुर रोल्पाबाट, काँक्रो र डल्ले खुर्सानी इलामबाट, काउली र अन्य मौसमी तरकारी मकवानपुरबाट र आँप तराईबाट मगाउँछिन्। अरू सामान काठमाडौं उपत्यकाकै बजारमा किन्छिन्।
अचारको किसिम अनुसार प्रतिकिलो आठ सयदेखि २२ सय रूपैयाँसम्म छ। लगानी, मेहनत र स्वाद हेरी ग्राहकका लागि अचार किफायती भएको उनको भनाइ छ।
हेटौंडामा जन्मे-हुर्केकी अञ्जनाले आमाबाट प्रेरित भएर अचार बनाउन थालेकी हुन्। सानैदेखि उनी आमाले खानेकुरा पकाएको हेरिरहन्थिन्।
'आमालाई पनि अचारकै व्यवसाय गर्न खुब इच्छा थियो। तर अहिले जस्तो सहज नभएकाले सक्नुभएन,' उनले भनिन्।
अहिले अञ्जना आफ्नो र आमाको अधुरो रहर पूरा गरिरहेकी छन्।
ख्यालख्यालमा हालेको भिडिओबाट अनायासै व्यवसाय बढेपछि उनी दंग छिन्। बजार विस्तार गर्न धेरै मेहनत गर्नुपरेको छैन। पहिल्यैदेखि सामाजिक सञ्जालमा सक्रिय थिइन्। विभिन्न परिकारका रेसिपी सिकाएर पोस्ट गर्थिन्। फलोअरहरू थिए। त्यसले नै व्यापार बढायो।
अहिले पनि सिजन अनुसारको अचार बनाएपछि उनी इन्स्टाग्राम, युट्युब, टिकटकमा प्रचार गर्छिन्। ग्राहकहरूले भनेको ठाउँसम्म पुर्याउन डेलिभरी कम्पनीहरूसँग सहकार्य गरेकी छन्।
अचार बनाउने काम भने ललितपुरस्थित उनको आफ्नै घरमा हुन्छ। एक्लै काम सुरू गरेकी उनलाई सघाउन हाल १५ जना कर्मचारी छन्। यसरी धेरै जनाले काम गर्दा पनि सिजनमा अर्डर पूरा गर्न भ्याइनभ्याइ हुन्छ।
'कुनै अचार स्टक (बाँकी) बस्दैन। कहिलेकाहीँ त अर्डर पूरा गर्न रातभरि पनि काम गर्नुपर्छ,' एक वर्षको उपलब्धिबाट उत्साहित अञ्जनाले भनिन्, 'यसरी व्यापार होला भन्ने सोचेकै थिइनँ। अहिले एकदमै खुसी छु र जिम्मेवारी पनि महसुस गरेकी छु। गुणस्तरमा पनि ध्यान दिएकी छु।'
अब उनको सोच भनेको घरको अचारको व्यापारलाई उद्योग बनाउने हो। पसल खोल्ने पनि योजना छ। यसका लागि ठाउँ खोज्दै छिन्। काठमाडौं बाहिरका सहरमा पनि मागअनुसार आउटलेट (पसल) खोल्ने सोच उनको छ।