तपाईं घर वा कार्यालयमा राख्न बोटबिरूवा र गमला खोज्दै हुनुहुन्छ?
वा, बिरूवा हेरचाह गर्न माली सेवा चाहिएको छ?
यसो हो भने काठमाडौं उपत्यकामा 'गमला घर' ले तपाईंको आवश्यकता पूरा गर्नेछ। गमला घरले तपाईंलाई भित्र राख्ने इनडोर प्लान्ट र उपयुक्त गमलाका साथ मालीको सेवा पनि उपलब्ध गराउँछ।
गमला घरका सञ्चालक दीपेन्द्र तुलाधारले यसरी सहरका घरहरूमा इनडोर प्लान्ट र गमला पुर्याउन थालेको चार वर्ष भयो।
'बिरूवा र गमला एकै ठाउँमा पाइने शोरूमका रूपमा गमला घर खुलेको थियो,' दीपेन्द्रले भने, 'हाम्रो सेवा धेरैले रूचाउनुभयो। हामी घर र कार्यालयमा बिरूवा सजावटको काम गर्छौं।'
गमला घरको शोरूम ललितपुरको कुपन्डोलमा छ। नजिकै नर्सरी पनि छ। यहाँ स्वदेशी-विदेशी बिरूवा र थरीथरीका गमला पाइन्छन्। दीपेन्द्रले बिरूवाका लागि काठमाडौं उपत्यकाका दसवटा नर्सरीसँग सहकार्य पनि गरेका छन्। उनी यी नर्सरीबाट ठूलो परिमाणमा बिरूवा किन्छन्। अनि गमलासहित बेच्छन्।
विभिन्न डिजाइनका गमला र स्वदेशमा नपाइने बिरूवाहरू चीन, भारत र नेदरल्यान्ड्सबाट मगाउँछन्।
'पहिलो वर्षमै ग्राहकहरूले विदेशी बिरूवा खोजी गर्नुभयो। मागअनुसार नै पहिलोपटक चीनबाट केही बिरूवा ल्यायौं। अहिले स्वदेशी र विदेशी दुबै बराबर बिक्री हुन्छ,' उनले भने।
हाल गमला घरमा तीन सयभन्दा बढी प्रकारका इनडोर प्लान्ट उपलब्ध छन्। स्नेक प्लान्ट, पिस लिली, एन्थोरियम, डाइफन, एरिका पाम बढी रूचाइएका छन्। यिनको हेरचाह गर्न पनि सजिलो हुन्छ।
'इनडोर प्लान्टले घरको आन्तरिक सजावट राम्रो बनाउँछ। स्वास्थ्यका लागि पनि उपयोगी हुन्छन्, घरभित्रको हावा शुद्धीकरण हुन्छ,' दीपेन्द्रले भने, 'हामीले बेच्न गमला पनि वातावरणका लागि अनुकूल छन्।'
गमला घरमा माटो, टेराकोटा, सेरामिक्स, फाइबर र प्लास्टिक फाइबरका गमला पाइन्छ। गमलासहितको बिरूवाको मूल्य दुई सय रूपैयाँदेखि २० हजार रूपैयाँसम्म छ।
इनडोर प्लान्टको बिक्री सिजन फागुनदेखि असोजसम्म हो। कात्तिकदेखि माघभरिको चिसो मौसममा बिरूवा बचाउन अलिक गाह्रो हुन्छ। तर बिरूवाका पारखीहरू चिसो मौसममा पनि स्याहार गरेर जोगाउन सिपालु हुन्छन्।
गमला घरले ग्राहकहरूलाई बिरूवा र गमलाको सुरक्षा, सिँचाइ, औषधि, प्रकाश लगायत हेरचाहका आवश्यक सबै पक्षको जानकारी पनि गराउँछ। बिरूवामा कुनै समस्या देखिए परामर्श पनि दिन्छ।
'हामी बिरूवा मात्र बेच्दैनौं। ग्राहकलाई सल्लाह र सुझाव पनि दिन्छौं। हाम्रो यस्तो सेवाले ग्राहकलाई सजिलो भएको छ,' दीपेन्द्रले भने, 'बिरूवाप्रति आकर्षण पनि बढेको छ।'
गमला घरमा दीपेन्द्रलाई १५ जनाले काम सघाउँछन्।
ललितपुरको भैंसेपाटीमा जन्मेहुर्केका दीपेन्द्रलाई सानैदेखि बोटबिरूवामा रूचि थियो। उनी आफ्नो करेसाबारीमा फूल रोप्थे। आफन्त र साथीहरूका घरबाट नयाँ बिरूवा ल्याउँथे।
'हामीले घरबाहिर विभिन्न प्रकारका फलफूलका बिरूवा लगाएका थियौं। घरभित्र थिएन। म नयाँ बिरूवा खोजेर ल्याउँथें। आफूसँग भएका बिरूवा साथीहरूलाई पनि दिन्थेँ,' उनले सम्झिए।
इनडोर प्लान्ट व्यवसाय सुरू गर्ने योजना भने कोरोनाको समयमा मात्र बनेको हो। त्यसअघि उनी विज्ञापन एजेन्सी चलाउँथे। कमाइ ठिकै थियो। तर कोरोना फैलिएपछि कम्पनी बन्द भयो।
उनले फुर्सदको त्यो समयमा आफ्नै फूलबारीका बिरूवा गमलामा सजाउने विचार गरे। गमला खोज्न अनेक ठाउँ पुगे। नर्सरीहरू घुमे। खोजेजस्तो गमला पाएनन्। यही खोजीका क्रममा उनले बिरूवा र राम्रो गमला एकै ठाउँमा उपलब्ध गराउने गरी व्यवसाय गर्ने सोच बनाए।
'नर्सरीहरूमा बिरूवा पाइए पनि राम्रो गमला पाइँदैन थियो। मैले बिरूवा र गमला एकै ठाउँमा पाइने शोरूम खोल्ने विचार गरेँ,' उनले भने, 'मेरो रूचि इनडोर प्लान्टमा थियो। त्यसैअनुसार आँट गरेर काम सुरू गरेँ।'
दुई सयवटा बिरूवा संकलन गरेपछि व्यवसायका लागि उपयुक्त ठाउँ खोजे। कोभिडका कारण सटर खाली हुँदै थिए। उनले कुपन्डोलमा पाए।
इनडोर प्लान्ट र नर्सरीबारे धेरै जानकारी नभए पनि दीपेन्द्रलाई रूचिले व्यवसायमा तानेको थियो। उनी चल्तीको भन्दा अलिक फरक तरिकाले अघि बढ्न चाहन्थे।
यसैअनुसार ५० लाख रूपैयाँ लगानी गरेर व्यवसाय सुरू गरे।
महिना दिन लगाएर संकलन गरेका बिरूवा बिक्न हप्ता दिन पनि लागेन। व्यापारले उनलाई उत्साहित बनायो। इनडोर प्लान्ट खोजी गर्नेको संख्या निकै ठूलो रहेको उनले थाहा पाए।
'सुरूका केही महिना त बिरूवा र गमला शोरूममा ल्याउनसाथ बिक्यो। ग्राहकहरू मोबाइलमा फोटो देखाउँदै बिरूवा खोज्न आए। माग पूरा गर्नै मुस्किल भयो,' उनले भने।
ग्राहकले खोजे अनुसार उनले भारत र चीनबाट पनि बिरूवा र गमला मगाउन थाले। कोभिडकै समयमा व्यवसायले उचाइ लियो। काठमाडौं उपत्यका बाहिरबाट पनि अर्डर आउन थाल्यो।
'बजारमा नयाँ व्यवसाय स्थापित गराउनु थियो तर धेरै दुःख गर्नु परेन,' उनले भने।
बिस्तारै घर र कार्यालयहरूसँगै ठूला होटल र रेस्टुरेन्टहरूले पनि बिरूवा सजावटका लागि बोलाउन थाले। कतिपयले बिरूवाको हेरचाहका लागि गमला घरकै माली पठाउन अनुरोध गरे। यसरी गमला घर बिरूवाका पारखीहरूको रोजाइमा पर्यो।
गमला घरबाट अन्य नर्सरीहरूले पनि बिरूवा र गमला लैजाने गरेका छन्।
दीपेन्द्रका अनुसार जन्मदिन, विवाह, ब्रतबन्ध र अन्य उत्सवहरूमा बिरूवा उपहार दिने चलन पनि सुरू भएको छ। यसले व्यापार बढाउन मद्दत पुर्याएको उनी बताउँछन्।
'गमला घरले मासिक सरदर ३० लाख रूपैयाँको व्यापार गर्छ,' दीपेन्द्रले भने, 'बिरूवाको व्यापारले मन खुसी भएको छ। आम्दानी पनि राम्रै छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी