वसन्तीदेवी खत्री ७६ वर्षकी भइन्। अहिले पनि उनी बिहान चार बजे नै उठ्छिन्। उनको दिनचर्या राति नौ बजेसम्म चल्छ।
उनको घर बुटवल उपमहानगरपालिका–७, शिवनगरमा छ। उनी घरमै 'वसन्ती अचार उद्योग' चलाउँछिन्।
उद्योगमा ६ जना कर्मचारी छन्, सबै महिला हुन्। काम बढी भएको समयमा वसन्तीले ज्यालादारीमा श्रमिक राख्छिन्। यस्तो बेला दैनिक २० जनासम्मले काम गर्छन्।
'मेला, महोत्सव र चाडवाडका समयमा महिनाकै ५० क्विन्टलसम्म अचार बनाउनुपर्छ। शाकाहार र मांसाहार गरी कम्तीमा ३० किसिमको अचार बन्छ,' वसन्तीले भनिन्।
उनका अनुसार एकै खेपमा तीन-चार लाख रूपैयाँको अचार किन्ने व्यापारी घरमै आउँछन्। उनले खुद्रा बिक्री गर्नु पर्दैन, सबै थोकमै जान्छ। अचार बुटवल क्षेत्रका होटल, किराना पसल र हाटबजारबाहेक काठमाडौं, पोखरा, भरतपुर, नारायणगढ, पाल्पा, कपिलवस्तु लगायत ठूला सहरमा पुग्छ।
'वार्षिक एक करोड रूपैयाँ कारोबार भइरहेको छ,' वसन्तीले भनिन्।
अचारबाट नाम र दाम दुवै कमाइरहेकी वसन्ती अहिले पनि दिनभर उद्योगकै काममा खटिन्छिन्। कान्छी बुहारीले उनलाई सहयोग गर्छिन्। अचार उद्योगबाट चार छोरी र तीन छोरा पढाएर, उनीहरूको पारिवारिक जीवन व्यवस्थित गरिदिइन्। सबै जना आआफ्ना पेसा-व्यवसायमा छन्। उनका श्रीमानको भने डेढ वर्षअघि निधन भयो।
केही आम्दानी भइहाल्छ कि भनेर सुरू गरेको अचार व्यवसाय करोडको व्यापार गर्ने उद्योग बन्ला भन्ने वसन्तीले कहिल्यै सोचेकै थिइनन्।
'आँप, तेल, मुङ्रिलो, मिठा सोफ र हिङ गरेर ५० रूपैयाँको सामान किनेर पहिलोपटक अचार बनाएकी थिएँ,' उनले सम्झिँदै भनिन्, 'मैले अचार बनाएर बेच्न थाल्दा बुटवलमा यस्तो काम गर्ने कोही थिएनन्।'
वसन्ती बर्मामा (हालको म्यानमार) जन्मिएकी हुन्। हुर्काइ भने भारतको मेघालयमा भयो। त्यहीँ शेरबहादुर खत्रीसँग उनले बिहे गरिन्। सन्तान सबै उतै जन्मे। सात सन्तान साथमा लिएर २०४४ सालमा खत्री दम्पती बुटवल आएका थिए।
उनीहरूको आम्दानीको स्रोत थिएन। शेरबहादुर पनि रोगी थिए। वसन्तीले अचारको व्यवसाय गर्ने विचार गरिन्।
'मलाई अचार खुब मनपर्थ्यो। मेरी आमाले अचार बनाउँदा ध्यान दिएर हेर्थेँ,' उनले भनिन्।
त्यही सम्झेर वसन्तीले एक दिन दस किलो आँपको अचार बनाइन्। २०४५ साल जेठ महिना थियो। करिब १५ दिनमा अचार खान योग्य भयो। वसन्तीले घ्याम्पोबाट अचार झिकेर सालको पातमा दुई रूपैयाँ र तीन रूपैयाँको भाग बनाइन्। केही मानिसले किने, अचार मिठो माने।
बेच्न सुरू गरेको तीन दिनमै अचार सकिएपछि वसन्ती उत्साहित भइन्। त्यसपछि मौसम अनुसारका फलफूल र कन्दमूलको अचार बनाउन थालिन्। सालको पातबाट बट्टामा फड्को मारिन्। एक किलोका दरले बट्टामा हालेर रामनगर, दीपनगर, शिवनगर, सुख्खानगर सम्मका किराना पसलमा दिन थालिन्।
उनले अचारसँगै ल्वाङ, सुकमेल, टुक्रा सुपारी पनि ससानो प्लास्टिक प्याक बनाएर पसल दिइन्। सबै फटाफट बिक्री भयो।
यो क्रम रोकिएन। उनी केही किलोबाट क्विन्टल परिमाणको अचार बनाउन थालिन्। उनी महिला उद्यमीका रूपमा सुपरिचित भइन्।
२०६२ सालमा बुटवलमा भएको व्यापार मेलामा उनले अचारको स्टल राखिन्।
'आयोजकले स्टल राख्न त भने, तर भाडा तिरेर राख्यो, अचार बिकेन भने घाटा होला भन्ने सोचेर हच्किएकी थिएँ। पछि स्टल निःशुल्क दिने भएपछि मेलामा भाग लिएँ,' वसन्तीले भनिन्।
त्यो मेलामा पाँच क्विन्टल अचार बिक्यो। किराना पसलबाट उनकै अचार किनेर खानेहरूले पनि उनलाई चिनेका थिएनन्। मेलाले उनको परिचय झन् फराकिलो बनायो। त्यहाँ अचार किनेका कतिपय ग्राहक पछि घरै पुगे। व्यापारले ह्वात्तै फड्को मार्यो।
त्यसपछि वसन्तीले उद्योग दर्ता गर्ने सोचिन्।
'उद्योग नै दर्ता गरेर अलिक व्यवस्थित रूपमा चलाउनुपर्छ भन्ने लागेर घरेलु उद्योग कार्यालयमा उद्योग दर्ता गरेँ,' उनले भनिन्।
उनले २०६३ सालमा वसन्ती अचार नाम राखेर उद्योग दर्ता गराइन्। अलिक पछि रूपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ र रूपन्देही व्यापार संघमा पनि सदस्यता लिइन्।
बुटवलमा हुने औद्योगिक प्रदर्शनी र व्यापार मेलाहरूमा अचेल 'वसन्ती अचार' अनिवार्यजस्तै भएको छ। अन्य सहरमा हुने महोत्सवमा पनि आफ्ना प्रतिनिधि पठाउँछिन्।
अहिले उनको उद्योगबाट मटन, बफ, चिकेन, फिस, आँप, अमला, हरियो खुर्सानी, अकबरे खुर्सानी, मुला, तामा, कोइरालो, कागती, तितेकरेला, मेथी, च्याउ, लप्सी, कटहर, गुन्द्रुक, लसुन, टिमुर इत्यादिको विभिन्न स्वादमा अचार बन्छ।
अचार बनाउने फलफूल र कन्दमूल बाह्रै महिना उपलब्ध हुँदैन। वसन्ती जुन मौसममा जे उपलब्ध हुन्छ, त्यही समयमा किनेर सुरक्षित भण्डारण गर्छिन्। एक हजार लिटर क्षमताका ३० वटा ट्यांकीमा आँप, खुर्सानी, कागती, अमला, लप्सी लगायत भण्डारण गरेकी छन्।
'अचार बनाउन चाहिने कच्चा पदार्थ काटेर, सुकाएर ड्रममा राख्दा एक वर्षसम्म बिग्रिँदैन। पछि जति बेला चाहिन्छ उति बेलै अचार बनाउँछौं,' उनले भनिन्।
वसन्ती अचार बनाउने तालिम पनि दिन्छिन्। अहिलेसम्म २३० जना महिलालाई तालिम दिइसकिन्। व्यापार मेलाहरूमा उत्कृष्ट महिला उद्यमीका रूपमा पुरस्कृत पनि भएकी छन्।
'अठोट, मेहनत, इमानदारी र धैर्य छ भने मात्र व्यवसायमा सफलता प्राप्त हुन्छ,' उनी भन्छिन्।