महिला उद्यमीका कथा
कुनै समय डोको, डालो, मान्द्रो बुन्नु रजनीको बाध्यता थियो। सानै उमेरदेखि यही काम गर्नुपर्दा उनी पढ्न जान पाइनन्। घरमा दुई छाक जुटाउन पनि मुस्किल थियो।
अहिले त्यही सीप उपयोग गर्दै रजनी राई चित्रकार उद्यमी बनेकी छन्। दुई दर्जनभन्दा धेरै हस्तकला सामग्री उत्पादन गरेर बेचिरहेकी छन्। रोजगारी सिर्जना गर्नुका साथै आफूले जानेको सीप सिकाएर थुप्रै महिलालाई आत्मनिर्भर पनि बनाएकी छन्।
'सीपले नै रोजगारी दिन्छ, उद्यम गर्न प्ररेणा दिन्छ,' रजनीले भनिन्।
चार दशकदेखि हस्तकलाको काम गरिरहेकी रजनीले उद्योग खोलेको भने एक दशक भयो। सबै सामान उनी काठमाडौंको आफ्नै घरमा तयार गर्छिन्। उनी बाँस, थाकल र काँस (वनस्पति) बाट कलमदानी, चकटी, टेबल म्याट, ढाकी, गमला, हटकेस, गरगहना, झोला, डालो, नाङ्लो, डस्टबिन, ट्रे लगायत सामान बनाउँछिन्। यी सामान एक सयदेखि दुई हजार रूपैयाँसम्म बेच्छिन्।
केही समयअघि कीर्तिपुरमा उनको पसल पनि थियो। ठाउँ उपयुक्त नभएकाले बन्द गरिन्। अहिले उनी व्यापार मेलाहरूमा सामान बेच्छिन्। शनिबार दरबारमार्गमा लाग्ने रैथाने हाटबजारमा लैजान्छिन्। अनलाइनमार्फत् पनि बिक्री हुन्छ। काठमाडौं उपत्यकाबाहेक पोखरा, बुटवल, भैरहवा, झापा, विराटनगर लगायत ठाउँमा उनका सामान पुगेका छन्। बजार विस्तार क्रममा उनी चीन, भारत, हङकङ लगायत देश पुगेकी छिन्।
'विदेशीले हस्तकलाका सामान, नेपाली उत्पादन खुब मन पराउँछन्,' उनले भनिन्, 'त्यसैले यस्ता सामग्री संरक्षण गर्न र बढीभन्दा बढी महिलालाई रोजगारीमा ल्याउन म लागिपरेकी छु।'
४८ वर्षीय रजनी धनकुटाको सहिदभूभि गाउँमा जन्मिएकी हुन्। हस्तकलाका सामान बुन्नु उनको पुर्ख्यौली सीप हो। उनले पनि सानैमा सिकिन्।
'स्कुल जाने उमेरमा म दिनभर सामान बुन्थेँ। परिवारको आर्थिक अवस्था कमजोर, त्यसमाथि म जेठी छोरी। त्यति नगरे खान मुस्किल थियो। त्यसैले सामान्य लेखपढ मात्र गर्न पाएँ,' उनले भनिन्।
रजनीले सात वर्षको उमेरदेखि नै बुन्न सिकेकी थिइन्। अरूले काम गरेको हेर्दै पहिलोपटक मान्द्रो बुनिन्। राम्रो त भएन। उनले फेरि बनाइन्। फेरि पनि राम्रो भएन। रजनीले सिपालु नहुञ्जेल बनाइरहिन्। यसैगरी मान्द्रो, डोको र डालो बुन्न जानिन्।
त्यो बेला घाँस, दाउरा, गाग्रीदेखि तरकारी, अन्नपात, मालसामान र कोसेलीसम्म डोकोमै बोकेर लगिन्थ्यो। डोको दैनिक जीवनको अभिन्न सामान थियो। सानै उमेर भए पनि रजनीलाई डोको धेरै बिक्छ भन्ने बुझ्न गाह्रो भएन।
'तर डोको बुन्न निकै गाह्रो हुन्थ्यो। त्यति बेला काटेको घाउको डाम हातमा अझै छ। एकपटक चोया काढ्दा खुकुरीले मासुको चोक्टै लगेको थियो। अहिले टालियो,' हातको खत देखाउँदै उनले भनिन्, 'तर जति चोट लागे पनि सीप सिक्न र काम गर्न कहिल्यै छोडिनँ।'
सिकाइ र भोगाइले नै मान्छेलाई परिपक्व बनाउँदै लैजान्छ, रजनी हस्तकलामा निखारिँदै गइन्। नौ वर्षको उमेरदेखि त आफूले बनाएका सामान आफैं बेच्न जान थालिन्। त्यो बेला धनकुटामा बुधबारे हाटबजार लाग्थ्यो। रजनी बिहान तीन बजे नै उठेर, सामान बोकेर, खाली खुट्टा हिँडेर बुबा र काकाहरूसँग बजार पुग्थिन्।
एउटा सामान एक/दुई रूपैयाँमा बिक्थ्यो। उनको परिवारले कुल एक/डेढ सय रूपैयाँको सामान बेच्थ्यो। त्यो पैसाले उनीहरू नुन, तेल, मट्टीतेल किनेर घर फर्किन्थे।
त्यसरी पैसा आएको देखेर रजनीको काम गर्ने जाँगर बढ्थ्यो। उनी दिनरात सकेसम्म सामान बनाएरै बस्थिन्। साताको ६ दिन सामान बुन्नु र एक दिन बजार गएर बेच्नु उनको नियमित काम बन्यो।
यसरी नै दुई-चार वर्ष बिते।
त्यो बेला रजनीका छिमेकीहरू हाटबजारसँगै काठमाडौंमा पनि सामान ल्याएर बेच्थे। एक दिन उनका बुबाले पनि काठमाडौंमा सामान बेच्ने निधो गरे। २०४२ सालमा बाबुछोरी आफूले बुनेका सामान बोकेर काठमाडौं आए। त्यति बेला रजनी १४ वर्षकी थिइन्।
काठमाडौंमा चिनजानका कोही थिएनन्। केही दिन बस्न सुन्धारामा कोठा लिए। अनि बिहानदेखि साँझसम्म व्यापारमा निस्किए।
'हातमा नाङ्लो र नाङ्लोभरि हस्तकलाका सामान राखेर असनतिर डुल्थ्यौं,' रजनी त्यो समय सम्झिन्छिन्, 'काठमाडौंको बजारले हस्तकला सामान निकै रूचाउँथ्यो। व्यापार गर्न कठिन थिएन।'
यसरी उनीहरू धनकुटामा उत्पादन गरेर काठमाडौंमा सामान बेच्न थाले। कहिलेकाहीँ साता दिनमै सबै बिक्थ्यो, कहिले समय लाग्थ्यो।
रजनी सामान बुन्न मात्र होइन, बेच्न पनि मेहनत गर्थिन्। उनी ग्राहकसँग राम्रो बोल्थिन्, सामानबारे बताउँथिन्। बिस्तारै काठमाडौंको बजार उनीहरूलाई फाप्दै गयो। यसपछि बुबाले रजनीलाई काठमाडौंमै बस्न भने। जैसीदेवलमा डेरा खोजिदिए। अनि बुबा धनकुटाबाट सामान पठाउन थाले, रजनी कुपन्डोल र न्यूरोडका होलसेलमा बेच्न थालिन्। आएको पैसा केही आफूलाई खर्च राख्थिन् र बाँकी घरमा पठाउँथिन्।
सामान बेच्ने कामबाट निस्केको फुर्सदमा पनि उनी खाली बसिनन्। उनको डेरानजिकै एउटा गार्मेन्ट थियो। त्यहाँ गएर लुगा सिउने काम सिकिन्।
'धनकुटाबाट सामान धेरै आउँदैन थियो। फेरि समय पनि लाग्थ्यो। अनि म अरू काममा व्यस्त हुन थालेँ,' रजनीले भनिन्, 'गार्मेन्टको काम सिके पनि धेरै समय गरिनँ। बरू डेरामै बसेर हस्तकलाकै सामान बनाउँछु भन्ने सोचेँ।'
चोया र बाँस खोज्दै जाँदा उनले बुढानीलकण्ठमा फेला पारिन्। त्यहाँबाट टेम्पूमा हालेर डेरासम्म चोया र बाँस ल्याउँथिन् र दिनभरि सामान बुन्थिन्। बजार त उनले बनाएकै थिइन्।
'यो काममा मेहनत धेरै परे पनि लगानी धेरै हुन्थेन। कमाइ चित्त बुझ्दो हुन्थ्यो। त्यसैले दुःख भए पनि यही काममा खुसी भएँ,' उनले भनिन्।
यसैबीच रजनीको चिनजान काठमाडौंका स्थानीय बासिन्दा विजय कुमार चित्रकारसँग भयो। समयसँगै उनीहरूबीच प्रेम बस्यो। तर विजयको परिवारले उनीहरूको सम्बन्ध स्वीकार गरेन। विजय र रजनीलाई पनि अलग हुन मञ्जुर भएन। विजयले घर छाडे र उनीहरूले बिहे गरे।
केही वर्ष बिते, रजनी आमा बनिन्।
यतिञ्जेलसम्म बाँस र चोया ल्याउन गाह्रो हुन थालेकाले रजनीको काम सुस्ताउन थालेको थियो। त्यसैले उनले यो काम छाडेर पसल खोल्ने सोचिन्।
उनले सुरूमा मिठाइ पसल खोलिन्। तर यो काममा न उनको सीप थियो, न अनुभव। सोचेजस्तो व्यापार भएन। यसपछि उनी खाजा पसलतिर लागिन्। यसमा भने राम्रो व्यापार भयो। घर खर्च चलाउनेदेखि छोराछोरी पढाउने खर्च चल्यो। बचत पनि भयो। एक दशक खाजा पसल चलाउँदा त उनले घरजग्गा पनि जोडिन्।
यसपछि उनी फेरि हस्तकलाको काममा फर्किएकी हुन्। २०७० सालदेखि उनी 'रजनी हस्तकला उद्योग' चलाइरहेकी छन्। उद्योगलाई चाहिने चोया उनी धनकुटाबाट मगाउँछिन् भने बाँस बल्खुबाट लैजान्छिन्। पराल, थकाल, काँस लगायत अरू सामान विभिन्न जिल्लाबाट ल्याउँछिन्। अनि घरै बसेर सामान बनाउँछिन्। यसबाट आम्दानी राम्रो भइरहेको उनले बताइन्।
आजभोलि गाउँगाउँमा तालिम दिन जाने भएकाले उनको व्यस्तता झनै बढेको छ। यो सीप जोगाउन आवश्यक ठानेर तालिममा सक्रिय भएको उनी बताउँछिन्। त्यस्तै महिलाहरूलाई कुनै न कुनै सीप सिक्न र आत्मनिर्भर बन्न सुझाव दिन्छिन्।
'मलाई कुनै दिन दुई छाक खान पनि गाह्रो थियो। अहिले उद्यमी भएकी छु, भरिपूर्ण छु,' रजनीले खुसी हुँदै भनिन्, 'यो सबै सीप र मेहनतले नै हो। गर्दा त नहुने के रहेछ र!
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी