तीन वर्षअघि रामबहादुर महतो गाउँमा बाहिरका व्यापारीले किनेको बगैंचाबाट पाकेर भुइँमा झरेका आँप किन्थे। त्यही आँप बोकेर धनुषा र महोत्तरीका ग्रामीण बजारमा बेच्न जान्थे। कहिले साइकलमा डुल्थे त कहिले साथीको मोटरसाइकमा पछाडि बस्थे।
यो व्यवसायले सन्तोषजनक फाइदा हुने पक्का भएपछि उनले मोटरसाइकल भएका साथीलाई नै साझेदार नै बनाए।
धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरका २६ वर्षीय रामबहादुरको दिनचर्या अहिले फेरिएको छ। व्यापारीले किनेका बगैंचा खोज्दै हिँड्ने उनी बटेश्वरकै ठूला आँप व्यापारी भएका छन्।
यसपालि उनले आफ्नो गाउँ र छिमेकी गाउँमा गरी करिब एक दर्जन बगैंचा किनेका छन्। बगैंचा हेर्न र आँप टिप्न १५ जना कामदार खटाएका छन्। इटहरी, काठमाडौं, पोखरा लगायतका सहरबाट उनको घर र बगैंचामै व्यापारी आँप किन्न आउँछन्।
यति बेला रामबहादुरलाई आँप टिप्न र बेच्न भ्याइनभ्याइ छ। आँप व्यापारको आम्दानीबाट निकै सन्तुष्ट देखिन्छन्। इज्जतको बढोत्तरी पनि सपना जस्तो भएको छ।
आँप बेच्न सुरु गर्नुअघि उनी खोलामा गिट्टीबालुवा खन्ने काम गर्थे। काम नहुँदा दिनभर निस्फिक्री डुल्थे।
‘मेरा बुबा सोझा छन्। हामी धेरै गरिब भयौं। गाउँमा सबै मलाई बौका (लाटो) को छोरा भनेर हेप्थे। मेरो साथीसंगत पनि नराम्रो भयो,’ निकट विगत सम्झँदै उनले भने, ‘तीन वर्ष भयो, इमानदारी साथ काम गरेपछि सबैले राम्रो भन्न थालेका छन्। सुध्रियो भनेका छन्। इज्जत गरेका छन्।’
स्थानीयवासीहरूका अनुसार रामबहादुरले आँपको व्यापार सुरु गरेपछि यहाँका धेरै किसानले राहत पाएका छन्। उनीहरू रामबहादुरलाई ‘बहादुर’ भन्छन्।
‘हरेक वर्ष हावाहुरी र असिनाले क्विन्टलका क्विन्टल आँप झार्छ, सबै बर्बाद हुन्छ,’ स्थानीयवासी कपिलदेव महतोले भने, ‘यसपालि बहादुरले एउटा पनि आँप बर्बाद हुन दिएनन्। सबैका आँप किनेर बाहिर सप्लाई (पठाउने काम) गरिदिए।’
रामहादुरले गलत संगतमा लागेर गाउँमा डुल्ने गरेका केही किशोर र युवकहरूलाई बगैंचामा काम दिएका छन्। तिनीहरू उनका सहयोगी भएर पैसा आर्जन गर्न थालेका छन्।
व्यावसायिक कुराको सिलसिलामा रामबहादुर आफ्नो विगततिर फर्के।
पारिवारको आर्थिक अवस्था निकै कमजोर थियो। घरमा हजुरआमा बिरामी थिइन्। रामबहादुरले १० कक्षा पढेर पढाइ छोडे। उनले केही दिन गाउँका एक जना स्वास्थ्यकर्मीका घरमा काम गरे। ती स्वास्थ्यकर्मीको औषधि पसल थियो। रामबहादुरले खेतबारीको काम गर्नुपर्थ्यो। औषधि पसलमा पनि खट्नुपर्थ्यो।
तलब ठिकै थियो, महिनाको १० हजार रुपैयाँ पाउँथे।
केही महिनापछि उनलाई त्यसरी काम गर्न मन लागेन। छाडेर हिँडे।
बेरोजगार भएपछि अरू बेरोजगारहरूको संगतमा पुगे, कुलतमा फसे। केही महिनापछि एउटा निर्माण कम्पनीमा काम गर्न पुगे। त्यो कम्पनीले अवैधरूपमा खोलाबाट बालुवा निकाल्थ्यो।
रामबहादुर रातिराति बालुबा निकाल्न खोलामा जानुपर्थ्यो।
‘कहिले गाउँलेहरूले घेर्थे। कहिले पुलिसले लखेट्थ्यो। पैसा दिनुपर्नेहरूलाई दिने, असुल्नुपर्नेबाट असुल्ने काम मेरो जिम्मामा थियो,’ उनले भने, ‘खोला खन्ने काम जोसुकैले गर्दैन। म त पैसाको लोभले गएँ। साहुले अह्राएको जति सबै काम गर्थें। कहिलेकाहीँ त मारपिट पनि हुन्थ्यो। प्रहरीलाई पनि पैसा दिएर कुरा मिलाउनुपर्थ्यो। कहिले मिडियावालाहरूले के के लेखेर हैरान पार्थे।’
अलिक पछि त्यो निर्माण कम्पनी डुब्यो। कम्पनी डुबेपछि रामबहादुरका टाउकामा केही ऋण आइलाग्यो।
उनले बालुवामा पैसा देखेका थिए। त्यसैबाट ऋण तिर्ने र केही कमाउने सोचले आफ्नै गाउँ भएर बग्ने बडहरी खोलामा बालुवा निकाल्न थाले।
‘मैले खोला खनेरै (बालुवा निकालेर) सबैको पैसा तिर्न सकिन्छ भन्ने सोचेर खन्न थालें,’ उनले चार वर्षअघिको एउटा घटना सुनाए, ‘विरोध गर्न आएका युवाहरूसँग खोलामै झगडा पर्यो। मारपिट भयो। ममाथि मुद्दा पर्यो। त्यसै दिन मैले अबदेखि खोला खन्ने काम गर्दिनँ, बरु थोरै कमाउँछु तर इज्जतको काम गर्छु भनेर कसम खाएँ।’
त्यही समय रामबहादुरको बिहे भएको थियो। उनी पैसा कमाउनुपर्ने दबाबमा थिए। उनी ठेकेदारले गाउँमा किनेका रूख काट्ने काम गर्न थाले। दिनको एक हजार रुपैयाँ पाउँथे। त्यो पैसाले उनलाई केही राहत मिल्यो। काममा तनाव पनि थिएन।
उनले भने, ‘काम गर्दागर्दै मलाई रूख किनबेच गर्ने बुद्धि आयो तर त्यसमा धेरै पैचा चाहिँदो रहेछ। मसँग त एक रुपैयाँ पनि थिएन। घरघडेरी सबै बैंकमा थियो।’
रूखको कारोबार गर्ने महत्त्वाकांक्षा पूरा भएन।
तीन वर्षअघिको कुरा हो, आँपको सिजन थियो। उनले थोरै पैसामा आँपको व्यापार गर्ने विचार गरे। गाउँको बगैंचाबाट १०–२० किलो आँप किन्ने अनि साइकलमा बोकेर बजार घुम्दै बेच्ने काम सुरु गरे।
राम्रै कमाइ हुने संकेत देखियो तर साइकलका भरमा व्यापार बढाउन मुस्किल भयो।
उनका छिमेकी थिए विजय महतो। विजयसँग मोटरसाइकल थियो। रामबहादुरले उनलाई व्यापारमा साझेदार बनाए।
मोटरसाइकलमा घुम्दा धेरै ठाउँ पुग्न सकिन्थ्यो। विजय सहमत भए।
‘दुई हजारको आँप बेच्दा एक हजार रुपैयाँ फाइदा हुन्थ्यो। फाइदाको पैसा बाँड्थ्यौँ। व्यापार राम्रै थियो तर विजय काठमाडौं गए,’ रामबहादुरले भने, ‘राम्रो आम्दानी हुने देखेपछि अटोरिक्सा भाडामा लिएर बेच्न थालें।’
त्यसै वर्ष उनले एक लाख ८६ हजार रुपैयाँमा एउटा आँप बगैंचा किने। त्यसको भोलिपल्टै २५ हजार रुपैयाँ फाइदा लिएर बेचिदिए। एकै रातमा २५ हजार रुपैयाँ कमाइ भएपछि उनको हिम्मत बढ्यो। त्यसवर्ष उनले आँपबाट एक लाख रुपैयाँभन्दा बढी कमाए।
अर्को वर्ष गाउँमा बचत समूहबाट साढे दुई लाख रुपैयाँ ऋण लिए। त्यही पैसाबाट बैना दिँदै करिब १५ लाख रुपैयाँको बगैंचा किने। बगैंचाबाट झापा, चन्द्रनिगाहपुर र काठमाडौंका व्यापारीलाई बेचे। त्यसमा धेरैजसो आँप कलकतिया थियो।
‘हाम्रो गाउँमा जति कलकतिया आँप अन्त कतै छैन। यो आँप साउनको अन्तिमसम्म हुन्छ। त्यसले राम्रो फाइदा दियो,’ उनले भने, ‘बाहिरका व्यापारी आँप खोज्दै घरमै आए। सबै खर्च कटाएर पाँच लाख रुपैयाँ फाइदा भयो।’
चित्रपुर आँपका लागि प्रख्यात ठाउँ हो। यहाँ निकै टाढाबाट पनि व्यापारीहरू आँपको बगैंचा किन्न आउँछन्। व्यापारीले असोज–कात्तिकमै गाउँका बगैंचा किन्न थालेपछि रामबहादुर पनि अघि सरे।
उनले भने, ‘सयकडा तीन रुपैयाँ (३६ प्रतिशत व्याज) मा पाँच लाख रुपैयाँ ऋण लिएर पातमै (नफुल्दै) बैना दिँदै फूलबारी (बगैंचा) किनें।’
त्यसरी उनले गत कात्तिकमै करिब ३० लाख रुपैयाँमा २८ बिघाको बगैंचा किने। त्यति बगैंचाबाट यस वर्ष कम्तीमा ६० लाख रुपैयाँको आँप बेच्ने उनको लक्ष्य छ।
उनले किनेका बगैंचामा मालदह, बमोई दसहरी, कलकतिया, आम्रपाली, जर्दा, लालगुलाब, भदैया र बिजु आँप छन्। बिजुमा मात्रै ४० भन्दा बढी प्रकारको आँप हुने उनको भनाइ छ। बगैंचा स्याहार्न उनले पुस महिनादेखि नै मिहिनेत गरेका छन्।
कुल २८ बिघा बगैंचामा मल, सिँचाइ, कीटनाशक विषादी, मजदुर इत्यादिमा गरी करिब ७ लाख रुपैँया खर्च भएको उनको भनाइ छ। सबै बगैंचामा लटरम्म आँप फलेको थियो।
‘जेठ ५ गतेदेखि आँप टिप्न थालेको हुँ, २० लाखको बेचिसकें। अहिले धमाधम टिप्दैछु। दिनमा पन्ध्र जनाले टिप्छन्। तिनले रोजगारी पाएका छन्,’ रामबहादुर भन्छन्, ‘यसपालि आर्थिक मन्दीले आँप सस्तो छ। मान्छे बेरोजगार छन्। कमाइ हुँदा न किनेर खाने हो! यसपालि धेरै फलेर पनि सस्तो भएको छ।’
आँपबाट राम्रो फाइदा लिन कोल्ड स्टोर चाहिने उनको भनाइ छ। उनका अनुसार किसानले कोल्ड स्टोर बनाउन सक्दैनन्, सरकारले सघाउनुपर्छ।
‘कोल्ड स्टोर भयो भने मौकामा बेच्न पाइन्छ। जुस फ्याक्ट्री र अचार फयाक्ट्री पनि हुनुपर्छ,’ उनी भन्छन्, ‘यति नभई किसानलाई धेरै फाइदा हुँदैन। आचार फ्याक्ट्री हुने हो भने हावाहुरी र असिनाले झारेका काँचा आँपबाट पनि किसानले फाइदा लिन सक्छन्।’
रामबहादुरले आँप व्यापारमा परिवारबाट राम्रो सहयोग पाएका छन्। उनका बुबा विष्णुदेव दिनरात बगैंचाको हेरचाहमा हुन्छन्। उनले बगैंचामै झोपडी बनाएका छन्। त्यसमै बस्छन्, कामदार खटाउँछन्।
श्रीमती पुनिता कामदारका लागि खाजा र खाना बनाउँछिन्। टिपेका आँप व्यवस्थित गर्छिन्।
सबै तस्बिरः रोहित महतो/सेतोपाटी।