अम्बिका श्रेष्ठ भनिरहन्थिन्, 'महिलाहरूले गर्न नसक्ने कुनै काम छैन। महिलाहरूले आफूलाई कम ठान्नु हुन्न।'
उदाहरण उनी आफै थिइन्। होटल द्वारिकाकी सञ्चालक उनले धेरैलाई प्रेरणा दिइन्। महिला उद्यमीहरूमा त उनलाई 'लिजेन्ड' नै मानिन्थ्यो।
थुप्रै उद्यमीको प्रेरणा स्रोत अम्बिकाको ९१ वर्षमा बिहीबार निधन भएको छ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार क्रममा उनको निधन भएको हो। केही समयदेखि बाथ रोगबाट पीडित उनलाई पछिल्लो केही महिनादेखि निमोनियाले पनि सताएको थियो।
सन् १९९२ मा श्रीमान द्वारिकादास श्रेष्ठको निधन भएपछि उनले होटल र व्यवसायका सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। उनका दुई छोरी छन्। उनको छोराको पनि निधन भइसकेको छ।
अम्बिका होटल द्वारिकाको संस्थापक मात्र नभई ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को पूर्वअध्यक्ष पनि हुन्। हेरिटेज सोसाइटीमा पनि उनी आबद्ध थिइन्।
सन् १९६९ मा उनी नेपालको प्रथम महिला जेसिस अध्यक्ष बनिन्। नेपालका लागि अध्यक्ष बनिसकेकी उनी जेसीआई वर्ल्डमा उपाध्यक्ष पदमा पनि उठेकी थिइन्।
सुरूदेखि महिलाहरूकी प्रेरक उनी पछिल्लो समय सक्रिय रूपमा महिला उद्यम र सामाजिक गतिविधिमा सक्रिय थिइन्। होटल द्वारिका भने छोरी संगीता र नाति विजयले सम्हालिरहेका थिए।
काममा सबै कर्मचारीलाई परिवारसरह व्यवहार गर्ने अम्बिकाको बानी थियो। उनी समस्यामा परेकालाई सम्झाउने र प्रेरणा दिने गर्थिन्। सोहीकारण द्वारिकाभित्र आजसम्म कुनै मनमुटाव नभएको र सबै कर्मचारी परिवार जसरी मिलेर काम गरिरहेको त्यहाँका कर्मचारी प्रचण्डमान श्रेष्ठले बताए।
‘हामीहरूका लागि उहाँ आमा नै हुनुहुन्थ्यो। उहाँ सबैलाई समान व्यवहार गर्नुपर्छ भनेर सिकाउने मान्छे हुनुहुन्थ्यो। उहाँको नेतृत्वमा धेरै कुरा सिक्ने अवसर पाएँ,’ प्रचण्डमानले सेतोपाटीसँग भने, ‘आज हामीले द्वारिकाकी सञ्चालक होइन, परिवारकी मुख्य सदस्य गुमायौं। अभिभावक गुमाउँदा परिवार नै दु:खी छौं।’
प्रचण्डमान ४२ वर्षदेखि द्वारिकामा आबद्ध छन्। उनी द्वारिकामा कानुनी पाटो हेर्छन्। तर उनको काम त्यतिमा सीमित छैन। उनी परिआएको समयमा अन्य व्यवस्थापनका जिम्मेवारी पनि सम्हाल्छन्।
‘एउटै परिवार भएपछि तेरो र मेरोभन्दा पनि हाम्रो काम हो भन्ने सोच विकास हुने रहेछ। त्यही भएकाले द्वारिकाको काम गर्दा आफ्नै काम गरेजस्तो महसुस हुन्छ,’ भावुक हुँदै उनले भने।
हस्पिटालिटी र महिला सशक्तीकरणका लागि दरिलो खम्बा मानिने अम्बिका सिक्किमको 'प्रधान' परिवारमा जन्मेकी हुन्। शिक्षित परिवारमा हुर्केकी उनले मानविकी संकायमा स्नातकसम्म अध्ययन गरेकी थिइन्।
२३ वर्षको उमेर हुँदा काठमाडौंका द्वारिकादास श्रेष्ठले उनलाई मागी विवाह गरेर काठमाडौं ल्याएका थिए।
द्वारिकादास ‘बडी बिल्डर’ थिए। लखनऊ बसेर बडी बिल्डिङ गरी उपाधि समेत जितेका उनलाई काठमाडौंका आफन्तजन र साथीभाइले 'मिस्टर लखनऊ' समेत भनेर चिन्थे। काठमाडौं आएपछि खिचापोखरीमा युवाहरूका लागि उनले व्यायामशाला खोलेका थिए।
द्वारिकादासका बुवा व्यवसायी थिए। त्यो गुण द्वारिकादासमा पनि सरेको थियो। व्यायाम र शारीरिक सुगठनमा रूचि भए पनि उनमा पर्यटन र सम्पदा संरक्षणको चासो पनि थियो। उनले त्यतिबेला पारस होटल खोलेका थिए। पछि उनले बत्तीसपुतलीमा सानो गोठजस्तो ठाउँ किनेर द्वारिका होटल सञ्चालनमा ल्याए।
अम्बिकालाई द्वारिकाको यही महत्त्वाकांक्षी स्वभाव मन पर्थ्यो। अम्बिकाको स्वभाव पनि त्यस्तै थियो। सानैदेखि निडर र आफ्नो कुरा राख्न नहच्किने अम्बिकालाई विवाह गरेर आएपछि काठमाडौंको नयाँ माहोलमा घुलमिल हुन केही समय लागेको थियो। तर उनका श्रीमानको साथले हौसला थप्दै लग्यो। श्रीमानकै संगत र सहायताले व्यवसाय र पर्यटन क्षेत्रमा उनको पनि रूचि बढ्दै गयो।
द्वारिकादास र अम्बिकाले पर्यटन क्षेत्रको सुरूआत सन् १९६१ मा ‘काठमाडौं ट्राभल’ एजेन्सीबाट गरे। काठमाडौंमा खोलेको एजेन्सी राम्रै चल्थ्यो। ट्राभल एजेन्सी चलाउँदा चलाउँदै उनीहरू होटल व्यवसायतिर प्रवेश गरेका थिए।
नेपालमै पहिलो बुटिक होटलको परिकल्पना पनि यिनै दम्पतीले गरेका थिए। काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज बुटिक होटल द्वारिका नेपालको सबैभन्दा पहिलो हेरिटेज होटलका रूपमा मानिन्छ। दम्पती नै सम्पदाप्रेमी भएकाले यसको संवर्द्धन गर्दै कलाकृति झल्काउने गरी पूरै होटल उनीहरूले काठै काठको कलात्मक बुट्टा भएका झ्यालढोका हालेर परम्परागत शैलीमा बनाएका थिए।
'कतिपयले फाल्न र जलाउन लागेका काष्ठकला र पुराना सामग्री हामी किनेर ल्याउथ्यौं। अरूले कामै नलाग्ने भनेर हेला गरेका सम्पदाको महत्त्व उहाँहरूले त्यतिबेलै बुझ्नुभएको थियो। अहिले द्वारिका होटल सम्पदाप्रेमी र वास्तुकला पढिरहेका विद्यार्थीहरूको अध्ययनस्थल नै बनेको छ,' होटलका कर्मचारी प्रचण्डमान श्रेष्ठले भने।
द्वारिकादास र अम्बिकाले २०३२ सालमा द्वारिका होटल सञ्चालनमा ल्याएका थिए। सुरूमा पाँच वटा कोठाबाट सञ्चालन गरेको होटलमा अहिले ८० भन्दा बढी कोठा छन्।
श्रीमानको निधनपछि अम्बिका एक्लैले होटलको व्यवस्थापन सम्हालिन्। अन्तर्राष्ट्रिय पर्यटकहरूको थलो बनाउन एक्ली महिलालाई सजिलो पक्कै थिएन। तर पनि उनी डटेर लागि परिन्। ट्रेकिङ, टुर एण्ड ट्राभलमा पर्यटक बढाउन पनि उनी सक्रिय थिइन्। यसकै लागि टान र नाट्टामा अध्यक्ष समेत बनिन्।
विशेषगरी महिला उद्यमीका प्रेरक उनी 'फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमन नेपाल' की निर्वाचित अध्यक्ष थिइन्। त्यस्तै 'नेपाल हेरिटेज सोसाइटी' की अध्यक्ष पनि थिइन्। उनी गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, स्पेनबाट गोल्डेन माइक, रोटरी क्लबबाट 'सर्भिस एभोभ सेल्फ अवार्ड' लगायत पदकबाट सम्मानित थिइन्।
नेपालमा सफल व्यवसायीको रूपमा स्थापित अम्बिकाले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको राम्रो चिनारी गराइदिएकी थिइन्।
‘नेपालको पर्यटन क्षेत्रका लागि अम्बिका श्रेष्ठ पथ प्रदर्शक नै हुनुहुन्थ्यो। उहाँले हामीलाई हरेक क्षेत्रमा मार्गदर्शन गराउँदै अघि बढाउनुभयो,’ होटल संघका अध्यक्ष विनायक शाहले उनलाई सम्झँदै भने, ‘नेपालको कला-संस्कृति संवर्द्धन गरेर बुटिक होटल सञ्चालन गर्ने उहाँ उद्यमीहरूका लागि प्रेरणा हुन्।’
शाह उनलाई पर्यटन क्षेत्रको 'लिजेन्ड' नै मान्छन्।
'होटलको संख्या औंलाले गन्न सकिने नेपालमा बुटिक होटलको अवधारणा ल्याउनुका साथै महिला उद्यमशीलताको गतिलो उदाहरण दिएर उहाँ जानुभयो,' उनले भने।