विशाल शर्मा र स्मृति न्यौपानेले एक वर्षसम्म क्लाउड किचनमार्फत् खानाका अनेक परिकार खुवाए। काठमाडौंको क्षेत्रपाटीमा एउटा कोठामा खानेकुरा बनाएर उनीहरू ग्राहकको हात हातमा पुर्याउँथे।
कुनै एक ठाउँमा खानेकुरा बनाउने र ग्राहकको मागअनुसार डेलिभरी गर्ने अवधारणा क्लाउड किचन हो। यसमा अनलाइन वा फोनमार्फत् अर्डर गर्न सकिन्छ।
विशाल र स्मृतिले एक वर्ष यसैगरी काम गरेपछि अहिले भने 'आमाज किचन' रेस्टुरेन्ट सुरू गरेका छन्।
'धेरैले रेस्टुरेन्टको माग गरेकाले खोलेका हौं,' विशालले भने।
ललितपुरको झम्सिखेलमा खुलेको आमाज किचनमा सुरूआती लगानी १५ लाख रूपैयाँ भएको उनले बताए। यहाँ एकपटकमा ४० जना बसेर खाना मिल्ने ठाउँ छ। आमाज किचनको मुख्य आकर्षण बिरयानी र तन्दुरी हो।
'बिरयानी र तन्दुरीका पारखीहरू नै धेरै आउनुहुन्छ,' विशालले भने, 'बिरयानी भन्नासाथ भारत जोडिन्छ। आजकाल सबैजसो रेस्टुरेन्टमा विभिन्न स्वादमा बिरयानी पाइन्छ। हामीकहाँ भने भारतको, विशेषगरी पुणेको स्वादको बिरयानी पाइन्छ। म पुणे बस्दा बनाउन सिकेको थिएँ।'
आमाज किचनमा चिकेन, मटन, भेज, पनीर, फिस र तन्दुरी बिरयानी बन्छ। परिकार अनुसार मूल्य १८० रूयाँदेखि ४५० रूपैयाँसम्म छ। यीमध्ये सबभन्दा धेरै चलेको मटन बिरयानी हो। बिरयानी र तन्दुरीसँगै यहाँ नेपाली खाना र खाजा पनि पाइन्छ।
आमाज किचनको क्लाउड किचन पनि चलिरहेकै छ। हाल काठमाडौं उपत्यकाभरि डेलिभरी हुन्छ जसका निम्ति केही डेलिभरी कम्पनीसँग सहकार्य छ। धेरैजसो अर्डर रातमा हुने भएकाले ९ बजेपछि डेलिभरीमा भ्याइनभ्याइ हुन्छ।
विशाल र स्मृतिबाहेक सात जना आमाज किचनमा काम गरिरहेका छन्। आमाज किचनले प्रचारका निम्ति विभिन्न परिकारको प्याकेज मिलाएर अफर पनि ल्याउँछ। बुधबार र शुक्रबार बिरयानीको मूल्य आधा हुन्छ।
आमाज किचनको अर्को आकर्षण 'आमाज पिकल' हो। सुरूमा विशाल र स्मृतिले बिरयानी र अन्य परिकारका लागि टिमुर र चिकेन अचार बनाएका थिए। त्यो धेरैले रूचाएपछि व्यवसाय नै सुरू गरेको स्मृतिले बताइन्।
'अहिले टिमुर र चिकेनसँगै लप्सी र बफ अचार बन्छ,' स्मृतिले भनिन्, 'यी अचारमा राजस्थानी मसला प्रयोग हुन्छ।'
उनीहरू यो अचार भारत निर्यात गर्ने तयारी गर्दैछन्। भारतमा अचारको ठूलो बजार भएकाले त्यहाँ प्रचार गरेर बजार विस्तार गर्न सके, भविष्य राम्रो भएको उनीहरू बताउँछन्।
उत्पादन सुरू गरेको वर्ष दिन नहुँदै अचारको व्यवसाय पनि राम्रो भएको छ। अचारको काममा दुई जना महिलाले सघाउँछन्। कहिलेकाहीँ व्यापार मेलामा विशाल र स्मृति दुवै जना अचार बोकेर पुग्छन्। मेलाहरूमा लगेर चखाउँदा बजार प्रवर्द्धनमा मद्दत पुगेको छ।
आमाज किचनको मुख्य अवधारणा भने विशालको हो। विशाल भारतमा जन्मे-हुर्केका हुन्। उनी आमासँग पुणेमा बस्थे। बुबा नेपालमै भएकाले आउजाउ चलिरहन्थ्यो।
२०७५ सालमा विशालले पुणेमा क्लाउड किचन खोलेका थिए। यसमा उनकी आमा पनि सक्रिय थिइन्। उनीहरूले धेरै परिकारको स्वाद दिए। काम राम्रो चल्न थाल्यो।
कामले गति लिँदै गर्दा केही महिनामै कोरोना फैलियो। लकडाउनमा झन् उनको व्यवसाय चम्कियो। दालभात, तरकारी र अचारले विशालको क्लाउड किचनको रफ्तार बढायो।
तर त्यही बेला उनको जीवनमा दुःख आइपर्यो। उनकी आमाको मृत्यु भयो।
त्यसपछि विशाल उता बसेनन्, नेपाल आए। यहाँ आएपछि उनको भेट स्मृतिसँग भयो। स्मृति रोजगारीका लागि विदेश जाने तयारीमा थिइन् तर आफ्नै केही कारणले यात्रा रोकिएको थियो। दुई जनाबीच कुरा हुँदै जाँदा मिलेर रेस्टुरेन्ट चलाउने सल्लाह भयो।
विशाललाई क्लाउड किचनको अनुभव भएकाले त्यसैबाट सुरू गर्ने योजना बनाए।
'पुणेमा बनाएका केही विशेष परिकार नेपाली स्वादमा दिने योजना बनायौं,' विशालले भने, 'त्यहाँभन्दा मिठो अचार पनि पस्किन्छु भन्ने सोचेको थिएँ।'
बिरयानी र तन्दुरी नेपाली बजारका निम्ति उपयुक्त हुने सोचे र क्लाउड किचन सुरू गरे। यसरी एक कोठामा सुरू भएको उनीहरूको व्यवसाय अहिले आमाज किचन रेस्टुरेन्ट बनेको हो।
'एक वर्षमा सोचेअनुसारै व्यवसाय भएको छ,' विशाल र स्मृति भन्छन्, 'अनलाइनबाट राम्रो चलेको छ। अब रेस्टुरेन्टसहित आएका छौं। ग्राहकले यो पनि रूचाउँछन् भन्ने आशा छ। आमाज किचनको फ्रेन्चाइज माग्नेहरू पनि छन्। तर हामी आफ्नै आउटलेट थप्न चाहन्छौं।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी