पाल्पाको गाउँबाट ४२ वर्षअघि पहिलोपटक बुटवल झर्दा माधव नेपालको मनमा पश्चातापको हुन्डरी चलेको थियो। त्यही हुन्डरीको वेगले उनलाई बुटवलबाट सुनौली हुँदै कलकत्ता पुर्याइदियो।
उनी कलकत्ताबाट दुई वर्षपछि गाउँ फर्के। अनि 'केही गर्ने' सपना साँचेर दोस्रोपटक बुटवल झरे। बुटवलमा ४० वर्षसम्म पसिना बगाए।
त्यही पसिनाको जगमा अब बुटवलबाट पाल्पाको नुवाकोट जोड्ने केबलकारको सञ्चालक बन्दैछन् माधव।
बुटवलका बासिन्दालाई गर्मी छल्न, बिदा मनाउन वा घुम्न जान सजिलो होओस्, आन्तरिक र बाह्य पर्यटक तान्न सकियोस् भन्ने उद्देश्यले पाल्पाको नुवाकोटसम्म केबलकार लैजाने उनको सपना पूरा हुनै लागेको छ।
अहिले बुटवलमा निजी क्षेत्रको सबैभन्दा महँगो योजना पनि यही हो।
'बीस-पच्चीस करोड रूपैयाँमा दुइटा गोन्डला राखेर केबलकार चलाउने योजना थियो। यति बृहत् होला भन्ने सोचेकै थिएनौं,' माधवले भने, 'योजना अघि बढाउँदा असी-पचासी करोड लगानी पुगेको थियो। अहिले सम्पन्न हुने अवस्थामा आइपुग्दा लगानी एक अर्ब २० करोड रूपैयाँ पुग्न लाग्यो।'
माधवको परिचय केबलकारमा सीमित छैन। उनी जाने-मानेका होटल व्यवसायी हुन्। अनि होटल व्यवसायीहरूका नेता पनि हुन्।
६५ वर्षीय माधवले जिन्दगी आजको अवस्थामा आइपुग्ला भन्ने सोचेकै थिएनन्। अर्ब रूपैयाभन्दा धेरै लगानी गर्न व्यवसायी बनुँला भन्ने कल्पनै थिएन।
'मनभरि पछुतो बोकेर गाउँबाट नभागेको भए के हुन्थ्यो होला? के हुन्थ्यो होला बुटवल झरेर केही गरी देखाउने सपना नदेखेको भए?,' माधव बेला बेलामा आफ्नो विगत सम्झिन्छन्।
शिक्षक बनेर जिन्दगीको गोरेटो कोर्दै गर्दा एक दिनको घटनाले उनको जिन्दगीमा आनको तान परिवर्तन ल्याइदिएको थियो।
२०३४ सालमा भैरव मावि, कुसुमखोलाबाट तेस्रो श्रेणी एसएलसी परीक्षा उत्तीर्ण भएका थिए माधव। उनको गाउँमा एसएलसी उत्तीर्ण हुनेहरूमध्ये उनी तेस्रो व्यक्ति थिए। त्यति बेला एसएलसी उत्तीर्ण हुनु निकै ठूलो सफलता मानिन्थ्यो। स्कुलमा शिक्षक बन्ने प्रस्ताव पनि आइहाल्थ्यो। उनलाई पनि पाल्पाका जिल्ला शिक्षा अधिकारीले बोलाएर बधाइ दिए र शिक्षक बन्ने हो भनेर सोधे।
पाल्पाकै लुहुङको लुम्बिनी निमाविमा शिक्षक चाहिएको रहेछ।
माधवले हुन्छ भने। कक्षा आठसम्म जुन विषय पनि पढाउनुपर्थ्यो। तलब महिनाको १८५ रूपैयाँ थियो।
पहिलो महिनादेखि नै बुबालाई १५० रूपैयाँ दिए, ३५ रूपैयाँले आफ्नो खर्च चलाए। केही महिनामै जागिर स्थायी भयो। शिक्षक भएको दुई वर्षपछि अलिक पल्लो गाउँकी गमला नामकी केटीसँग बिहे भयो।
२०३७ सालको कुनै एक दिन माधवले सधैंझैं तलब बुझे। त्यो बेलासम्म तलब बढेकाले बुबालाई दुई सय रूपैयाँ दिए, ५० रूपैयाँ आफूले राखे।
तलब आएको मौकामा तीन जना शिक्षक साथी मिलेर मासुचिउरा खाने सल्लाह भयो। स्कुल नजिकै उनीहरूले रूचाल दाइ भन्ने व्यक्ति थिए, उनैलाई कुखुरा काटेर पकाउन भने। शिक्षकहरू आफ्नो घरमा खान आउने भएपछि रूचालले सबै तयारी गरे। घरमै बनाएको एक बोतल मदिरा पनि अगाडि राखिदिए।
'म पण्डितको छोरो, पहिलोपटक कुखुराको मासु खान र मदिरापान गर्न अघि सरेको थिएँ,' माधवले भने, 'त्यस दिन कति पिएँ भन्ने सम्झना नै छैन। सुरूमा एक-दुई घुट्की मुखमा हाल्दा संसारको सबभन्दा नमिठो चिज यही हो जस्तो लागेको थियो। कति खाँदा के हुन्छ भन्ने थाहै थिएन। चार बजे स्कुल छुट्टी भएपछि खान बसेका, अँध्यारो हुँदासम्म खायौं।'
खाइसकेर निस्किँदा खुट्टा ठेगानमा थिएनन्। जसोतसो घर पुगे।
श्रीमती रोटी पकाउँदै थिइन्। बुबा दाम्लो बाट्दै थिए। आमा जाँतोमा मकै पिस्दै थिइन्।
आमा जुरूक्क उठिन् र के खाएर आइस् भनेर सोधिन्। सोधिसक्दा उनको भक्कानो फुट्यो।
आमा रोएको देखेर माधवको शरीरबाट नशा स्वाट्टै उत्रियो। केही नबोली आफ्नो कोठामा गए।
बुबा पिँढीबाटै कराए, 'म गाउँभरि पूजा गराउँदै हिँड्ने पण्डित, मेरो छोरो रक्सी खाएर आउने, अब यो गाउँमा मेरो इज्जत के होला?'
'ठूलो अपराध गरेँ भन्ने भयो नि,' माधवले त्यो बेलाको क्षण सम्झिँदै भने, 'साह्रै पछुतो भयो।'
भोलिपल्ट बिहानै उनले आमाबुबाको कुरा सुने। उनीहरू घरव्यवहार मिलाएर दुई-चार दिनमा रिडीको आश्रम गएर बस्ने कुरा गर्दै थिए। माधव छाँगाबाट खसे जस्तो भए। आमाबुबातिर हेर्न पनि सकेनन्। बोल्न हिम्मत आएन। बाहिरबाहिरै बिहान बिताए।
आमाले पस्किदिएको खाना खाएर स्कुल गए। दिनभरि मनमा उदासी छाइरह्यो। स्कुल छुट्टी भएपछि सरासर घर गए। कसैसँग नबोली खाना खाएर सुते।
भोलिपल्ट खाना खाएर स्कुल गए। दिनभर सोचे – म बस्दा आमाबुबा घर छोडेर जानुहुन्छ भने, मेरा कारणले बुढेसकालमा आश्रम खोज्दै हिँड्नुहुन्छ भने बरू म आफै हिँड्छु।
तीन वटा कक्षा पढाएपछि उनले प्रधानाध्यापकसँग बुटवल जानु छ भनेर बिदा मागे। सय रूपैयाँ सापट पनि लिए। तानसेन पुग्न दुई घन्टा हिँड्नुपर्थ्यो। स्कुलबाट बाटो लागे।
'कसरी तानसेन पुगेँ, थाहा छैन। पाइला बाटामा भए पनि मन ठेगानमा थिएन, कहाँ हो कहाँ उडेको थियो, 'उनले भने, 'मदिरा पिएर आमाबुबाको मनमा चोट पुर्याएको पछुतोले होला, घर छोडेर जाँदैछु भन्ने चिन्ताले पनि होला, म बेहोसीजस्तो भएको थिएँ।'
उनले आफू हिँडेको खबर घरमा दिएनन्। तानसेनबाट गाडी चढेर बुटवल पुगे। त्यहाँबाट भैरहवा गए। भैरहवामा उनका एक जना साथी बैंकमा काम गर्थे। उनलाई भेटेर सय रूपैयाँ सापटी मागे।
दुई सय रूपैयाँ बोकेर उनी रिक्सा चढेर सुनौली गए। सुनौली पुग्दा घाम डुब्नै लागेको थियो। 'वाराणसी' लेखेको बस यात्रुको पर्खाइमा थियो। त्यही बस चढे र बनारस पुगे। बतासिएको मन ठेगानमा थिएन, त्यहाँबाट रेल चढेर कलकत्ता पुगे।
कामको खोज्दै भौंतारिँदा पाँच दिनपछि घर बनाउने ठाउँमा मजदुरी गर्न पाए। खानेबस्ने टुंगो थिएन। जहाँ काम गर्थे, त्यहीँ बस्थे। घरमा के हुँदैछ भन्ने उनलाई कुनै भेउ थिएन। केही महिनापछि एउटा चिठी पठाए। चिठीमा मदिरा पिएपछिको पछुतो, कलकत्ता पुग्दासम्मको यात्रा र आफ्नो काम बयान गरे। आमाबुबा र श्रीमतीसँग माफी माग्न धेरै शब्द लेखे।
उनकी श्रीमती गमलाका दाजुहरू पनि कलकत्तामा थिए। ज्वाइँ स्कुल छाडेर हिँडेको उनीहरूलाई निको लागेको थिएन। थाहै नदिई छोरो घर छाडेर हिँडेकोमा आमाबुबालाई पनि पिर परेको थियो। फर्केर आए हुन्थ्यो जस्तो लागेको थियो। गमला पनि श्रीमानको न्यास्रोमा परेकी थिइन्।
'बुबाले न्यास्रो भयो, चाँडै घर फर्किनू भनेर चिठी पठाउनुभयो,' माधवले सम्झिए।
दुई वर्षपछि, २०३९ सालमा माधवले घर फर्किने विचार गरे। काम गरेर बचाएको दुई हजार ९ सय रूपैयाँ लिएर उनी घर पुगे। घरमा खुसी छायो। सबै पैसा बुबाको हातमा राखिदिए। घरमा चाहिने केही सामान किनेर बाकसमा हालेका थिए, आमालाई जिम्मा लगाए।
पछि उनले थाहा पाए, कलकत्ताबाट उनले लेखेको चिठी बुबाले साँचेर राखेका रहेछन्।
'बुबा बित्नुभयो, आमा ८६ वर्षकी हुनुहुन्छ। मदिराको प्रसंग आउला भनेर मैले चिठीबारे आजसम्म पनि आमासँग सोध्ने हिम्मत गरेको छैन,' माधवले भने।
उनले उपहार जस्तै पाएको स्थायी जागिर गुमिसकेको थियो। गाउँघरमा दुई-चार सय रूपैयाँ आम्दानी हुने कुनै काम थिएन। माधवले बुटवलमा कुनै व्यवसाय गर्ने सोचे। बुबालाई सुनाए र आफूले दिएको पैसाबाट २५ सय रूपैयाँ मागे।
अनि २०३९ साल मंसिरको एक दिन माधव बुटवल आए।
उनी कलकत्तामा चियाको व्यापार देखेर छक्क परेका थिए। चिया बनाउन जानेका पनि थिए। बुटवलमा पनि चिया पसल चलाउन सकिन्छ कि भन्ने उनलाई लागेको थियो। त्यो बेला बुटवल अहिलेको जस्तो घना र चलायमान थिएन। आँखाले भ्याउन्जेल फाँट मात्र थियो, कतै घाँसे मैदान त कतै झाडी।
भुड्की चोकको चल्तीको बाटो किनारमा माटाको खपटाले छाएको एउटा पुरानो छाप्रो थियो। त्यही भाडामा लिएर चिया पसल सुरू गरे। ग्राहक बढ्दै गए र खाजा पनि खोज्न थाले। माधवले चियासँगै चना र मटर पकाएर बेचे।
हेर्दा हेर्दै पसलमा एक्लै काम गर्न नभ्याउने स्थिति भयो। केही समयपछि बुबा आएर केही दिन सघाए र फर्केर बुहारीलाई पठाएदिए।
पसल खोलेको ६ महिनापछि, २०४० साल वैशाखमा माधवकी श्रीमती गमला बुटवल आइन्। सुरूमा उनी अलमल पर्थिन्।
'गाउँमा छँदा कहिल्यै अण्डा छोएकी थिइनँ। पहिलोपटक अमलेट बनाएका दिन त खाना पनि खान मन लागेन। हातमा सिकसिको भइरह्यो। त्यसपछि धेरै दिन प्लास्टिकले छोपेर अण्डा फुटाएँ,' गमलाले भनिन्।
उनी बिस्तारै अभ्यस्त भइन्।
पसलमा ग्राहक धेरै आउँथे, तर उधारो खाने र पैसा नदिनेहरू पनि धेरै भए। पैसा माग्दा धम्क्याउँथे। माधवलाई यसरी हुँदैन भन्ने लाग्यो। पसल मिलन चोकमा सारे।
मिलन चोकमा बाक्लो बस्ती थिएन। बाटोपारि सडक विभागको एउटा कार्यालय थियो। वारि घर थोरै थिए, झाडी धेरै थियो। ग्राहक थोरै भए। व्यापार राम्रो भएन। साँझपख मदिरा पिएर केटाहरू आएर हैरान पार्थे। त्यहाँ टिक्न सक्ने अवस्था नभएपछि ६ महिनामै ट्राफिक चोकमा सरे।
डेढ वर्ष पसल चलाउँदा उनले ६ हजार रूपैयाँ बचाएका थिए। ट्राफिक चोकमा एउटा चिया पसल बिक्रीमा थियो। त्यही पसल ६ हजारमै किने। वरिपरि बाक्लो बस्ती थियो। गाडी बनाउने ग्यारेज थिए। उनले खाजामा केही परिकार थपे र पसल होटलका रूपमा चलाउन थाले।
त्यतिञ्जेल माधवको पसलको नाम थिएन।
'मेरा साथीहरू बनिसकेका थिए। पसलमा आउने ग्राहक साथीहरूले नै फेभरेट होटल भनेर नाम राखिदिए,' माधवले भने।
फेभरेट होटल निकै राम्रो चल्यो। गमला चियाखाजा पकाउँथिन्, माधव अर्डर भएका ठाउँमा पुर्याउँथे। उनीहरू अझै फराकिलो र राम्रो ठाउँ खोजेर अर्को घरमा सरे। एक वर्षमा सन्तोषजनक आम्दानी भएपछि लज खोल्ने विचार गरे।
होटल बेचेर सत्तरी हजार रूपैयाँ जम्मा गरे। मासिक साढे चार हजार रूपैयाँ भाडा तिर्ने गरी ट्राफिक चोकनजिकै एउटा घर भाडा लिए। त्यहाँ उनीहरूले 'संगम होटल' नाम राखेर लज खोले।
यसरी २५ सय रूपैयाँ लगानी गरेर एउटा छाप्रोबाट सुरू गरेको चिया पसल तीन वर्षमा लजसहितको 'संगम होटल' मा स्तरोन्नति भयो। त्यो बेला बुटवलमा बस्ती र व्यापार पनि बढ्दै थियो। पहाडबाट नुनतेल बोक्न आउने ढाक्रे, तीर्थारूदेखि ब्रिटिस र भारतीय लाहुरेसम्म उनको लजमा बस्थे।
ग्राहक बढ्दै गएपछि माधवले सहयोगीहरू राखे।
२०४२ सालमा माधव र गमलाको पहिलो सन्तानको जन्म भयो। एक वर्षमै अर्को सन्तान जन्मियो। होटलमा गमलाको काम कम भयो तर कामदारको भरमा उनलाई चित्त बझ्दैन थियो। त्यसैले तंग्रिनेबित्तिकै फेरि काममा खटिइन्।
'कामदारले कस्तो पकाउँछ, पाहुनाले मिठो मान्ने हो कि होइन, अर्कोपटक नआउने पो हो कि भन्ने डर लाग्थ्यो,' गमलाले भनिन्, 'खाना पकाउने र पस्किने काममा हामी आफै लाग्थ्यौं। त्यो बानी अहिले पनि गएको छैन।'
यही बेला माधव राजनीतिमा पनि छिरे। उनी पाल्पामा छँदै कम्युनिस्ट भएका थिए। काममा व्यस्त भएपछि राजनीतिक सम्पर्क टुटेको थियो।
'एकाएक पाल्पामा वडा अध्यक्ष बन्ने प्रस्ताव आयो। कुन सुरले पञ्चायतकालमै चुनाव लडेँ, वडा अध्यक्ष भएँ,' माधवले भने।
वडाअध्यक्ष भएपछि माधव आधाजसो पाल्पामै बस्न थाले। बुटवलमा गमला एक्लैले दुई सन्तान सम्हाल्दै होटल चलाइन्।
एक दिन अचानक होटलमा केही अपरिचित मान्छेहरू छिरेर पाहुनालाई तर्साउन थाले। गमला काउन्टरमा दुई नाबालक छोराछोरीसँग थिइन्। ती मान्छेले धम्क्याएर गए। यस्तो घटना पटक पटक हुन थाल्यो।
होटल राम्ररी चले पनि गुण्डागर्दी र धम्की सहन नसकेपछि गमलाले २०४४ सालमा होटल बेचेर 'कोल्ड ड्रिंक्स' को पसल खोलिन्। तर व्यापार चलेन। आर्थिक अवस्था खराब हुँदै गयो। त्यसपछि गमलाले २०४५ सालमा पसल बेचेर फेरि मिलन चोकमा सानो होटल खोलिन्। त्यो बेला उनी गर्भवती पनि थिइन्।
एक दिन साँझमा रक्सी पिएका सात-आठ जनाको एउटा समूह रक्सी खाने भन्दै पसलमा पस्यो। माधव होटलमै थिए।
उनले 'रक्सी सकिएको छ, तपाईंहरूले धेरै खानुभएको छ, भोलि आउनुहोला' भने। कुरा भुइँमा खस्न नपाउँदै एउटाले माधवको दाह्री समातेर एक मुक्का हान्यो। छेउमै रहेकी गमलाले ती व्यक्तिको टाउकामा दाउराले हानिन्।
'हामीलाई होटलले आइलाग्ने माथि जाइलाग्नुपर्छ भन्ने सिकायो। उधारो खाएर पैसा नतिरेकोसम्म त सहेकै थियौं,' गमलाले भनिन्, 'दाह्री नै समातेर आइलागेपछि म पनि जाइलागेँ। त्यस दिन त ती सबैलाई म एक्लै ढालिदिन्थेँ।'
मिलन चोकमा दोस्रोपटक पनि उनीहरूको होटल राम्ररी चल्न सकेन। लुम्बिनी वाणिज्य क्याम्पसका हालका प्रमुख ईश्वर गौतम पाल्पा कुसुमखोलाबाट बसाइँ सरेर बुटवल झरेका थिए। माधवसँग पाल्पामै चिनजान थियो।
ईश्वरले नेपाल दम्पती होटल यताउता सार्दै भौंतारिएको देखेका थिए।
एक दिन चिया खाँदै ईश्वरले भने, 'अब चिया मात्र बेचेर हुँदैन, अलि ठूलो र राम्रो होटल चलाउनुपर्छ, म पनि आर्थिक सहयोग गर्छु।'
त्यो बेला ट्राफिक चोकमा 'सन्दीप होटल' थियो। ईश्वर सरकारी कार्यालयहरूमा अडिट गर्ने भएकाले त्यो होटलको अवस्था थाहा पाएका थिए। त्यसमा तत्कालीन राष्ट्रिय औद्योगिक विकास निगम (एनआइडिसी) ले ऋण लगानी गरेको थियो। होटल मालिक एक लाख ५० हजार रूपैयाँ ऋण चुक्ता गर्न नसकेर छटपटीमा थिए। होटल बन्द हुने अवस्थामा थियो। ईश्वरले त्यो रकम बुझाएर 'सन्दीप होटल' चलाउन माधवलाई आग्रह गरे।
माधवका लागि साढे एक लाख रूपैयाँ जुटाउनु सोचभन्दा परको कुरा थियो। ईश्वरले नै दिए। होटल मालिकसँग कुरा पनि मिलाए।
'त्यसअघि मेरो हातमा डेढ लाख रूपैयाँ एकैपटक कहिल्यै परेको थिएन। भोलिपल्ट बिहानै काठमाडौं गएर एनआइडिसीमा पैसा बुझाएर होटल फुकुवा गराएँ,' माधवले भने।
यो २०४७ सालको अन्तिमतिरको कुरा थियो। सन्दीप होटल बुटवलमा चलेकामध्ये सबभन्दा ठूलो थियो। नेपाल दम्पतीले राम्रै चलाए। २०४९ सालको अन्तिमतिर भने एनआइडिसीले होटल बन्द गराउने भयो।
दुई वर्षमा माधवहरूलाई एक लाख रूपैयाँ नाफा भएको थियो। उनीहरूले अस्पताल लाइनमा होटल चलाउने भए। २०५० सालमा मासिक १५ हजार रूपैयाँ भाडाको एउटा घर लिए र सुरू गरे 'होटल न्यू एरा'।
बहुदलीय व्यवस्था पुनर्स्थापनपछिको खुकुलो राजनीतिक परिवेशमा होटल न्यू एरा राजनीतिक दल र संगठन तथा गैरसरकारी संस्थाहरूको बैठक र भेटघाटको थलो बन्यो। होटलको प्रचार फैलियो।
नेपाल दम्पती भान्सामा र पाहुनाको सत्कारमा आफै खट्थे। होटल न्यू एरासँगै उनीहरूको प्रगतिमा पनि नयाँ युग सुरू भयो। ईश्वर गौतमको साथ र हौसलाले चिया पसलबाट फड्को मार्न सकेको उनी बताउँछन्।
'होटल दिनहुँ पाहुनाले खचाखच हुन्थ्यो। त्यसकै कमाइबाट बुटवलमा एक कट्ठा र पत्थरडाँडामा दुई कट्ठा जमिन किन्यौं। सुख्खानगरमा घडेरी किनेर घर बनायौं,' माधवले भने।
उनीहरूले पाहुनाको सुविधाका लागि दुइटा जिप पनि किनेका थिए। २०५६ सालको प्रतिनिधि सभा निर्वाचनको दिन, एउटा समूहले होटलमा राखेका दुइटा गाडीमा आगो लगाइदियो। आगो लागेको थाहा पाएपछि माधव र गमला छोराछोरी लिएर होटलको छतबाट अर्को घरको छतमा हाम फाले।
'राजनीतिक संरक्षणको पाएको समूहले त्यसरी आक्रमण गरेको थियो,' माधवले भने।
त्यो घटनाले माधव ठूलो चिन्तामा परे। गमलाले ज्यान रहे धन फेरि कमाइन्छ भनेर सम्झाइन्।
आँट गरेर अन्ततः उनीहरूले फेरि होटल न्यू एरा सुरू गरे, नयाँ बसपार्कमा सारेर। होटल राम्रो चल्यो। अनि श्रवणपथमा अर्को होटल खोले। माधव र गमला एक-एकवटा होटल हेर्न थाले। बाँडिएर होटल चलाउन अलिक कठिन भएपछि २०६० सालमा बसपार्कको होटल बेचे।
त्यसपछि आफ्नै जमिनमा होटल चलाउने सोचे र बनाउन थाले। २०६२ सालमा इँटाभट्टीमा बनेको आफ्नै भवनमा होटल न्यू एरा खुल्यो।
अर्को साल गमला छोराछोरी पढाउन काठमाडौं गइन्। कामको बानी परेकी उनलाई छोराछोरी पढ्न गएपछि दिनभरिको खाली समय बिताउन गाह्रो भयो। काठमाडौंको एउटा कलेजमा क्यान्टिन सुरू गरिन्। तर क्यान्टिनमा गमलाको मन अडिएन। छोराछोरीका लागि उचित प्रबन्ध मिलाएर उनी बुटवल फर्किन्।
यसपछि माधव र गमला निरन्तर होटल व्यवसायमा लागिरहे।
माधवको सक्रियतामा २०५६ सालमा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रूपन्देही गठन भएको थियो। सिन्दुर होटलका सञ्चालक ध्रुव तुलाचन संस्थापक अध्यक्ष र माधव सचिव थिए। अर्कोपटक माधव अध्यक्ष भए। अघि बढ्दै जाँदा उनी होटल एसोसिएसन अफ नेपालका पनि अध्यक्ष भए।
नेपाल दम्पती अहिले पाल्पा र बुटवलको सीमाना नुवाकोटमा सवा एक अर्ब रुपैयाँभन्दा बढी लागतको केबलकार परियोजनका साझेदार हुन्। उनीहरूले परिवारका सदस्यहरूको नामबाट लगानी गरेका छन्। नौजना सञ्चालकसँगै माधवले व्यक्तिगत धनजमानीमा बैंकबाट ४८ करोड रूपैयाँ ऋण पनि लिएका छन्।
माधव सिद्धार्थ केबलकार प्रालिका बोर्ड सदस्य छन्। नुवाकोट विकास समितिमा तेस्रोपटक अध्यक्ष पदको जिम्मेवारीमा छन्। बुटवलको पर्यटकीय स्थलका रूपमा विकास हुँदै गरेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिमा उनै अध्यक्ष छन्।
नुवाकोटमै ५० करोड रुपैयाँ लागतमा माधव एउटा रिसोर्ट बनाउँदै छन्। एकल लगानीमा बुटवलको बेलबासमा पनि रिसोर्ट सञ्चालनको तयारी हुँदैछ।
'हामी आज जे छौं, रातारात भएका होइनौं। निरन्तरको मेहनत, धैर्य र इमानदारीले यहाँसम्म आइपुगेका हौं,' माधवले भने, 'यिनी (श्रीमती गमला) मेरो हरेक अप्ठ्यारोमा सहारा बनिन्। उनी नभइदिएको भए मेरो हिम्मत बढ्ने थिएन। उनी श्रीमती मात्र होइन, रक्षक बनेर आइन्।'