रूपन्देहीको देवदहस्थित आवास इन्डस्ट्रिज प्रालि बुधबार सरकारबाट पुरस्कृत भएको छ।
बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवीन सोच र प्रविधि प्रयोग गर्दै नवप्रवर्तनका माध्यमबाट नेपालको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्याएका तीन स्टार्ट-अप कम्पनीलाई पुरस्कृत गरेको थियो।
नवप्रवर्तनकारी उद्यमी पुरस्कार पाउने तीन कम्पनीमध्ये एक हो आवास।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगका सञ्चालक यज्ञश्वर थैवलाई दुई लाख नगद सहित उक्त पुरस्कार प्रदान गरेका हुन्।
पछिल्लो समय मुलुकमा देखा परेको आर्थिक संकटका कारण उद्योग व्यवसाय प्रभावित बनिरहेका बेला सरकारले दिएको पुरस्कारले उद्योग व्यवसायलाई थप विस्तार गर्न हौसला मिलेको यज्ञश्वरले बताए।
'यस्तो समयमा सरकारले पुरस्कार दिएर हौसल प्रदान गरेको छ,' उनले भने।
आवास ग्रुपका रूपन्देहीमा मात्रै डेढ दर्जन बढी उद्योग र व्यापारिक प्रतिष्ठान छन्। सबै उद्योग तथा व्यापारिक प्रतिष्ठानहरू पहिलो पुस्तासँगै दोस्रो पुस्ताका छोराछोरी समेतले सम्हालिरहेका छन्। तीन हजार बढी मजदुरले रोजगारी पाएका छन्।
विश्वभर कोरोना महामारी फैलिरहेका बेला आवास ग्रुपले २०७६ सालमा कुर्सी उद्योग स्थापना गरेको थियो।
हरेक वर्ष चीनबाट अर्बौंका कुर्सी-टेबल लगायत फर्निचर नेपाल भित्रिइरहेका बेला आवास कम्पनीका दोस्रो पुस्ता निर्माण थैवले चिनियाँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न आवास इन्डस्ट्रिज स्थापना गरेका थिए।
उद्योग स्थापनाको पाँच वर्षमै नेपालभर ब्रान्ड स्थापित भयो। थैवले पछिल्लो चार महिनादेखि काठमाडौंको नैकापमा पनि शाखा खोलेका छन्। देवदहको उद्योग भने अहिले यज्ञश्वरकी छोरी याचना थैवले सम्हाल्दै आएकी छन्।
स्कुल, क्याम्पस, होटल, पार्टी प्यालेस लगायत क्षेत्रबाट ठूलो परिमाणमा कुर्सी, टेबल, झुला लगायत सामग्रीको माग आएपछि काठमाडौंबाटै उत्पादन सुरू गरेको निर्माणले बताए।
'रूपन्देहीमा मात्रै उत्पादन गरेर माग पूरा गर्न सक्ने अवस्था रहेन। काठमाडौंको बजार समेत ठूलो छ,' उनले भने।
व्यवस्थापनमा स्नातक तहसम्म अध्ययन गरेका निर्माणले प्लस टु पढ्दैदेखि परिवारको व्यापार हेर्न थालेका थिए।
उनले सुरूमा आवास ग्रुप अन्तर्गतको ज्याकुर इन्डस्ट्रिज सम्हाले। आवास ग्रुपले उद्योग तथा व्यापारमा एकदर्जन बढी फर्म सञ्चालन गरेको छ। त्यसमध्ये एक थियो ज्याकुर। बाथरूम तथा किचनमा प्रयोग हुने पाइप र धाराहरूको बजारमा ज्याकुरले ग्राहकको मन जितिसकेको थियो।
उनले त्यही सम्हाले। तर उनको मन अन्तै थियो जो आवास ग्रुपले उत्पादन गर्दैन थियो। उनको ध्यान फर्निचरका सामग्रीतिर बढी जान्थ्यो।
'फर्निचरमा धेरै सम्भावना देखेको थिएँ, नेपालको सबै बजार चिनियाँ उत्पादनले लिएको थियो, तर गुणस्तर थिएन,' निर्माणले भने।
कुर्सी, टेबल, सोफा किनेको दुई चार महिनामै भाँच्चिने च्यातिने समस्या हुन्थ्यो र ग्यारेन्टी वारेन्टी नभएकाले ग्राहकले चिनियाँ उत्पादन प्रयोग गर्दा धेरै झन्झट ब्यहोरेको उनले पत्ता लगाए।
फर्निचरमा बढेको चासोले यी कुरा खोज्न बुझ्न उनलाई सघाएको थियो।
'फर्निचर गुणस्तरीय उत्पादन गर्नुपर्छ भन्ने सोच मलाई पहिल्यैदेखि आएको थियो। तर मलाई काम सिक्नु थियो,' उनले भने।
दिमागमा उद्योग कसरी चलाउने भन्ने खेल्दै गयो। गर्दै आएको कामलाई निरन्तरता नै दिए। २०७६ सालको अन्त्यतिर कोरोना फैलिरहेको थियो। निर्माण भने आफ्नो किशोर उमेरदेखिकै रूचीको फर्निचर उद्योग सुरू गर्नमा व्यस्त थिए।
नभन्दै उनले वर्षौंदेखि उद्योग खोलेरै छाडे। देवदह नगरपालिका गैह्रीगाउँमा आवास ग्रुपले केही समय अगाडि नै तीन बिघा जग्गा किनेको थियो। त्यसको मूल्य सात करोड रूपैयाँभन्दा बढी हुन्थ्यो।
त्यसबाहेक संरचना निर्माण, मेसिन, काठ, फोम, कपडा लगायत सामग्रीमा लगानी गरे। प्लास्टिकको दानाबाट डोरी उत्पादन गर्ने मेसिन पनि किने। यो सबैमा २५ करोड रूपैयाँभन्दा बढी लगानी भयो। महामारीमा पनि उत्पादनलाई निरन्तरता दिए।
'हाम्रो उद्योग कोभिडकै दाजुभाइ भने पनि हुन्छ। सँगै सुरू भयौं,' उनले हाँस्दै भने, 'लकडाउनमा पनि उत्पादन गरिरह्यौं।'
लकडाउनभर कामदारलाई उद्योगभित्रै राखेर फर्निचर उत्पादन गरेको उनले बताए। लकडाउन खुकुलो हुनेबित्तिकै आफ्ना उत्पादन उनले बजारमा पठाए। त्यतिञ्जेल सीमानाका बन्द भएको प्रत्यक्ष फाइदा उनलाई भयो।
'चाइनिज फर्निचरको आयात रोकिएको बेला आफ्नो उत्पादन बजार पठाएँ। ग्राहकलाई नेपाली उत्पादन प्रयोग गर्नुपर्छ भन्ने बानी बसाल्न सिकाएँ,' उनले भने, 'अहिले पनि त्यो जारी छ। सही समयमा उत्पादन सुरू गरेछौं भन्ने लाग्छ। कोभिड छ भनेर चुप लागेर बसेको भए चाइनिज उत्पादन नै बजारमा हुन्थ्यो।'
सुरूमा पार्टी प्यालेसमा प्रयोग हुने टेबल र कुर्सी मात्र उत्पादन गरेका थिए। अहिले सबै किसिमका फर्निचर बनाउँछन्। उद्योगको उत्पादनमध्ये ग्राहकले सबभन्दा बढी मनपराएको झुला हो।
उत्पादन बढ्दै गएकाले लगानी पनि बढिरहेको छ। दुई सय जनभन्दा बढीलाई रोजगारी दिएका निर्माणले आफ्नो उद्योगमा विशेषगरी महिला र स्थानीयलाई प्राथमिकता दिन्छन्।
'जहाँ उद्योग खोलिएको छ, त्यही क्षेत्रका कामदार राखियो भने स्थानीयले रोजगारी पाउनुका साथै काम छाडेर जाने समस्या पनि हराउँछ,' उनले भने, '६० प्रतिशतभन्दा बढी महिला कामदार छन्। महिलाहरूको हात अलि छिटो र सफा चल्छ। बढी लगनशील पनि हुन्छन्।'
छोटो अवधिमै उद्योग र व्यापारमा कमाएको आवास ग्रुपको छवि खस्किन नदिन उत्पादनलाई अझै गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्नेमा आफ्नो ध्यान रहेको उनी बताउँछन्।
'गुणस्तरमा तलमाथि हुँदाको दिन फर्निचर मात्र खस्किँदैन, आवास ग्रुपका सबै उद्योग र प्रतिष्ठानमा त्यसको नकारात्मक प्रभाव पर्छ। त्यसैले पनि गुणस्तरतर्फ सचेत छु,' उनले भने।
आधुनिक प्रविधिलाई अपनाउँदा छोटो समयमै फर्निचर उद्योगमा सफलता मिलेको उनको अनुभव छ।
'बजारमा पठाएका हाम्रै उत्पादन पनि कतिपय ग्राहकले नेपालकै उत्पादन भएका हुन् भनेर पत्याउनुहुन्न। नेपालमा पनि यस्ता फर्निचर उत्पादन हुन्छन् भन्ने उहाँहरूलाई थाहा नै छैन,' उनले भने।