पहिले पहिले परिवार पाल्न घरेलु मदिरा उत्पादन गर्थिन् विनाकुमारी पुन।
रुपन्देहीको तिलोत्तमा–११, भूपूसैनिक टोलकी विनाकुमारीलाई आफूले पेटपाल्नका लागि गर्ने उत्पादनमा कहिल्यै गर्व भएन। बरू उनलाई हिनताबोध हुन्थ्यो। कसैले के काम गर्नुहुन्छ भनेर सोधिहाले भन्न पनि लाज हुन्थ्यो।
अहिले भने उनलाई आफ्नो व्यवसायबारे सुनाउन पाउँदा गौरवबोध हुन्छ। किनभने उनले आफ्नो व्यवसाय नै फेरिन्, जसले राम्रो आम्दानी त दिएकै छ, तिलोत्तमा नगरपालिकाको सर्वोत्कृष्ट उद्यमीको उपाधि समेत दिलाएको छ।
मदिरा उत्पादनको व्यवसायले त उनलाई बरू गाली दिलाउँथ्यो।
विनाकुमारीको बिहे २०५६ सालमा वीरबहादुर रानासँग भयो। बिहेअघि वीरबहादुर भारतमा काम गर्थे। यता आफ्नै केही उद्यम गर्नुपर्छ भन्ने विचारकी विनाले बिहेपछि श्रीमानलाई स्वदेश फर्किन मनाइन्।
उनीहरूसँग सम्पत्तिका नाममा भूपूसैनिक टोलमा दुई कठ्ठा जग्गा थियो। त्यही जग्गामा २०५७ सालमा बंगुर पाल्न र घरेलु मदिरा बनाउन सुरु गरे।
विनाकुमारी मदिरा बनाउँथिन्, वीरबहादुर बंगुरको रेखदेख गर्थे।
दुई–चारवटा बंगुर र घरेलु मदिराका भरमा परिवार चलाउन नसक्ने देखेर फेरि २०५८ सालमा वीरहादुर रोजगारीका लागि मलेसिया गए। यता विनाकुमारी मदिरा र बंगुरको काम चालु राखिन्। दिनभरि मदिरा बनाएर दुईचार सय रुपैयाँ कमाउँथिन्। यतिले उनलाई चित्त बुझेको थिएन।
मदिरा बेचेर घरझगडा पारेको भन्ने आक्षेप र गाली पनि सुन्नु पर्थ्यो। आम्दानीको अर्को विकल्प थिएन। मदिरा बनाएर बेच्नु बाध्यता थियो।
‘मैले बनाएको मदिराले अरू कसैको घर बिग्रिएको छ कि भन्ने लाग्थ्यो। कतिपय पुरुषले घरमा श्रीमतीसँग झगडा गरेको भन्ने सुन्दा यो काम छोडूँ जस्ता लाग्थ्यो,’ उनले भनिन्, ‘अर्को मनले भन्थ्यो– मैले नबनाए पनि अर्को कसैले त बनाइहाल्छ। खाने मान्छेले जहाँबाट पनि खाइहाल्छ।’
तैपनि अर्को कुनै काम गर्न सके मदिराको काम छोड्छु भन्ने उनको सोच थियो।
मलेसिया गएका वीरबहादुरको कमाइ राम्रो भएन। उनी आफूलाई मात्र पुग्ने भयो। कमाइ नभएपछि २०६३ सालमा घर फर्के। यता आएर घर बनाउने मिस्त्रीको काम गर्न थाले। दिनमा तीनचार सय रुपैयाँ कमाइ हुन्थ्यो।
मदिरा बनाउने काम छँदै थियो। बंगुरपालन चल्दै थियो। विनाले डेढ सय जति कुखुरा पनि पाल्न थालिन्।
२०६६ सालमा गाउँमा ‘आइपिएम’ नामको एउटा गैरसरकारी संस्थाले च्याउ खेतीसम्बन्धी तालिम दिने भयो। मदिरा बनाउने काम छोड्न चाहेकी विनाका लागि राम्रो अवसर थियो। तालिममा सहभागी भइन्।
अठार हप्ताको तालिमले च्याउ खेती गर्ने तरिका, च्याउका प्रकार, च्याउ खानुको फाइदा र बजारीकरणबारे राम्रो ज्ञान दियो।
उनी च्याउ खेती गर्ने टुंगोमा पुगिन्।
उनले भनिन्, ‘च्याउ खानुको फाइदा, त्यसबाट पाइने पौष्टिकता, औषधिका रूपमा पनि काम लाग्ने, सानो ठाउँमा सजिलै उत्पादन गर्न सकिने, बिक्री गर्न बजारको समस्या नहुने देखेपछि च्याउ खेती गर्नुपर्छ भन्ने लाग्यो।’
घर सल्लाह भयो। विनाले मदिरा बनाउन छाड्ने भइन्। वीरबहादुले मिस्त्री काम छाड्ने भए। दुवै जना मिलेर एकसाथ बंगुरपालन, कुखुरापालन र च्याउखेती गर्ने भए।
२०६७ सालमा परीक्षणको लागि थोरै बल (च्याउ उमार्ने परालको पोका) मा च्याउ लगाए। उत्पादन राम्रो भयो। उत्साह बढ्यो।
खेती अघि बढाए।
‘पहिलो वर्ष डेढ सय जति बलमा च्याउ लगाएका थियौँ। पाँच सय किलो उत्पादन भयो। विक्री पनि राम्रो भयो,’ विनाले भनिन्, ‘श्रीमानले डोकामा राखेर डुलाउँदा तुरुन्तै बिक्री भइहाल्थ्यो।’
उनीहरू च्याउखेती बढाउने निष्कर्षमा पुगे।
‘दोस्रो वर्ष पाँच सय बलमा च्याउ रोप्यौँ। हरेक वर्ष खेती बढाउँदै गयौँ। एकै दिनमा ५०–६० किलो च्याउ सजिलै बिक्री हुन्थ्यो,’ विनाले भनिन्, ‘उत्पादन जति बढाए पनि माग पूरा गर्न नसक्ने भएपछि फर्म नै चलाउने विचार आयो।’
उनीहरूले च्याउसँगै बंगुर र कुखुरा पनि बढाउँदै लगे।
‘पहिला सानो खोर बनाएर १५० वटा कुखुरा पालेका थियौँ। किन्न आउने व्यापारीहरू थोरै कुखुरा लिन नआउने भन्न थाले,’ विनाले भनिन्, ‘खोर बढाएर पाँच सय कुखुरा पाल्न थाल्यौं। यतिले पनि चित्त नबुझेपछि २०७३ सालमा २२ लाख रुपैयाँ खर्च गरेर एक हजार कुखुरा पाल्न मिल्ने ठूलो खोर बनायौँ।’
उनीहरू आठ महिना कुखुरा पाल्छन्। तीन महिना च्याउ खेती गर्छन्। गत माघमा २५ सय बलमा च्याउ उमारेका थिए। त्यसयता एक लटको ब्रोईलर कुखुरा बेचेर अर्को लटको एक हजार चल्ला हुर्काउँदै छिन्।
एक लट कुखुरा निकालेपछि खोर निर्मलीकरण गरेर अर्को लटको कुखुरा राख्नुपर्छ। सामान्यतया कुखुरा ४० देखि ४५ दिनमा मासुका लागि तयार हुन्छ।
कुखुरा बेचेपछि जाडोका तीन महिना च्याउ खेती गर्छन्। कात्तिक १५ देखि माघ १५ सम्म च्याउ उत्पादन हुन्छ। च्याउ निकालेपछि १०–१५ दिन निर्मलीकरण गरेर कुखराका लागि खोर तयार गर्छन्।
विनाले सुरुमा कुखुरापाल, बंगुरपालन र च्याउखेतीका लागि अलगअलग फर्म दर्ता गराएकी थिइन्। अलिकपछि ‘विशाल पशुपन्छी तथा कृषि फर्म’ एउटैबाट कारोबार गर्दै आएकी छन्।
गत हिउँदमा पक्की खोरका अतिरिक्त दुईवटा टनेल थपेर चार हजार बलमा च्याउ खेती गरे। आउने हिउँदमा ६ हजार बल राख्ने विनाको तयारी छ।
यसका लागि एक कट्ठा जमिन भाडामा लिएर टनेल बनाएकी छन्। कुखुराको खोर र दुई वटा टनेल आफ्नै जमिनमा छन्।
विनाले च्याउका लागि पराल काट्न, पकाउन र बिउ रोप्न गाउँघरकै कामदार लगाउने गरेकी थिइन्। तीन वर्षयता भने इलाम र झापाबाट कामदार मगाउने गरेकी छन्।
भन्छिन्, ‘चाहिने सामान सबै हामी दिन्छौं। मेसिनले काटेको पराल पकाउने, पराल प्लास्टिकमा भर्ने र च्याउको बिउ रोप्ने काम कामदारहरूले गर्छन्।’
उनले पराल पकाउने मेसिन २०७७ सालमा राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) मार्फत अनुदानमा पाइन्।
पाँचजना कामदारले २१ दिनमा चार हजार बल च्याउ रोपे। प्रतिबल ३५ रुपैयाँको दरले एक लाख ४० हजार ज्याला पाए।
उनले भनिन्, ‘चार हजार बलमा बिउमात्रै आठ क्विन्टल लाग्यो। जम्मा खर्च चार लाख जति भयो। खर्च कटाएर आम्दानी पनि राम्रै भयो।’
बाँसका घारामा बल झुन्ड्याउँदा घरा भाँचिने र कीरा लाग्ने भएपछि यसपटक उनले फलामका पाइप जडान गरिन्। पाइपका कारण करिब चार लाख रुपैयाँ लागत बढ्यो।
आम्दानी भने राम्रै भयो।
उनले भनिन्, ‘गत वर्ष १५ लाखमा एक सय क्विन्टलभन्दा बढी च्याउ बिक्री भएको थियो। मिहिनेत गर्न सक्यो भने राम्रै आम्दानी गर्न सकिन्छ।’
एउटा बलबाट एक सिजनमा तीन किलोसम्म च्याउ उत्पादन हुन्छ।
च्याउ खेतीमा कुखुरापालनमा भन्दा कम मिहिनेत छ। थोरै समयमा आम्दानी पनि निकै हुन्छ।
‘कुखुरामा अलि धेरै मिहिनेत गर्नुपर्छ। दिनदिनै दाना खुवाउनु पर्छ। लगानी धेरै हुन्छ, जोखिम पनि उत्तिकै हुन्छ,’ विना भन्छिन्, ‘भारतबाट सस्तोमा चोरीको बाटो भएर ब्रोइलर कुखुरा आउँछ। हामीजस्ता किसान मारमा परेका छौँ।’
कुखुराबाट राम्रो नाफा कमाउन नसकेको उनले बताइन्।
कुखुराको मूल्य पनि छिटोछिटो घटबढ भइरहने हुँदा कहिलेकाहीँ घाटा बेहोर्नुपरेको उनको अनुभव छ।
‘कहिले कुखुरा मर्ने, कहिले भाउ नपाउने हुन्छ। यस्तो हुँदा घाटा बेहोर्नुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ एकै लटमा राम्रो नाफा पनि हुन्छ।
वर्षमा चार लट कुखुराको आम्दानी र एकलट च्याउको आम्दानी बराबर जस्तो हुने गरेको उनले बताइन्।
कुखुरा र च्याउखेती विनाको जिम्मामा छ। बंगुर वीरबहादुर हेर्छन्। हाल माउ र बच्चा गरी २१ वटा बंगुर छन्। उनीहरूले बंगुर पालनमा मासुभन्दा बिउ बंगुरमा प्राथमिकता दिएका छन्। पाठा उत्पादन गरेर बेच्छन्।
उनीहरू वर्षमा ६० देखि ८० वटासम्म पाठा बिक्री गर्छन्।
कोभिड–१९ अघि एक महिना उमेरको एउटा पाठो छ हजार रुपैयाँसम्ममा बिक्री हुन्थ्यो। त्यसपछि मूल्य घटेर पाँच हजार रुपैयाँमा झरेको छ।
बंगुरपालनबाट पनि खर्च कटाएर वार्षिक दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको वीरबहादुरले बताए। उनी साँझबिहान बंगुरको खोर सफा गर्ने, दानापानी दिने इत्यादि काममा व्यस्त हुन्छन्। दिउँसोका लागि घरनजिकै ‘फ्रेस हाउस’ चलाएका छन्।
व्यापारीले नगलेर बचेका कुखुरा आफ्नै फ्रेस हाउसबाट बेच्छन्।
दम्पतीको मिहनेतले हाल मासिक सरदर ९० हजार रुपैयाँसम्म बचत हुने गरेको छ। उनीहरू व्यवसायबाट सन्तुष्ट छन्।विना भन्छिन्, ‘हामी सन्तुष्ट छौँ। परिवार सँगै बसेर महिनामा ८०–९० हजार बचत गर्न सकेका छौँ। छोराछोरी पढाउन सकेका छौँ। उद्यमी भनेर गाउँसमाजमा चिनिन पाएका छौँ।’
व्यवसाय सञ्चालन र व्यवस्थापनको मुख्य जिम्मेवारी विनाले नै सम्हालेकी छन्।
हालै तिलोत्तमा नगरपालिकाको सहयोगमा ‘दायित्व’ नामक संस्थाले ‘नगरप्रमुख ग्रामीण उद्यम द्रूतीकरण’ कार्यक्रम सञ्चालन गरेको थियो।
उद्यम योजना तथा लगानी प्रस्तुति कार्यक्रममा नगरपालिकाका ८५ जना उद्यमी सहभागी थिए।
नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यको नौ महिनासम्म विभिन्न चरणमा तालिम र गोष्ठीहरू भए। सहभागीहरूका व्यवसायको अनुगमन र निरीक्षण भयो।
यसैबाट पहिलो चरणमा ४० जना, दोस्रो चरणमा २० जना गर्दै अन्तिममा उत्कृष्ट १० जना उद्यमी छनोट गरिए।
तीमध्ये विना सर्वोत्कृष्ट ठहर भइन्।
‘प्रतिस्पर्धीहरूले सञ्चालन गरेका व्यवसाय, उनीहरूले दिएको रोजगारी, त्यसबाट राज्यलाई हुने आर्थिक योगदान र व्यवसायप्रति प्रतिबद्धताका आधारमा सर्वोत्कृष्ट उद्यमी घोषणा गरिएको हो,’ आचार्यले भने, यसमा विनाकुमारी छनोट हुनुभयो।’
आचार्य निर्णायक समितिमा थिए।
अर्का निर्णायक कृषि विकास बैंक भैरहवाका अधिकृत सीमा वनले विनामा आफ्नो व्यवसायप्रति लगाव र विश्वास देखिएको बताइन्।
‘कतिपय व्यवसायीहरू व्यवसाय राम्रै चले पनि सन्तुष्ट देखिनुहुन्न। उहाँ (विना) मा सन्तुष्टि र पूर्ण प्रतिबद्धता पायौँ। उहाँसँग लक्ष्य पनि छ,’ उनले भनिन्, ‘उहाँले हिसाबकिताब पनि चुस्तदुरुस्त राख्नुभएको छ। यो निकै राम्रो पक्ष हो।’
घरेलु मदिरा बनाएर बेच्दा व्यवसायबारे भन्न हिच्किचाउने विना यसरी तिलोत्तमा नगरपालिकामा सर्वोत्कृष्ट उद्यमी ठहरिइन्। यसबाट दम्पतीको उत्साह बढेको छ।
कुखुरापालन र च्याउखेती बढाउँदै लैजाने योजना छ। विना आफ्नो स्वरोजगारीसँगै अरूका लागि रोजगारी पनि सिर्जना गर्ने दिशामा अघि बढेकी छन्।